प्रधानमन्त्री प्रचण्डका सय दिन, कसले के–भने ?


२६ कात्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्री निर्वाचित भएको सय दिनमा संविधान कार्यान्वयन, भूकम्पपछिको पुनःनिर्माण, संक्रमणकाल व्यवस्थापनका बारेमा सकारात्मक काम गरेको दाबी गरेका छन् । उनले  सेवा प्रवाहलाई प्रभावकारी बनाउने सन्दर्भमा पनि महत्वपूर्ण भूमिका खेलेको दाबी गरेका छन् । उनले सय दिनमा आफूले गरेका कामको विवरण सार्वजनिक गर्दै पूजीगत खर्च बृद्धि गरी आर्थिक सम्वृद्धि हासिल गर्ने, जनजीविकाका सवाल सम्बोधन गर्ने र  शासन व्यवस्था प्रभावकारी बनाउने सन्दर्भमा पनि महत्वपूर्ण भूमिका खेलेको दाबी गरेका छन् । प्रचण्ड स्वयंले आफ्नो सय दिनको कार्यकाल सफल भएको भने पनि उनको कार्यकालबारे धरैले मिश्रित प्रतिक्रिया दिएका छन् । प्रचण्डको सय दिनबारे कसले के–भने ?

प्रचण्ड गन्तव्यहीन र दिशा हराएको जहाजको क्याप्टेन
योगेश भट्टराई yogesh_bhattrai
सचिव, नेकपा (एमाले)
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री निर्वाचित भएको आज सय दिन पूरा भएको छ । तर, प्रचण्ड नेतृत्वको सय दिनको मूल्याङकन गर्ने हो भने नेपाली उखान ‘कुरा ग¥र्यो कुरैको दुःख’ भने जस्तो मात्र भएको छ । प्रचण्ड नेतृत्वको सरकारले सय दिनमा मधेसवादी दललाई अलमल्याउने काम गरेको छ ।
विभिन्न माग राखेर आन्दोलन गरिरहेका ती दललाई प्रचण्ड नेतृत्वको सरकार अलमल्याउन सफल भएको छ । नेकपा (एमाले) नेतृत्वको सरकारका पालामा सन्तुलित बनेको विदेश नीतिलाई यो सरकारले दक्षिणतिर ढल्काएको छ । चीनसँग ऐतिहासिक सम्बन्ध रहँदै आएको र एक चीन नीतिको पक्षमा रहेको नेपाललाई चीनले शंका गर्ने ठाउँ सरकारले उत्पन्न गराएको छ ।  यसरी हेर्दा परराष्ट्र नीति असन्तुलित र कमजोर भएको छ ।
शासन–प्रशासनलाई पनि सरकारले राम्ररी सञ्चालन गर्न सकेको छैन । निकै कमजोर बनेको छ ।  भूकम्प पीडितलाई राहत दिने कुरामा पनि यो सरकार निकै कमजोर देखियो । भूकम्प पीडितलाई सरकारले पहिलो किस्ता पनि दिन सकेको छैन । यो सन्दर्भमा पनि सरकार निकै कमजोर देखियो । समग्रमा यो सरकारको मूल्याङ्कन गर्ने हो भने प्रधानमन्त्री प्रचण्ड गन्तव्यहीन र दिशा हराएको जहाजको क्याप्टेन जस्तो बन्नुभएको छ ।
सरकाले उत्साजनक काम गर्न सकेन
गुरुराज घिमिरे
केन्द्रीय सदस्य,  नेपाली कांग्रेस
Guru_Ghimireनेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले उत्साहजनक ढंगले काम गरेको देखिएन । प्रचण्ड प्रधानमन्त्री निर्वाचित भएपछिको कामकारवाही हेर्ने हो भने त्यति उत्साहजनक छैन । संघीयता कार्यान्वयन गर्ने, तराई–मधेसका राजनीतिक दलसँग समन्वय गर्ने सन्दर्भमा पनि सरकारक कमजोर नै देखियो ।
अझ प्रचण्ड नेतृत्वको सरकारले मन्त्रालय आफ्नो ढंगले र नीजि तरिकाले चलाएको जस्तो देखियो । यो सकारात्मक कुरा होइन । महङ्गी नियन्त्रण जस्ता कुरामा पनि सरकार कमजोर नै देखियो । न्युनतम कार्यक्रमसिहत स्पष्ट ‘रोडम्याप’मा चल्ने कुरामा पनि सरकार कमजोर देखियो । समग्रमा यो सरकारले सय दिनमा उत्साहजनक काम गरेको देखिएन । नेकपा –एमाले) नेतृत्वको सरकारले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलगायतका दलसँग सहकार्य गर्न सकेन भनेर गुनासो आउने गरेको थियो । अहिले यो सरकार पनि त्यही पथमा देखियो । प्रमुख प्रतिपक्षी दललाई सहमतिमा ल्याउने, आन्दोलनकारी दललाई सहमतिमा ल्याउने कुरामा पनि कमजोरी देखियो । यद्यपि, यो गठबन्धनसँग निकै जिम्मेवारीहरु रहेकाले जिम्मेवारी पूरा गर्ने पर्ने दायित्व छ । यो गठबन्धनले पनि गर्न सकेन भने अरुले गर्न सक्दैनन् । यो कुरामा सरकारको ध्यान जान सकोस् र आगामी दिन सकारात्मक रुपले अघि बढ्न सकोस् भन्नु सिवाय अरु केही छैन ।

