प्रधानमन्त्री र जापानी राजदूत भेटवार्ता


२६ साउन । प्रधानमन्त्री पुष्पकमल दाहालसँग नेपालका लागि जापानी राजदूत मासासी ओगावाले आज भेटवार्ता गर्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान भएको भेटका क्रममा द्विपक्षीय हितका विषयमा छलफल भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

प्रधानमन्त्री दाहालले नेपालको जापानसँग पुरानो तथा मित्रवत् सम्बन्ध रहेको बताउँदै नेपालको विकासमा जापान सरकारले गरेको सहयोगको प्रशंसा गरेका थिए ।

सो अवसरमा राजदूत ओगावाले नेपालमा स्थिरता, विकास र समृद्धि भएको जापानले हेर्न चाहेको प्रस्ट पारे ।

यसै बिच

प्रधानमन्त्री पुष्पकमल दाहालसँग नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका प्रतिनिधिले आज भेट गरेका छन् ।

महासङ्घका कार्यवाहक अध्यक्ष डोलनाथ खनालको नेतृत्वमा बालुवाटारस्थित प्रधानमन्त्री निवास पुगेको प्रतिनिधिमण्डलले यातायात क्षेत्रमा देखिएका विभिन्न समस्याका बारेमा प्रधानमन्त्रीलाई अवगत गराएको हो ।

सो अवसरमा प्रधानमन्त्री दाहालले पूर्वाधार विकाससँगै यातायात सेवालाई पनि गुणस्तरीय बनाउनुपर्ने भएकाले त्यसलाई व्यवस्थित गर्न सरकार प्रतिबद्ध रहेको बताएको महासङ्घका महासचिव सरोज सिटौलाले जानकारी दिए ।

समय सापेक्ष यातायात ऐन वैज्ञानिक ढङ्गले संशोधन गरी यातायात क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउन प्रतिनिधिले माग गरेको थिए ।
अहिले यातायात ऐन २०४९ का आधारमा ऐन, नियम कानुन निर्माण भई लागू भएको बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्