प्रहरीमा जनशक्तिको ठूलो अभाव


काठमाडौं । नेपाल प्रहरीमा उपल्लो तहका जनशक्तिहरूको अभाव हुन थालेको छ । समयमा बढुवा समितिको बैठक नबस्दा र रिक्त दरबन्दीमा पदपूर्ति नहुँदा प्रहरीभित्र एकै समयमा ठूलो संख्यामा प्रहरी अधिकृतहरूले अवकाश पाउन लागेका हुन् । केही दिनभित्रै प्रहरीका तीसभन्दा बढी वरिष्ठ अधिकृत सेवा अवधिको कारण एकैपटक घर जाने भएपछि प्रहरी संगठनमा जनशक्तिको अभाव हुन थालेको हो ।

प्रहरीमा विभिन्न तह तथा एकाइका कमान्ड सम्हालेका अधिकृतहरू स्वतः अवकाश हुने निश्चित भएसँगै काममा खासै ध्यान नदिने गर्न थालेका छन् । स्वतः अवकाश हुने दिन नजिकिएसँगै उनीहरू कार्यालयको काममा खासै ध्यान नदिने गर्दै आएका छन् । अहिले पनि प्रहरी संगठनभित्र ठूलो संख्यामा दरबन्दी खाली छ । प्रहरीको ७२ हजार ७ सय १९ स्वीकृत दरबन्दी भए पनि हाल ३ हजार ७ सय ८७ दरबन्दी खाली भएको मानवस्रोत विभागको तथ्यांक छ ।

कति खाली छ दरबन्दी ?
अहिलेसम्म प्रहरीमा एक डीआईजी, १३ एसपी, १३ डीएसपी, १ सय ६ इन्सपेक्टर, १ सय ८ प्रहरी नायब निरीक्षक (सई), ६ सय ४७ प्रहरी सहायक निरीक्षक (असई), १ सय १३ प्रहरी हवल्दार, १ हजार २ सय ५२ प्रहरी जवान र फलोअर्स ५८ जनाको दरबन्दी खाली छ ।

यता, प्राविधिकतर्फ पनि तीन डीआईजी, १० एसएसपी, ९ एसपी, ३६ जना डीएसपी, ९८ जना इन्स्पेन्टर, १ सय २६ जना सई, ६३ जना असई, ५ सय ३७ जना हवल्दार र ५ सय ८५ जना जवानको दरबन्दी खाली छ । प्रहरी प्रधान कार्यालयका अनुसार भोली अर्थात मंसिर ३० गतेदेखि चारजना एसएसपी, आठजना एसपी र २३ जना डीएसपी सेवा अवधि सकेर घर जान लागेका हुन् । त्यस्तै, पुस ५ गते दुई डीआईजीले अवकाश पाउनेछन् । प्राविधिकतर्फको तीन डीआईजीको बढुवाका लागि प्रक्रिया अघि बढिसकेको छ भने अन्यको बढुवाका लागि कुनै प्रक्रिया अघि बढ्न सकेको छैन ।

‘जाम’ एकैचोटि भएको होइन
पछिल्लो समय अधिकृतदेखि जवानसम्मले पेन्सन पाकेपछि जागिर छोड्ने गरेका कारण दरबन्दी खाली हुने गरेको नेपाल प्रहरीका प्रवक्तासमेत रहेका प्रहरी नायब महानिरीक्षक हेमन्त मल्ल ठकुरीले जानकारी दिए । ‘सेवा अवधि, उमेर हदका कारण अवकाश पाएपछि दरबन्दीहरू खाली भएका हुन्’, उनले भने, ‘सरकारले समयमा नै पदपूर्तिको व्यवस्था नहुँदा यो अवस्था आएको हो ।’ प्रवक्ता मल्ल ठकुरी आफैं पनि पुस ५ गते सेवाअवधि पूरा गर्दै छन् ।

नेपाल प्रहरीका माथिल्ला तहमा सयौं अधिकृतहरूको दरबन्दी रिक्त भए पनि आईजीपी उपेन्द्रकान्त अर्यालले पदपूर्ति गर्न कुनै पहल नगरेपछि अन्यौल छाएको छ । रिक्त पदमा बढुवाको आशामा बसेका अधिकारीहरू आईजीपी अर्यालको बेवास्ता पछि अन्यौलमा परेका छन् ।

