प्रधानमन्त्री निवासको निषेधित क्षेत्र तोडेर युवा–विद्यार्थीले गरे प्रदर्शन


२२ मंसिर । संविधान संशोधन विरुद्ध आन्दोलनमा उत्रिएका युवा–विद्यार्थीहरुले बुधबार बिहान प्रधानमन्त्री निवास, बालुवाटारको निषेधित क्षेत्र तोडेर प्रदर्शन गरेका छन् । करिब चार सयको संख्यामा गएका युवा–विद्यार्थीले नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालयभन्दा अगाडिको भागको निषेधित क्षेत्र तोडर विरोध प्रदर्शन गरेका हुन् ।

आजको विरोध प्रदर्शनमा निषेधित क्षेत्र तोडे पनि प्रहरीले संयमता अपनाएको हुँदा आन्दोलनकारी र प्रहरीबीच कुनै झडप नभएको युवा संघका प्रवक्ता प्रभातविक्रम कटवालले बताए । आन्दोलनकारीहरुले ‘निषेधित क्षेत्र’ लेखिएको बार हटाएर सो क्षेत्र तोडी प्रदर्शन गरेका थिए ।

विरोध प्रदर्शनपछिको सभालाई सम्बोधन गर्दै युवा संघका अध्यक्ष राजीव पहारीले प्रचण्ड सरकारले जनघाति र राष्ट्रघाति कार्यका कीर्तिमान कायम गरेको बताए । उनले प्रचण्ड सरकार गठन भएको चार महिनाको अवधिमा राष्ट्रघाति काम मात्रै भएको बताए । उनले भने, ‘माओवादीको जन्म र विकास भारतमा नै भएको हो । अहिले संविधान संशोधनको प्रस्ताव पनि माओवादी नेतृत्वको सरकारले भारतकै निर्देशन र पहलमा ल्याएको हो । तर, सरकारले यो संशोधन प्रस्ताव फिर्ता नलिने हो भने हामी अझ ठूलो र सशक्त आन्दोलन गर्नेछौं ।’

सोही कार्यक्रममा अखिलका उपाध्यक्ष महेश बर्तौला र युवा नेता लोकेन्द्र शाहीले पनि सम्बोधन गरेका थिए । यसअघि, गत सोमबार युवा–विद्यार्थीहरुले भारतीय दूतावास घेराउ गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्