प्रमुख दलसँग सहमति जुटाउने जिम्मा प्रधानमन्त्रीलाई


६ मंसिर । नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय बैठकले संविधान संशोधनको विषयमा देखिएको असमझदारी हटाई प्रमुख दलसँग सहमति जुटाउने प्रयासको जिम्मा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जिम्मा दिएको छ ।

प्रमुख दलको शीर्ष बैठक बस्नु अघि बसको माओवादी केन्द्रको बैठकले असन्तुष्ट पक्षको माग सम्बोधन गरी संविधानको सर्वस्वीकार्यता बढाउने विषयमा आवश्यक पहल गर्न प्रधानमन्त्रीलाई नै जिम्मा दिइएको प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् ।

बैठकमा पार्टीको आन्तरिक सङ्गठनात्मक संरचना र संविधान संशोधनका विषयमा केन्द्रित रहेर छलफल समेत भएको थियो । ‘प्रमुख दलको शीर्ष बैठकमा आवश्यक निर्णय गर्नसमेत प्रधानमन्त्रीलाई नै जिम्मेवारी दिइएको छ,’  प्रवक्ता भुसालले भनिन् ।

बैठकले आन्तरिक सङ्गठनलगायतका विषयमा आवश्यक निर्णय लिन यही मङ्सिर ११ गते पार्टीको पोलिटब्युरो बैठकको आयोजना गरेको पनि भुसालले जानकारी दिइन् । बैठकमा प्रमुख तीन दलको शीर्ष नेताको बैठक बस्ने र संविधान संशोधनलगायतका विषयमा छलफल हुने जानकारी प्रचण्डले गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्