प्रभावित हुँदै राष्ट्रियसभाको निर्वाचन कार्यतालिका


३० पुस । प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्न सरकारले ढिलासुस्ती गरिरहेकोले तत्काल प्रदेश प्रमुख तोक्नुपर्ने दबाब चौतर्फी रुपमा बढिरहेको छ । तर, जतिसुकै दबाब बढे पनि प्रधानमन्त्री शेरबहादुर देउवाले भने एकपछि अर्को बहाना गर्दै प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्न आनाकानी गरिरहेका छन् ।

प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्न ढिलाइ हुँदा सबै काम प्रभावित हुने भएपछि पछिल्लो समय निर्वाचन आयोगले सरकारलाई प्रदेश प्रमुख नियुक्त गरेर प्रदेशसभाको काम अघि बढाउन ताकेता गरेको छ । आयोगले राष्ट्रियसभाको निर्वाचनको मिति नजिकिँदै गइरहेकोले प्रदेशसभाको प्रमुख तोक्न सरकारले चासो नदेखाइरहेको हुँदा निर्वाचन नै प्रभावित हुने भन्दै सरकारलाई घच्घचाएको हो । तर, प्रधानमन्त्री देउवाले भने अहिलेसम्म प्रदेश प्रमुख तोक्नेतिर तत्परता देखाइरहेका छैनन् ।

आयोगले प्रदेशसभा गठन नहुँदा राष्ट्रियसभाको निर्वाचन कार्यतालिका नै प्रभावित हुने भन्दै सरकारलाई सचेत गराइसकेको छ । आगामी माघ २४ गते राष्ट्रियसभाको निर्वाचन गर्ने गरी आयोगले कार्यतालिका सार्वजनिक गरिसकेको छ । कार्यतालिका सार्वजनिक गरेको साता दिनभन्दा बढी नै समय भइसके पनि सरकारले भने प्रदेश प्रमुख तोक्न ढिलाइ गरिरहेको छ ।

प्रदेशसभाको प्रमुख नियुक्त नहुँदा आयोगले प्रदेशसभाको समानुपातिकतर्फको मतपरिणाम बुझाउन सकेको छैन । संविधानतः प्रदेश प्रमुखलाई मतपरिणाम बुझाउनु पर्नेछ । प्रदेश प्रमुख चयन नहुँदा प्रदेशसभाका सांसदहरु सपथ लिनबाट वन्चितसमेत रहेका छन् ।

यसअघि, राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री देउवालाई प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्न सुझाव दिएकी थिइन् । पाँच राजनीतिक दलको बैठकमा पनि प्रधानमन्त्री देउवालाई सो अधिकार दिइएको थियो । तर, प्रधानमन्त्री देउवाले भने राष्ट्रियसभाको निर्वाचन कार्यतालिकालाई नै प्रभावित हुने गरी प्रदेश प्रमुख नतोक्दा संकट उब्जिने सम्भावना बढ्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्