प्रहरी छैनन् कोरोनाबारे सचेत


काठमाडौं, २३ फागुन । सबैजसो सरकारी कार्यालयहरूले कोरोना भाइरसको संक्रमणबाट बच्न सचेतता अपनाइरहेको बेला प्रहरी कार्यालयहरूमा भने यसबारे कुनै पूर्वतयारी तथा सचेतताका कार्यक्रम गरिएका छैनन् ।

सेवाग्राहीको भिड लाग्ने प्रहरी कार्यालयहरूमा कोरोना भाइरसबारे सुरक्षा र सचेतनाको स्तर कमजोर देखिएकसिभिल प्रहरी, ट्राफिक प्रहरी र ड्युटीमा खटिएका प्रहरीले मास्क समेत प्रयोग गरेको देखिँदैन ।

ड्युटीमा खटिने तल्लो दर्जाका प्रहरीहरूलाई कोरोनाबारे आवश्यक सचेतना कार्यक्रम कुनै पनि प्रहरी कार्यालयले आयोजना गरेका छैनन् । बिहीबार जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर र ललितपुरले प्रेस विज्ञप्ति जारी गर्दै भिडभाडमा उपस्थित नहुन, अत्यावश्यक कामकाजमा मात्रै उपस्थित हुन्, सभा–समारोह रोक्न, साबुन–पानीले हात धुनलगायत विषयमा ध्यान दिन आग्रह गरेको छ ।

प्रहरी प्रधान कार्यालयले भने आफ्ना मातहतका प्रहरी कार्यालयहरूमा यसबारेमा औपचारिक वा अनौपचारिक जानकारी गराएको छैन । प्रहरी कार्यालयहरूले मास्क समेत जोही गर्न सकेका छैनन् । महानगरीय प्रहरी परिसर काठमाडौं, भक्तपुर र ललितपुरमा सबैभन्दा बढी सेवाग्राहीको भिड लाग्छ ।

यी कार्यालयहरूमा सबैभन्दा बढी वैदेशिक रोजगारबाट फर्किएका पीडितहरू न्याय माग्न आइपुग्छन्। तर सेवाग्राहीको घुइँचो लाग्ने प्रहरी कार्यालयहरूमा कोरोना भाइरस संक्रमणबाट रोक्न कुनै तयारी सुरु भएको छैन । मातहतका कार्यालयहरूले भने प्रहरी प्रधान कार्यालयबाटै औपचारिक पत्र वा आदेश नआइकन सचेतताका कार्यक्रम नगरिएको जानकारी दिए ।

महानगरीय अपराध महाशाखाका प्रमुख सहकुलबहादुर थापाले प्रहरी प्रधान कार्यालयबाट औपचारिक आदेश नआएकाले कोरोना भाइरसबारे जनचेतनामुलक कार्यक्रम नगरिएको जानकारी दिए । ‘कार्यालयभित्रका कर्मचारीलाई सचेत रहन आग्रह गरेका छौं, त्यस्तो बाहिर कार्यक्रम गर्नलाई अनुमति चाहिन्छ,’ उनले भने। उनका अनुसार प्रधान कार्यालयले यसबारेमा तयारी नगर्दा ड्युटीमा खटिएका प्रहरीहरूलाई मास्क समेत वितरण गर्न सकिएको छैन ।

प्रहरी प्रधान कार्यालयका प्रवक्ता डिआइजी शैलेश थापाले मातहतका कार्यालयहरूलाई कोरोना भाइरसबारे सचेतता अपनाउन आग्रह गरिएको दाबी गरे । ‘हामीले भित्री रूपमा तयारी र सावधानी अपनाएकै छौं, अब भिडभाड हुने प्रहरी कार्यालयमा कसरी सचेत रहने र सुरक्षा प्रदान गर्ने भन्ने विषयमा छलफल गर्दैछौं,’ उनले भने, ‘प्रहरी र सेवाग्राही दुवै सचेत हुनेगरी प्रहरीले सेवा प्रवाह गर्छ ।’

उनका अनुसार प्रहरी कार्यालयहरूमा रहेका आइसुलेसन वार्ड तयारीसाथ राखिएको छ । प्रहरीले गर्ने समुदाय साझेदारी कार्यक्रमअन्तर्गत हाल कोरोना भाइरसबारे नै जनचेतना प्रवाह गर्ने कार्य गरेको प्रहरीको दाबी छ ।

सुरक्षा गोष्ठी स्थगित
सबै क्षेत्रका सुरक्षा निकायलाई समेटेर फागुन २३ र ३४ गते धनगढीमा सुरक्षा निकायको गोष्ठी आयोजना गर्ने तयारी प्रहरी प्रधान कार्यालयको थियो । कोरोना भाइरसप्रति सचेत रहने भन्दै उक्त कार्यक्रम हाललाई स्थगित गरिएको छ ।

प्रधान कार्यालयका प्रवक्ता डिआइजी थापाले हाललाई गोष्ठी स्थगित गरेर समायोजनको विषयमा सुरक्षा निकायसँग छलफल भइरहेको बताए । प्रहरी समायोजनको संघारमा आयोजना गरिएको उक्त गोष्ठीमा प्रदेश तहको सुरक्षाको बारेमा छलफल हुने बताइएको थियो । ‘हाललाई यो कार्यक्रम स्थगित भएको छ,’ थापाले भने ।

त्यसैगरी, प्रहरी प्रधान कार्यालयले कोरोना भाइरसको संक्रमण हुनेसक्ने भन्दै ट्राफिक प्रहरीलाई मापसे जाँच नगर्न आग्रह गरेको छ । बुधबार ट्राफिक प्रहरी महाशाखालाई पत्राचार गर्दै प्रधान कार्यालयले मापसे जाँच रोक्न आग्रह गरेको थियो । यद्यपि प्रधान कार्यालयले भने मुख्य मुख्य सडकमा ब्रेथलाइजरको प्रयोग गरी जाँच गर्न आग्रह गरेको छ ।

महाशाखाका प्रवक्ता जीवनकुमार श्रेष्ठले पूर्णरूपमा मापसे जाँच नरोकिएको बताए । ‘रोक्ने भनेर पूरै ठप्प भएको होइन, हामीले गर्नसक्ने काम नियमित नै हुन्छ, मापसे गरेर सवारी हाक्नेलाई छुट छैन,’ उनले भने । नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस्