प्रमाणपत्र ल्याउन घरबेटीको आदेश, घर पस्नुअघि घरबेटीलाई प्रमाणपत्र बुझाउन टेकु प्रयोगशालामा भिड


काठमाडौं, १० असार । छोरीको विद्यालय भर्ना प्रभावित हुने भएपछि सिन्धुली बेलघारीकी आस्था ठकुरी सोमबार बिहानै घरबाट काठमाडौं हिँडिन् ।

ललितपुरको बालकुमारीस्थित डेरामा पुग्न मात्रै के लागेकी थिइन्, उनको मोबाइलको घन्टी बज्यो । हेरिन् । स्क्रिनमा घरबेटीको फोन नम्बर डिस्प्ले भइरहेको देखिन् । बोलेरोको थकाइ कोठामै पुगेर मेटाउँछु भन्दै हतारहतार कोठामा पुग्न खोजेकी उनले उत्साहित हुँदै घरबेटीको फोन उठाइन् । घरबेटीले सन्चो–बिसन्चोको कुरा गरेनन्, बरु आदेश जारी गरे, ‘कोरोना परीक्षणको प्रमाणपत्र पेस नगरी घरभित्र नपस्नू, म पस्न दिन्नँ ।’

दिनभर बोलेरोको थकाइले नगलेको उनको शरीर घरबेटीको आदेशले भतक्कै गल्यो । टाउको रिङेझैँ भयो । एकछिन सडकमै उभिइन् । अनि ६ वर्षीया छोरी च्यापेर बालकुमारीबाट सीधै टेकुस्थित शुक्रराज ट्रपिकल अस्पताल दगुरिन् । २ बजे ललितपुर आइपुगेकी ठकुरी अस्पताल पुग्दा तीन बज्यो । त्यसवेलासम्म अस्पतालले कोरोना परीक्षणका लागि स्वाब संकलन कार्य बन्द गरिसकेको थियो ।

ठकुरीको खास समस्या त बल्ल सुरु भयो । काठमाडौंमा आफन्त कोही छैनन् उनका । डेरा जान घरबेटीले कोरोना परीक्षणको प्रमाणपत्र मागेको छ । गेस्ट हाउस खुलेका छैनन् । वैदेशिक रोजगारका क्रममा मलेसिया रहेका श्रीमान्सँग पीडा पोख्न सम्पर्क गर्ने कोशिस गरिन् । त्यो पनि सम्भव भएन । बिलखबन्दमा परेकी उनका सामु अस्पतालकै गेटमा धर्ना दिनुको विकल्प भएन ।

समस्या गेटको सुरक्षागार्डलाई भनिन् । सुरक्षागार्डले प्रशासन समक्ष उनको समस्या राखे । अन्ततः अस्पताल साँझ उनको आरडिटी परीक्षण गर्न तयार भयो । जब परीक्षणपछि हातमा कोरोना नलागेको कागजी प्रमाणपत्र हात पर्‍यो, बल्ल लडाइँ जितेका उनले महसुस गरिन् ।

संवादमा उनले भनिन्, ‘आरडिटी परीक्षणको प्रमाणपत्रपछि लडाइँ जितेझै भयो । डेरा गएँ । घरबेटीलाई प्रमाणपत्र देखाएँ । बल्ल डेरा छिर्न सफल भइयो । नत्र त वास नै पाउन नसक्ने अवस्था आएको थियो ।’

यस्तो समस्या सिन्धुली बेलघारीकी आस्था ठकुरीको मात्रै होइन, रामेछापको रामेछाप नपा– ६ च्यासपुरकी मुना तामाङको पनि छ । उनी पाँच वर्षीय छोरासहित सोमबार नै काठमाडौं आएकी थिइन् । कोटेश्वर उत्रिएकी उनी ललितपुरको इमाडोलस्थित डेरातर्फ लाग्न मात्रै आँटेकी थिइन् । उनलाई पनि घरबेटीले फोनमार्फत कोरोना परीक्षणको प्रमाणपत्र विना डेरा प्रवेश गर्न नदिने आदेश सुनाए, ‘कोरोना नजाँची घर नआउनु होला ।’

ट्याक्सीको महँगो भाडा तिरेर उनी बल्लतल्ल टेकुस्थित अस्पताल त पुगिन् । तर, उनले पनि कोरोना परीक्षण गर्न पाइनन् । साढे तीन बजे अस्पताल पुगेकी उनलाई परीक्षण गर्न बसेका चिकित्सकले दिउँसो दुई बजे नै स्वाब संकलन बन्द भएको सुनाए ।

