प्रधानमन्त्री–प्रचण्ड सात घण्टे वार्ता ९ वैशाखमै नयाँ मोड दिने दिशामा


काठमाडौं, ७ वैशाख । बहुप्रतिक्षित एकता प्रक्रियामा छिट्टै ब्रेक थ्रु गर्ने उद्देश्यका साथ प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले दुईदिन लगातार ७ घण्टा एकान्त वार्ता गरेका छन् ।
विहिबार करिब पौने तीन घण्टा प्रधानमन्त्री निवास बालुवाटारमै ‘वान अन वान’ छलफल गरेका ओली–प्रचण्डले शुक्रबार माईतीघरस्थित एक घरमा करिब चार घण्टा छलफल गरेका हुन् । आपसी विश्वासको वाताबरण सिर्जना गर्दै कम्युनिष्ट पार्टी स्थपाना दिवश ९ वैशाखमै सकारात्मक सन्देश दिनेगरी वार्ता निष्कर्षमा पुग्ने सम्भावना देखिएको उच्च स्रोतको दाबी छ ।
‘अहिलेलाई यति भन्न सकिन्छ, धेरै विश्वासको वाताबरण बनेको छ, जति पनि विषय छन् ती सबैमा प्रगति भएको छ, त्यसैले १÷२ दिनमै एउटा निष्कर्ष आउन पनि सक्छ ।’ प्रधानमन्त्री ओली निकट स्रोतले भन्यो । प्रधानमन्त्रीका सूचना सम्प्रेषक रामशरण बजगाईंले दुई नेताबीच गम्भीर छलफल भए पनि विस्तृतमा कुनै जानकारी नभएको बताए । ‘दुई दिनदेखि गम्भीरतापूर्वक वार्तामा बसिरहनुभएको छ, सम्भवत कुराकानीले शनिबार पनि निरन्तरता पाउँदैछ’ बजगाईंले भने ।
एमाले र माओवादीबीच एकीकृत पार्टीको केन्द्रदेखि तल्ला कमिटीसम्म संख्यात्मक हिस्सेदारी, आलोपालो अध्यक्षतात्मक प्रणालीभित्र कार्यकारी अधिकारको बाँडफाँट, चुनाव चिन्ह् र जनयुद्ध शब्दमा कुरा मिलिसकेको छैन । प्रचण्डले आशंका निवारण हुनेगरी यी सबै विषय टुंगो लाग्नुपर्ने बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्