प्राधिकरणका नयाँ सीइओ डा. पोखरेलका दुई सबल र पाँच दुर्बल पक्ष


३ माघ । केही दिनअघि, तीन वर्ष एघार महिनाका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा डा. गोविन्दराज पोखरेलले नियुक्ति पाए । पूर्ववर्ती केपी शर्मा ओली नेतृत्वको सरकारमा पाँच वर्षका लागि नियुक्ति पाएका सुशील ज्ञवालीलाई वर्तमान सरकारले अवकाश दिएपछि नेपाली काँग्रेसका १३औं महाधिवेशनमा केन्द्रीय सदस्यका उम्मेद्वारसमेत रहेका डा. पोखरेललाई सो पदमा नियुक्त गरियो ।

प्राधिकरण गठन भएताका नै सीइओको जिम्मेवारी निभाइसकेका डा. पोखरेलले दोस्रो पटक सोही पदमा पुगेपछि बताए, ‘यो पदमा जुन सरकार आउँछ, त्यही पार्टीका मानिसले जिम्मेवारी पाउँछ । सरकारले हट्न भनेको दिन हट्नुपर्छ ।’ सम्भवतः उनको संकेत पूर्वसीइओ ज्ञवालीप्रति लक्षित थियो र ज्ञवालीले आफूलाई पाँच वर्षका लागि जिम्मेवारी दिएको र कार्यसम्पादन पनि राम्ररी नै निर्वाह गरेको हुँदा आफूलाई हटाउनुपर्ने कुनै कारण नरहेको बताउँदै आएका थिए । अहिले ज्ञवालीले आफूलाई हटाइएको विषयमा सर्वोच्च अदालतमा रिट दायर गरिसकेका छन् ।

पूर्वसीइओ ज्ञवालीलाई सरकारले ‘असक्षम’ ठहर्याउँदै अवकाश दिएको थियो । तर, प्राधिकरणमा दोस्रो पटक जिम्मेवारी पाएका डा. पोखरेल आफ्नो कार्यकालमा सक्षम ठहरिएलान् ? राष्ट्रिय योजना आयोगको पूर्वउपाध्यक्ष र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको कार्यकारी निर्देशक रहिसकेका डा. पोखरेलको कार्यशैलीलाई अहिलेदेखि नै हेर्न थालिएको छ । तर, डा. पोखरेलका समकर्मीहरु भने उनमा नेतृत्व गर्ने क्षमताको कमी रहेको बताउँछन् । उनीसँगै काम गरेका एक सहकर्मीको उनीप्रति मूल्यांकन छ, ‘उहाँमा थोरै सबल र धेरै दुर्बल पक्ष रहेको हुँदा नेतृत्व गर्ने कुरामा समस्या आउन सक्छ ।’

के हुन् त, डा. पोखरेलका सबल र दुर्बल पक्षहरु ? यस्ता छन्, उनका सबल पक्षहरुः

१. हँसिलो स्वभावका डा. पोखरेलमा सबैसँग घुलमिल हुनसक्ने र सबैसँग सम्बन्ध कायम र विस्तार गर्नसक्ने क्षमता छ ।

२. राजनीतिक दलका नेताहरुकहाँ पुग्न सक्ने र धाउन सक्ने क्षमता भएको हुँदा उनले नेताहरुसित राम्रो सम्बन्ध बनाएका छन् ।

दुर्बल पक्षहरु चाहिँ यस्ता छन्ः

१. नेतृत्व तहमा रहने व्यक्तिमा कामको प्राथमिकीकरण गर्नसक्ने खुबी हुनुपर्छ । तर, डा. पोखरेलमा भने त्यस्तो खुबी बिल्कुलै देखिँदैन । कुन कामलाई पहिलो नम्बरमा राख्ने र कुनलाई पछि राख्ने भन्ने कमजोरी उनमा रहेको छ । कामको प्राथमिकीकरणमा ध्यान नदिँदा विगतमा उनले सम्हालेका संस्थाहरुमा समस्या आएको बताइन्छ ।

२. नेतृत्व गर्ने व्यक्तिले कुनै पनि कामप्रति गम्भीरता देखाउनु स्वाभाविक कुरा हो । तर, डा. पोखरेलमा भने कुनै पनि कामको विषयलाई सतही र हल्का ढंगले लिने प्रवृत्ति रहेको छ ।

३.डा. पोखरेल आफ्नै विवेकले काम गर्न खोज्दैनन् । प्रायः उनी राजनीतिज्ञहरुको आशय के छ, त्यो बुझेर मात्रै काम गर्न खोज्छन् । स्वतन्त्र रुपले काम गर्ने खुबी नभएका हुँदा बेलाबखत काममा समस्या उत्पन्न हुने गरेको बताइन्छ ।

४. पेशाले इन्जिनियर भए पनि डा. पोखरेलमा व्यावसायिक गुण नरहेको बताइन्छ । ५० वर्षअघि प्यूठानमा जन्मिएका पोखरेलले जर्मनीको फ्लेन्सवर्ग विश्वविद्यालयबाट ग्रामीण ऊर्जा, प्रविधि र सीप विस्तारमा स्नातकोत्तर र विद्यावारिधिसमेत गरेका भए पनि एक जना व्यावसायिक व्यक्तिमा हुनुपर्ने गुणको अभाव रहेको बताइन्छ ।

५.आफूले गरेका राम्रा कामको प्रचार होस् भन्ने चाहना जोकोहीले राख्छन् र त्यो स्वाभाविक पनि हो । तर, डा. पोखरेलमा भने बढी प्रचारमुखी स्वभाव रहेको छ । आफूले गरेका कामलाई धेरै नै प्रचार गर्नुपर्ने स्वभाव भएका हुँदा उनलाई निकटस्थहरु प्रचारमुखी भएको आरोप लगाउने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस्