प्रहरी सरुवामा देउवा हावी, अर्याल रमिते मात्र


८ मंसिर । वामदेव गौतम गृहमन्त्री हुँदा प्रहरीका सरुवा बढुवा सबै लोकमानसिंह कार्कीको निर्देशन र आफ्नो तजबिजमा गर्दै आएका नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्याल पदै जाने भएपछि अहिले रक्षात्मक अवस्थामा पुगेका छन् । उनलाई हटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाबीच एक भएपछि आईजीपी अर्याल अहिले लत्रक्कै गलेका छन् । र, कांग्रेस सभापति देउवा र गृहमन्त्री निधिले भनेअनुसार मात्र एसपीको सरुवा गरेका छन् भने शुक्रबारसम्ममा हुन लागेको एसएसपीको सरुवामा पनि उनका निकटस्थहरू दुईजनाले मात्र अवसर पाउने प्रहरी स्रोतले बतायो ।

आईजीपी अर्याल आफूनिकट युक्ति तालिम विद्यालय नवलपरासीका एसएसपी दिनेश अमात्यलाई अपराध अनुसन्धान महाशाखा, काठमाडौं प्रहरी परिसर र आर्थिक प्रशासन महाशाखाका प्रमुख उत्तम कार्कीलाई पूर्वक्षेत्रीय तालिम केन्द्रमा सरुवा गर्ने प्रयासमा छन् । तर, कांग्रेस सभापति देउवा र गृहमन्त्री निधिले अपराध अनुसन्धान महाशाखाको प्रमुखमा प्रहरी हेडक्वार्टरमा कार्यरत एसएसपी सुवास चौधरी, महिला बालबालिका निर्देशनालयका कृष्णप्रसाद गौतम र धवलागिरिका छवि जोशीमध्ये एकलाई लान खोजेका छन् । चौधरी, गौतम र जोशीमध्ये एक एसएसपीलाई अपराधमा लाने र अरू दुईलाई ललितपुर परिसर र जनकपुर अञ्चलमा सरुवा गर्न गृहमन्त्री निधिको चर्को दबाब छ ।

कांग्रेसकै कोटामा एसएसपी विकास श्रेष्ठलाई लुम्बिनी अञ्चलमा लैजानुपर्ने दबाब आईजीपीलाई छ । विकास श्रेष्ठ कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहका निकट हुन् । प्रकाशमानकै कोटामा एसएसपी पुष्प रञ्जित मेची वा भेरीको प्रमुख हुने कोसिसमा छन् । भेरीका धिरु बस्नेत काठमाडौं परिसरमा आउन जोडतोडले लागेका छन् । भरतपुर तालिम केन्द्रमा हुँदा एउटा सिपाही भर्नामा ३ लाख रुपैयाँ घूस खाएको आरोप लागेका एसएसपी बलराम शर्मा पौडेल बाग्मतीमा सरुवा हुन दौडधुपमा छन् ।

त्यस्तै, मंसिर ५ गते भएको ५९ एसपीहरूको सरुवामा पनि कांग्रेस सभापति देउवा हावी भएका छन् । सरुवामा सुदूरपश्चिमका एसपीहरूले आकर्षक जिल्ला पाएका छन् । आईजीपी अर्यालले आफ्नो पद गुम्ने भएपछि सरुवामा बदनामहरूलाई पनि आकर्षक जिल्ला वा इन्चार्ज टु इन्चार्ज दिएको गुनासो प्रहरीमा छ ।
एसपीहरू प्रकाश चन्द कञ्चनपुर, भरतबहादुर बोहरा बर्दिया, अर्जुन चन्द कैलाली, रवीन्द्रबहादुर धानुक रूपन्देही, चक्रबहादुर सिंह दंगा नियन्त्रण गण महेन्द्रनगरमा सरुवा भएका छन् । अर्जुन चन्द दंगा गण सुनसरीको इन्चार्जबाट कैलालीको इन्चार्जमा सरुवा भएका छन् । चक्रबहादुर सिंह बागलुङको इन्चार्जबाट महेन्द्रनगर गणमा सरुवा भएका छन् ।

