प्रस्ताव फिर्ता गराउन दबाब दिन सांसद्लाई एसएमएसदेखि प्राज्ञिक बहससम्म


३० मंसिर । संविधान संशोधन प्रस्तावको विपक्षमा रहेका युवा तथा विद्यार्थी संगठनले बिहीबार व्यवस्थापिका–संसद्का सांसदलाई मोबाइल एसएमएसमार्फत सन्देश प्रवाह गरेका छन् ।

सो प्रस्ताव देश र जनताको हितमा नरहेकाले फिर्ता लिन दबाब दिने उदेश्यले गरिएको अनेरास्ववियुका सचिव आरसी लामिछानेले जानकारी दिए ।  उनीहरुले ‘माननीय होसियार, जनताको अपेक्षा छ राष्ट्रघाती संविधान संशोधन विधेयक खारेज होस्’भनी मोबाइलमा सन्देश लेखेर पठाएका छन् ।

संसद्मा प्रतिनिधित्व गर्ने विभिन्न दल तथा स्वतन्त्र सांसदले सो प्रक्रियालाई फिर्ता लिन तथा असफल बनाउन सक्ने निर्णायक भूमिका हुने हुँदा सन्देश प्रवाह गरिएको उनको भनाई छ ।

नेकपा (एमाले), नेकपा (माले), राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टीलगायतका युवा तथा विद्यार्थी सङ्गठनका नेताले दबाब सिर्जना गरेका हुन् । युवा तथा विद्यार्थीका सङ्गठनले  बुधबार संयुक्त बैठक बसी नयाँ चरणको दबाबका कार्यक्रम ल्याएका थिए । सोही कार्यक्रम अन्तर्गत बिहीबार यसो गरेका हुन् ।

उनीहरुले राष्ट्रघाती संविधान संशोधन प्रस्ताव फिर्ताका लागि आन्दोलनका आगामी कार्यक्रमहरु समेत घोषणा गरेका छन् । अनेरास्ववियुका प्रवक्ता सुदिप शर्माका अनुसार  पुस १ गते कपी–कलम जुलुससहित शान्तिबाटिकामा विरोध सभा गर्ने कार्यक्रममा छ । उपत्यका बाहिर पनि सोही मितिमा हरेक क्याम्पसमा कपी–कलम जुलुस निकाल्ने तयारी भएको छ ।

त्यसैगरी पुस २ र ३ गते  हरेक क्याम्पसमा विद्यार्थीहरुबाट राष्ट्रियताको पक्षमा प्रधानमन्त्रीको नाममा  चिठी संकलन गर्ने कार्यक्रम छ ।  पुस ४ गते  प्रधानमन्त्रीको नाममा संकलित चिठी प्रधानमन्त्रीलाई हस्तान्तरण कार्यक्रम राखिएको शर्माले जानकारी दिए ।  पुस ६ गते त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरमा प्राज्ञिक बहस गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्