प्रेस काउन्सिलका पदाधिकारीलाई फेसबुक मार्फत धम्की दिने दुई प्रहरीको फन्दामा


काठमाडौ, १३ असार । सामाजिक सन्जालमार्फत प्रेस काउन्सिल नेपालका पदाधिकारीलाई ज्यान मार्नेसम्मको धम्की दिने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय अपराध महाशाखाले इलाम घर भई ललितपुरको बागडोल बस्ने ५० वर्षका विनोद गौतम र नवलपरासी सुनवल नगरपालिकाका ३६ वर्षका विष्णु ढकाललाई पक्राउ गरेको हो ।
उनीहरुले न्यूज २४ टेलिभिजनबाट प्रशारण हुने ‘सीधा कुरा जनतासँगको विषयमा परेको उजुरीको छानबिनको घटनालाई आधार बनाई नेपाल प्रेस काउन्सिलका पदाधिकारीलाई सामाजिक सञ्जालमा आपत्तिजनक, अमर्यादित शब्दहरु प्रयोग गरी पोस्ट र कमेन्ट गरेको पाइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरुले काउन्सिलका पदाधिकारीहरुको व्यक्तिगत जीवन तथा मान प्रतिष्ठासमेतमा आघात पुर्‍याउने र ज्यान मार्ने धम्की दिएर सामाजिक सञ्जालमा स्टाटसहरु लेखेका थिए ।

मंगलबार प्रहरीले गौतमलाई काठमाडौंको टेकुबाट र ढकाललाई नवलपरासीको सुनवलबाट पक्राउ गरिएको महाशाखाका प्रहरी उपरीक्षक नरेन्द्र उप्रेतीले बताए ।

 

प्रतिक्रिया दिनुहोस्