सचिवहरुको कान निमोठ्ने काम मात्र भयो
श्याम श्रेष्ठ,  वामविश्लेषक एवं सासंद्, माओवादी केन्द्र shyam-shrestha

प्रचण्ड नेतृत्वको सरकारले भूकम्प पीडितलाई राहत दिने कुरामा केही प्रगति गरेको छ । त्यो बाहेक प्रचण्ड नेतृत्वको सरकारले राम्रो गर्यो भन्ने खासै केही छैन । सर्वसाधारण अहिले पनि महङ्गीको मार खेप्न बाध्य छन् । क्रान्तिकारी सरकार आएपछि जनताले केही राहत महशुस गर्लान भन्ने आशा थियो तर त्यो पनि भएन ।
प्रचण्ड नेतृत्वको सरकारका पालामा विदेश नीतिमा केही सुधार आएको हो कि भने पनि त्यस्तो खासै प्रगति देखिएन । भारतीय राष्ट्रपति प्रणब मुखर्जी नेपाल भ्रमणमा आएका बेला जुन खालको भक्तिभाव देखियो त्यसले सरकारको आलोचना बढी भयो । प्रधानमन्त्रीले आफ्नो कार्यकालमा सचिवहरुको कान निमोठ्ने प्रयास त गरेको देखियो तर प्रशासनयन्त्रले सरकारलाई सहयोग गरेको देखिएन ।
मधेसी दलका नेताहरुसँग वार्तासम्म गर्ने उपलब्धी त भएको छ । तर, त्यसमा पनि धेरै सुधार भएको देखिएन । प्रचण्ड प्रधानमन्त्री निर्वाचित भएपछि देशलाई ‘सिष्टम’मा चलाउने, महङ्गी घटाउने, ट्राफिक जाम कम गर्ने, गाउँ–गाउँमा विकास पु¥याउने जस्ता काम गर्न सकेको भए उहाँको चर्चा हुने थियो । त्यो देखिएन । समग्रमा उहाँको सय दिनको कार्यकाल गर्नु पर्ने धेरै तर गरेको थोरैमा वितेको जस्तो देखिएको छ ।

