प्रधानमन्त्री प्रचण्ड नयाँदिल्लीमा, शुक्रबार मोदी भेट्ने कार्यतालिका


३० भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’चार दिने औपचारिक भ्रमणका लागि नयाँदिल्ली पुगेका छन्। प्रधानमन्त्री प्रचण्डलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका विदेश मन्त्री सुष्मा स्वराजले स्वागत गरेकी थिइन् ।

प्रधानमन्त्रीको स्वागतार्थ विमानस्थलमा नेपाली राजदूतावासका कार्यवाहक राजदूत कृष्णप्रसाद ढकाल, भारतको विदेश मन्त्रालयका उच्च अधिकारी तथा नेपाली दूतावासका अधिकृत उपस्थित थिए ।

बिहीबार नै प्रधानमन्त्री प्रचण्ड र विदेशमन्त्री स्वराजवीच झण्डै १० मिनेट कुराकानी भएको थियो । आगामी दिनमा दुईदेशवीचको सम्बन्ध प्रगाढ र विश्वासका साथ अघि बढाउने विषयमा उनीहरुबीच कुराकानी भएको थियो ।

१ सय १६ सदस्यीय टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री प्रचण्ड बिहिबार अपरान्ह नयाँ दिल्ली पुगेका हुन्। प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलका सदस्यहरुमा परराष्ट्रमन्त्री प्रकाशशरण महत, भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रमेश लेखक, अन्य सांसदलगायत छन् ।
प्रधानमन्त्री दाहालले शुक्रबार भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्नेछन्। भारत भ्रमण सकेर प्रधानमन्त्री दाहाल असोज २ गते स्वदेश फर्कने छन्। तस्बिरः कृष्णहरि पुस्करको ट्विटरबाट

प्रतिक्रिया दिनुहोस्