भनिन्, ‘श्रीमान् मलेसियामा छन् । काठमाडौंमा भएका आफन्तले पनि यस्तो वेला वास नदिने भए । डेरा भएकाले ढुक्क साथ आइयो । तर, घरबेटीले कोरोना परीक्षणको प्रमाणपत्र पेस नगरी घरमै प्रवेश नदिने भने । हारगुहार गरेपछि बल्ल अस्पतालले कोरोणमुक्त भएको प्रमाण दियो । त्यही देखाएर डेरा छिर्न सफल भएँ ।’

घरबेटीलाई कोरोना परीक्षणको प्रमाणपत्र दिन नसक्दा तनहुँ खैरेनीटारका सुरज लामिछानेले रात नै सडकमा पार्क गरी राखिएको थोत्रो बसमा बिताउनुपर्ने अवस्था आयो । गायक तथा म्युजिक एरेन्जर लामिछाने अनेक हन्डर सहेर काठमाडौं आइपुगे । सामाखुसीमा डेरा रहेका उनी कोठा आइपुग्दा मध्यरात भयो ।

थकित शरीर कोठामै पुगेर बिसाउने मनस्थितिमा थिए उनी । सरासर कोठा पुगे । ताल्चा खोल्न ढोकामा मात्रै उनी के पुगेका थिए, त्यहाँ अर्को ताल्चा झुन्डिएको भेटियो । सोधखोज गरे । ताल्चा घरबेटीले ठोकेको थाहा पाए । घरबेटीलाई फोन गरे ।

फोनबाटै घरबेटीले आदेश जारी गरे, ‘पहिला कोरोना परीक्षणको प्रमाणपत्र देऊ । अनि मात्रै ताल्चा खोल्ने चाबी दिन्छु ।’ उनी अवाक परे । चाबी दिन फेरि हार गुहारमा उत्रिए । तर, घरबेटीको मन पग्लिएन । हार खाएर उनी सडकमा निस्के । रात बिताउन गेस्टहाउस चहारे । तर, कतै नपाइएपछि अन्ततः सडकमै पार्क गरी राखिएको थोत्रो बस भेटियो । उनी सोही बसमा चढे । रात त्यहीँ बिताए ।

सबेरै कोरोना परीक्षणका लागि टेकु अस्पताल पुगे । स्वाब परीक्षणका लागि दिए । तर, प्रमाणपत्र आउन अझै एक दिन लाग्ने अस्पताल प्रशासनले भन्यो । प्रमाणपत्र नआउन्जेल फेरि सडकमै वास हुने अवस्था आएपछि उनी आरडिटी परीक्षणतर्फ लागे । आरडिटी परीक्षणको प्रमाणपत्र हातमा लिएर अस्पताल परिसरबाट बाहिरिँदै गरेको अवस्थामा भेटिएका उनले भने, ‘मेरो दुई दिनदेखि सडकमा वास छ । घरबेटीले ढोकामा ताल्चा मारेको छ ।’

उनले थप कथा सुनाए, ‘पिसिआर परीक्षणको प्रमाणपत्र नदिई चाबी दिन्नँ भनेको छ । प्रमाणपत्र आउन अझै एक दिन लाग्छ रे । आरडिटी परीक्षणको प्रमाणपत्र त ल्याएँ । यसले हुने हो–होइन, ठेगान छैन । घरबेटीले मलाई लिनुसम्म हुर्मत लिए । न खानको टुंगो छ, न वासको ।’

ज्यामी काम गर्ने रामेछापका गोविन्द थापामगर काठमाडौंमा कोरोना सल्किने डरले हतारहतार सपरिवार गाउँ गए । तीन महिनासम्म बस्दा भएको सबै खर्च सकियो । परिवार पाल्न काठमाडौं आउनुको विकल्प भएन । उनी पनि सोमबार नै हुर्रिदै काठमाडौं आएका थिए । तर, डेरा जान खोज्दा घरबेटीले बाटोबाटै रोके । डेरा जान कोरोना परीक्षणको प्रमाणपत्र मागे ।

स्वाब परीक्षणका लागि श्रीमतीसँगै उनी टेकुस्थित अस्पताल पुगे । अस्पतालले कोरोना परीक्षण गर्न भोलि मात्रै आउन भन्यो । घरभित्र बस्नै नपाउने समस्या राखेपछि बल्ल साँझ अस्पताल आरडिटी भए पनि परीक्षण गर्न मन्जुर भयो ।

उनले भने, ‘घरबेटीले साह्रो दुःख दियो हजुर । आफ्नै डेरा जान अब कोरोना परीक्षणको प्रमाणपत्र चाहिने रे । नत्र त कोठा त के टोलमै प्रवेश नदिने पो भन्न थाले । हारगुहारपछि बल्ल आरडिटी परीक्षण भयो । त्यो देखाएर बल्ल डेरामा बस्न सफल भएँ ।’ नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया दिनुहोस्