प्रधानमन्त्री निवास छाडेर इमरान खान सामान्य घरमा बस्न थाले


काठमाडौं, ५ भदौ । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले प्रधानमन्त्री निवास छाडेका छन् । खान सोमबारबाट तीन वटा बेडरुम भएको सामान्य घरमा बस्न थालेका हुन् ।

उनले आफूसँग सैन्य सुरक्षाका साथै दुई कामदार लगेका छन् । जबकी प्रधानमन्त्री निवासमा कर्मचारी मात्र ५२४ जना थिए । सरकारी खर्च कम गर्ने आफ्नो पूर्व योजना अनुसार नै खानले प्रधानमन्त्री निवासमा नबस्ने निर्णय लिएका हुन् ।
खानले बानागालास्थित आफ्नै घरमा बस्न चाहेका थिए । तर, सुरक्षा एजेन्सीहरुले त्यहाँ सुरक्षा खतरा रहेको बताएपछि सैन्य सुरक्षा भएको घरमा बस्न थालेका हुन् । ‘म त बानागाला छाड्न चाहन्नथेँ’ खानले भनेका छन्, ‘तर, यसका लागि बाध्य भएँ ।’
प्रधानमन्त्रीका लागि ३३ वटा वुलेटप्रफ कार थियो । खानले भने २ वटा मात्र प्रयोग गर्ने भएका छन् ।
बाँकी कार छिट्टै लिलामी गर्ने योजना अघि सारेका छन् । यसबाट आएको रकम राज्यकोषमा जम्मा हुनेछ । साथै सरकारी खर्च कटौतीका लागि डा. इस्रत हसनीको नेतृत्वमा समिति नै बनाउने प्रधानमन्त्री खानले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्