गफ बढी काम कम
लक्ष्मणलाल कर्ण, नेता, सद्भावना पार्टी

हामीले प्रचण्डजीलाई तीन बुँदे सहमति गरेर प्रधानमन्त्रीको निर्वाचनमा समर्थन गरेको हो । तर, उहाँले तीन बुँदा मध्ये दोस्रो नम्बरको बुँदामा केही प्रगति गरेको जस्तो देखिएको छ । बाँकी केही छैन । उहाँले पहिलो नम्बरको बुँदामा उल्लेख भएको संविधान संशोधनलाई अघि बढाउन सक्नुभएको छैन । उहाँले महङ्गी नियन्त्रण गर्ने, जनतालाई राहत दिने जस्ता काममा पनि त्यति सक्रियता देखाएको जस्तो लागेको छैन । त्यति मात्र होइन, मधेसवादी दलसँग वार्ता र संम्बादको वातावरण पनि उहाँले बनाएको जस्तो देखिएको छैन । समग्रमा भन्दा उहाँको कार्यकाल गफ बढी काम कममा वितेको जस्तो देखिएको छ ।

kishorप्रचण्ड डोनाल्ड ट्रम्प बन्ने कि शून्य ?
किशोर श्रेष्ठ, पत्रकार
प्रचण्ड संविधान कार्यान्वय गर्ने, स्थानीय निकायको निर्वाचन गर्नेलगायतका जिम्मेवारीसहित प्रधानमन्त्री बन्नु भएको हो । तर, ती सबै काममा उहाँले कुनै पनि गतिशीलता देखाएको जस्तो देखिएको छैन । ६ महिना भित्रमा स्थानीय निकायको निर्वाचन गर्ने भनेको सुशील कोइरालाका पालादेखि हो । त्यो प्रचण्डका पालामा पनि पूरा हुने संकेत देखिएन ।  उहाँले मधेसी दलहरुको माग एक महिनाभित्रमा पूरा गर्छु भन्नु भएको हो । तर, आज एक सय दिन पूरा भयो । त्यसमा पनि कुनै गतिशीलता देखिएन ।

विदेश नीतिमा सन्तुलन ल्याएको भन्ने छ । तर, चीनियाँ राष्ट्रपतिको भ्रमण स्थगन हुनुले नै विदेश नीति उदाङ्गो भयो, अरु धेरै भन्नु नपर्ला । भूकम्प पीडितलाई राहत दिने ढोल पिटियो । तर, अहिले जाडो महिनाले छपक्क छोप्दा पनि त्यसमा कुनै गतिशीलता देखिएको छैन । पुनःनिर्माणका कुरा वसन्तपुरको दरवार हेरे पुग्छ, अन्त जानै पर्दैन ।

अरु त अरु भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिने भनेको रकमसमेत ल्याउन सकेको अवस्था छैन । अन्य देशले भूकम्प पीडितलाई दिने भनेको रकम पनि ल्याउन सकेको अवस्था छैन । चीनसँग जोडिएको केरुङ नाकासमेत राम्ररी सञ्चालनमा आउन सकेको छैन भनेपछि अरु कुरा नगरौँ । ऊर्जा क्षेत्रका बारेमा कुरा गर्ने हो भने गफ त धेरै भएका छन् तर काम भएको देखिएन । महङ्गी नियन्त्रणका सन्दर्भमा पनि सरकारको कदम टिठ लाग्दो छ ।

त्यति मात्र होइन अहिले प्रचण्ड चौतर्फी घेराबन्दीमा भएको महशुस भएको छ । आन्तरिक र बाह्य । आन्तरिक भनेको पार्टी भित्रकै समस्या । पार्टी भित्रकै समस्या मिलाउन नसक्ने प्रचण्डले अरु देश कसरी मिलाउने हुन ? त्यो पनि आशंका भित्रै छ । संविधान कार्यान्वयन गर्ने कुरा अहिले लोकमानसिंह कार्कीतिर गएर जोडिएको छ । त्यो पनि समस्या हो ।
२०७४ माघ भित्रमा संविधान कार्यान्वयन भएन भने नयाँ खिलाराज रेग्मीको जन्म हुनसक्छ ।  त्यो तिर सरकारको ध्यान गएको छैन ।

प्रचण्डका लागि यो अवसर हो ।  उनले राम्रो गर्न सके भने नेपालको राजनीतिमा डोनाल्ड ट्रम्प बन्छन् होइन भने शून्य भएर जाने खतरा छ । समग्रमा भन्दा प्रचण्डका सय दिन केही उत्साह र धेरै निसारा जस्तो देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्