प्रधानमन्त्री दाहाल र संयुक्त अरब इमिरेट्सका राजदूत नक्वी भेटवार्ता


 ३१ साउन । प्रधानमन्त्री पुष्पकमल दाहालसँग नेपालका लागि संयुक्त अरब इमिरेट्सका राजदूत सइद हमदान अल नक्वीले भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आज भएको सो भेटघाटमा उहाँहरुबीच द्विपक्षीय हित र आपसी चासोका विषयमा कुराकानी भएको प्रम दाहालको सचिवालयले जनाएको छ ।

सो अवसरमा प्रधानमन्त्री दाहालले नेपालको आर्थिक विकास र समृद्धिमा संयुक्त अरब इमिरेट्सले गरेको सहयोगको सराहना गर्दै दुई देशबीचको सम्बन्ध आगामी दिनमा थप बलियो हुने बताए ।

उनले संविधानको कार्यान्वयन, शान्ति प्रक्रियाको पूर्णता, भूकम्पको पुनःनिर्माण, सुशासन र आर्थिक समृद्धि वर्तमान सरकारको प्राथमिकता भएको जानकारी दिँदै दुई देशबीच उच्चस्तरीय भेटवार्ता गरी आर्थिक समृद्धि र विकासका मुद्दा साझेदारी हुने विश्वास व्यक्त गर्नुभएको प्रमको सचिवालयले जनाएको छ ।

राजदूत नक्वीले नेपाल र संयुक्त अरब इमिरेट्सबीच मैत्रीपूर्ण सम्बन्ध रहेको चर्चा गर्दै प्रधानमन्त्री दाहालको कार्यकालमा द्विपक्षीय सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्