चक्रबहादुर सिंह बागलुङमा डीएसपी हुँदा एसपी बढुवा भएर त्यहीँ इन्चार्ज भए । अहिले पुनः इन्चार्ज पाएका छन् । रवीन्द्रबहादुर धानुक काभ्रेको डीएसपी हुँदा अवैध रक्तचन्दन चीनको नाकातिर पास गरेर करोडौं रुपैयाँ घूस खाएका आरोपित हुन् । उनीमाथि अञ्चल प्रहरी कार्यालय बाग्मतीको जग्गा खरिदका क्रममा ठूलो रकम भ्रष्टाचारको आरोप लागेको थियो । एसपी धानुक र तत्कालीन मध्यक्षेत्रीय प्रहरी कार्यालयका प्रमुख नवराज ढकालले जग्गा खरिदको कमिसन खाएको प्रहरी अधिकारी बताउँछन् । तर, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्य दोषी धानुक र तत्कालीन डीआईजी ढकाललाई उन्मुक्ति दिएर एक रुपैयाँ नपाएका बाग्मतीका तत्कालीन एसएसपी प्रेम चन्दलाई मात्र मुद्दा दायर गरी गरेको थियो । धानुक सर्लाहीमा कार्यरत हुँदा पनि घुुमुवा राखी असुली गरेकोमा विवादमा परेका एसपी हुन् ।

पटकपटक इन्चार्ज भइसकेका सुदूरपश्चिमकै वीरेन्द्रकुमार बस्यालले दंगा गण कोहलपुर बाँकेको प्रमुख पाएका छन् । कांग्रेस सभापति देउवाकी श्रीमती आरजु देउवाको नातेदार बताउने अर्का एसपी भोजजंग शाहले बर्दियाको इन्चार्जबाट कपिलवस्तु सरुवा हुने अवसर पाएका छन् ।एसपी नलप्रसाद उपाध्याय महोत्तरी सरुवा भएका छन् भने सुरेन्द्र मैनाली क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय पथलैयाको प्रमुखमा लगिएका छन् । उपाध्याय नवलपरासी, पहरा गणपछि अहिलेको सरुवामा तेस्रोपटक महोत्तरीको इन्चार्ज भएका छन् । उनी आईजीपीको कोटाबाट महोत्तरीको प्रमुख भएका छन् । महोत्तरीमा आइजीपी अर्यालले सुरुमा सुरेन्द्र मैनालीको नाम राखेका थिए । तर, घूस खाएर सात पुस्तालाई सम्पत्ति जोडिसकेपछि रमेश खरेलको जस्तो आदर्श देखाउने स्वभावका मैनालीलाई मन्त्री निधिले महोत्तरीमा सरुवा गर्न नमानेपछि क्षेत्रीय ट्राफिकमा सरुवा भएको छ ।

मैनाली पनि काभ्रेको डीएसपी हुँदा रक्तचन्दन कारोबारीसँग कुस्त फाइदा लिने अधिकृतका रूपमा चिनिन्छन् । उनले रक्तचन्दन कारोबारीसँग घूस असुलीका लागि राखेका घुमुवा सिपाही सिद्धिबहादुर कार्की अहिले पनि जेलमा छन् । उनी मैनालीको आदेशमा रक्तचन्दनको गाडी गस्ती गर्दागर्दै पक्राउ परेका थिए । तर, उनलाई खटाएर घूस खाने मुख्य दोषी एसपी मैनाली भने ‘सौ चुहा खाके बिल्ली चली हज गर्ने’ भन्ने हिन्दी उखानको झल्को दिने गरी रमेश खरेलको जस्तो नौटंकी प्रदर्शन गर्न थालेका छन् ।

त्यस्तै, रक्तचन्दन कारोबार उत्कर्षमा रहेको बेला सिन्धुपाल्चोकको डीएसपी रहेका एसपी सहकुलबहादुर थापाले काभ्रेमा सरुवा हुने मौका पाएका छन् । उनले रक्तचन्दन कारोबारबाट लिएको घूसले काभ्रेस्थित काठमाडौं विश्वविद्यालयनजिक आनाको ८ लाखमा पनि नपाइने ८ रोपनी जग्गा र भक्तपुरको जगातीमा दुईवटा महल बनाएको उजुरी अख्तियारमै परेको छ । भक्तपुरको नंखेलमा फुसको सामान्य घर भएका थापाको अहिले १५ करोडभन्दा बढीको सम्पत्ति त धुलिखेलको जग्गा र जगातीका घरकै भएको उनका समकालीनहरू बताउँछन् । उनले चितवनको एसपी हुँदा पनि कुस्त घूस खाएको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्