प्रधानमन्त्री प्रचण्डलाई योगेश भट्टराईको प्रश्न– ‘देउवा रोज्ने कि एमाले ?’


५ मंसिर ।  नेकपा (एमाले)का सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संविधान संशोधनमा नाममा भैरहेको षडयन्त्रप्रति सचेत रहन आग्रह गरेका छन् । युवा संघ, नेपाल प्रचार विभागले आइतबार आयोजना गरेको अन्तरक्रियालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

‘प्रतिगामीहरुले संविधान असफल बनाउने षडयन्त्र गरिरहेका छन्,’ उनले भने, ‘प्रचण्डजी देउवा र मधेसी मोर्चाजस्ता पश्चगामीलाई रोज्नुहुन्छ कि एमालेजस्तो अग्रगामीलाई, निर्णय गर्ने बेला आएको छ ।’ माओवादीको काधमा बन्दुक राखेर प्राप्त उपलब्धि नष्ट पार्ने योजना विभिन्न शक्तिकेन्द्रहरुले गरिरहेको पनि भट्टराईले आरोप लगाए ।

संविधान संशोधनका नाममा मुलुकलाई दीर्घकालीन असर पार्ने विषयहरु समावेश गर्न खोजिएको भन्दै उनले त्यसको साक्षी एमाले नबन्ने पनि दाबी गरे ।  भट्टराईले संसदीय प्रणालीका नाममा नेपालमा विकृतिहरु भित्रिएको भन्दै  शासकीय र निर्वाचन प्रणालीका त्रुटि सच्याउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा पूर्वउद्योग मन्त्री महेश बस्नेतले अहिलेको सरकारले चीनविरोधी क्रियाकलाप खुलमखुला गरेको भन्दै आलोचना गरे । ‘शेरबहादुरजीले दलाई लामाका प्रतिनिधिलाई भेटेर छिमेकीलाई चिढ्याउने काम गरेका छन्,’ उनले भने । युवा संघ नेपालका अध्यक्ष राजीव पहारीले संविधान कार्यान्वयनका लागि युवा संघले सशक्त खबरदारी कार्यक्रम गर्ने जानकारी दिए ।

युवा संघ नेपालका प्रचार विभाग प्रमुख प्रभातविक्रम कटुवालले मुलुकलाई हानि विषयमा संविधान संशोधन गर्ने तयारीप्रति सचेत रहन युवाहरुलाई आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्