विगत सात महिनादेखि प्रहरीमा दुई प्राविधिक, डीआईजी, चिकित्सकसमेत गरेर चार एसएसपी, १७ एसपी र ३४ डिएसपी पद रिक्त थियो । त्यती धेरै संख्यामा कर्मचारीहरू रिक्त हुँदा काम गर्न अफ्ठेरो परेको भन्दै उच्च अधिकारीहरूको बैठकमा गुनासो आउने गरेको थियो । तर पनि हरेक कुरामा ढिलासुस्ती गर्ने आईजीपी अर्यालले केही पछि मात्र १७ एसपीको सरुवा गरेका थिए ।

सरुवा बढुवामा बढी चलखेल गरेको आरोप लाग्ने गरेको नेपाल प्रहरीमा नयाँ नियमावली लागू भएपछि व्यवस्थित, वैज्ञानिक र पारदर्शी सरुवा बढुवा हुनुपर्नेमा अझै नियमित सरुवा र बढुवा पनि लामो समयदेखि ‘जाम’ भएर बसेको छ ।

काममा गम्भीर समस्या आउन सक्ने
प्रहरीमा तोकिएअनुसारको दरबन्दी पूर्ति नहुँदा दैनिक कामसमेत प्रभावित हुन्छन् । दैनिक सुरक्षामा खटाउन पनि प्रहरी अपुग हुने अवस्था आउन सक्ने आशंका प्रहरी प्रवक्ता मल्लको छ । एकै पटक धेरैजना बाहिरिँदा यसको सीधा असर इन्स्पेक्टर तहसम्ममा पुग्नेछ । माथिल्ला तहहरूमा बढुवाबाट पदपूर्ति हुने भएकाले असर नपरे पनि इन्सपेक्टर तहमा समस्या पर्ने प्रहरी प्रवक्ता हेमन्त मल्ल ठकुरी बताउँछन् । उनका अनुसार एकजना इन्सपेक्टर बन्न तीन वर्ष समय लाग्छ । ‘विज्ञापन प्रकाशित, छनौट, शारीरिक परीक्षण, लिखित परीक्षा र नतिजा प्रकाशन गर्न नै एक वर्ष समय लाग्छ’, उनले भने, ‘त्यसपछि पनि १८ महिनाको तालिमपछि मात्र बल्ल एउटा अधिकृत तयार हुन्छ।’

त्यसमाथि गृह, रक्षा र अर्थ मन्त्रालयबीच हुने लामो कानुनी प्रकृयाले पनि तोकिएको समयमा पदपूर्तिमा कठिनाइ हुने गरेको मल्लले बताए ।

को–को हुन् घर जाने अधिकृत ?
०७३ मंसिर ३० गते घर जानेहरू प्रहरी अधिकृतहरू प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) उत्तमबहादुर सिंह, योगेश्वर रोमखाम, विक्रमसिंह थापा, भूपालकुमार भण्डारी रहेका छन् । यस्तै, प्रहरी उपरीक्षकहरू (एसपी) मा गोविन्दराम परियार, जगतमान श्रेष्ठ, अजय भट्टराई, प्रेमबहादुर मल्ल, ईश्वरीप्रसाद चापागाईं, स्थानेश्वर रेग्मी, पवनकुमार गिरी, सुदनकुमार सिँजापति रहेका छन् ।

प्रहरी नायब उपरीक्षक (डीएसपी) हरूमा कृष्णबहादुर कुँवर, अरूणकुमार शाह, दीपक न्यौपाने, तोरणकुमार कार्की, दीपककुमार शाह, जगन्नाथ गौतम, ज्ञानेन्द्रबहादुर पाख्रिन, मोहनकुमार परियार, यादवकुमार घर्ती, मीनबहादुर रावल, विजयकुमार यादव, डम्बरबहादुर चन्द, डोलराज शाही, सोमबहादुर थापा, जीवनकुमार श्रेष्ठ, किशनसिंह बडुबाल, बालाजी रायमाझी, भक्तबहादुर विष्ट, दिलिपसिंह भण्डारी, कमलेशकुमार भट्ट, महेन्द्रबहादुर चन्द, केपी शर्मा र रूपेसकुमार रावल रहेका छन् । यस्तै, ०७३ पुस ५ गतेदेखि घर जानेहरू प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरूमा केशव अधिकारी, हेमन्त मल्ल ठकुरी रहेका छन् । यस्तै ०७३ पुस १५ गते घर जान ठिक्क परेका वरिष्ठ उपरीक्षक (एसएसपी) हरूमा गणेश केसी, लव विष्ट, केदारमान सिंह, भण्डारी, बलराम शर्मा पौडेल र रमेशकुमार भट्टराई रहेका छन् । जसमध्ये एकजना त्यसअघि नै डिआइजीमा बढुवा हुन सक्ने सम्भावना पनि उत्तिकै रहेको छ ।

प्रतिक्रिया दिनुहोस्