प्रमुख निर्वाचन आयुक्तको मोर्चालाई चेतावनी, ‘चुनावमा भाग नलिए ठूलो मूल्य चुकाउनुपर्ने छ ।’


३१ चैत । सरकारले नयाँ संविधान संशोधन प्रस्ताव दर्ता गराए पनि मधेसी मोर्चाले भने स्थानीय तहको निर्वाचनमा भाग लिन ठाडै अस्वीकार गरेको छ । मधेसी मोर्चाले निर्वाचन बहिस्कार गरेर आन्दोलनमा उत्रिने घोषणा समेत गरिसकेको छ ।

तर, प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले भने मोर्चाले चुनावमा भाग नलिएर ठूलो मूल्य चुकाउनुपर्ने बताएका छन् । आफूलाई अझै मोर्चाले चुनावमा भाग लिने आशा रहेको बताउँदै प्रमुख आयुक्त डा. यादवले भनेका छन्, ‘स्थानीय तहको निर्वाचनमा भाग लिएर आफ्नो जनमत सुरक्षित नगरे मोर्चाले ठूलो मूल्य चुकाउनुपर्ने छ ।’

सिन्धुलीमाढीमा भइरहेको मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरुको प्रशिक्षण कार्यक्रममा डा. यादवले तराई–मधेसका जिल्लाहरुमा कडा सुरक्षा दिएरै भए पनि निर्वाचन गर्ने बताएका छन् । उनले २ नम्बर प्रदेशमा पनि निर्वाचन गराउन आयोग तत्पर रहेको र त्यसको तयारीसमेत तीव्र रुपमा भइरहेको बताएका थिए ।

मधेसी मोर्चालाई मनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दुई चरणको निर्वाचनको कुरा उठाए पनि प्रमुख निर्वाचन आयुक्त यादवले भने निर्वाचन एकै चरणमा हुने बताए । यादवले यसअघि पनि पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले दुई चरणमा गर्न सुझाव दिँदा पनि एकै चरणमा गर्न सकिने बताएका थिए ।

मोर्चाले निर्वाचन बहिस्कार गर्ने घोषणा गरेको हुँदा २ नम्बर प्रदेशका आठ जिल्लामा निर्वाचन बिथोलिनसक्ने खतरा रहेको छ । तर, आयोगले भने ती जिल्लाहरुमा पनि मतदान केन्द्र र निर्वाचन अधिकृतहरु तोकेर काम सुरु गरिसकेको छ । ती जिल्लाहरुमा मतपत्र र मतदाता नामावली छापेर पठाउने तयारी थालेको आयोगले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्