प्रेस सेन्टरको अध्यक्षमा ५ प्रतिस्पर्धी, १९ पदाधिकारीमा चार दर्जन आकांक्षी


१३ असोज । नेकपा माओवादी–केन्द्र निकट पत्रकारहरुको संगठन प्रेस सेन्टर नेपालको एकताको पहिलो महाधिवेशनमा ५ जना पत्रकारहरु अध्यक्षमा आकांक्षी देखिएका छन् । आकांक्षीहरुमा नेपाल पत्रकार महासंघका पूर्वमहासचिव ओम शर्मा, सेन्टरका सचिवालय सदस्यहरु बलराम थापा, विष्णु सापकोटा ‘जुगल’, सचिन रोका र दीपक मैनाली रहेका छन् ।

महासचिवमा भने रोल्पाबाट पत्रकारिताको पृष्ठभूमि बनाउँदै उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ को प्रेस संयोजक बनेका मनोज घर्तीमगरका साथै सन्तोष पौडेल, राजु लामासहित करिब आधा दर्जनले दाबी गरेका छन् । महासंघको केन्द्रीय सदस्यसमेत रहेका लामा एकता प्रक्रियाबाट आएका हुन् । प्रथम महाधिवेशनको उद्घाटन राष्ट्रिय सभागृहमा आयोजित समारोहमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केहीबेर अघि गरेका छन् ।

पहिलो राष्ट्रिय भेलाको दस वर्षपछि प्रथम पटक महाधिवेशन हुन लागिरहेकाले पनि आकांक्षीहरु निकै बढी देखिएका हुन् । यो सम्वेदनशीलतालाई बुझेर पार्टीको हस्तक्षेपबिनै चुनावी प्रतिस्पर्धाबाट नेतृत्व चयन गर्नुपर्ने आवाज उठिरहेको एक पदाधिकारीले जानकारी दिए । पार्टीले नै पटक–पटकको प्रयासमा महाधिवेशन गर्न नसकिरहेका बेला एक दशकमा खोलो फर्काउनुपर्छ भन्दै अधिकांश प्रतिनिधिले चुनावी प्रतिस्पर्धामा जोड दिन थालेपछि नेतृत्व निकै अप्ठ्यारोमा पर्दै गएको बताइन्छ ।

पार्टी प्रवक्ता एवम् प्रचार विभागकी प्रमुख पम्फा भुसाल भने सर्वसम्मत नेतृत्व चयनको पक्षमा रहेकी बुझिएको छ । एमाओवादी र नेकपा माओवादीबीचको एकीकरणको भाव झल्काउनेगरी सर्वसम्मत रुपमै नेतृत्व चयन गर्नुपर्ने भन्दै उनले अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्ड र नेता रामबहादुर थापा ‘बादल’ लगायतसँग परामर्श गरिरहेकी बताइएको छ ।

चार वटा नेतृत्व फेरिने बेला पुरानो पुस्ताले नेतृत्व जाम गरेकै कारण नेतृत्व विकासमा असर परिरहेको र राजनीतिबाटै पलायन हुनुपर्ने स्थिति आउन लागेको विषयले महाधिवेशनमा निकै चर्चा पाएको छ । पार्टी शान्ति प्रक्रियामा आएपछि २०६३ सालमा चुनिएकै पदाधिकारीहरुको अझै हालिमुहाली रहेकाले नयाँ पुस्ता उनीहरुलाई बिदा गर्नुपर्ने पक्षमा रहेको बुझिएको छ । त्यसो हुँदा तत्कालीन उपाध्यक्ष तथा हालका अध्यक्ष गोविन्द आचार्य, तत्कालीन महासचिव ओम शर्मा, तत्कालीन सचिव सचिन रोकादेखि कोषाध्यक्ष खिलबहादुर भण्डारीसम्मले बिदा लिनुपर्ने हुन्छ ।

पार्टीमा पटक–पटकको टुटफुटका कारण तत्कालीन अध्यक्ष महेश्वर दाहाल वैद्य नेतृत्वको माओवादी हुँदै हाल एकीकरणपछि पोलिटब्यूरो सदस्य छन् भने वर्तमान अध्यक्ष आचार्यले पनि पोलिटब्यूरोको हैसियत बनाउनुका साथै प्रधानमन्त्रीका प्रेस सल्लाहकारसमेत रहेका छन् । शर्मा पनि यसअघि नै माओवादी नेतृत्वको सरकारमा प्रधानमन्त्रीका प्रेस सल्लाहकार थिए । थापा, सापकोटा, मैनाली र रोकाले भने अहिलेसम्म ठूलो लाभ नलिएकैले उनीहरु मध्येबाटै अध्यक्ष चयन हँुदा नेतृत्व नयाँ पुस्तामा जानसक्ने धेरै प्रतिनिधिको आवाज रहेको बताइन्छ ।

तर, प्रतिनिधिहरुको भावना विपरीत अन्तिममा पार्टीको हस्तक्षेपमा अध्यक्षसहितको पदाधिकारीमा एकताको भाव झल्किनेगरी भागबण्डाकै सम्भावना रहेको बताइन्छ । त्यसो हुँदा शर्मा अध्यक्ष चुनिने सम्भावना छ भने वरिष्ठ उपाध्यक्ष र महासचिव दुवै एकता प्रक्रियामा आएकालाई दिने कि एक/एक बाँड्ने भन्ने विषयमा बहस जारी छ । एकता प्रक्रियामा आएकाहरुमध्ये धेरैको व्यक्तित्व पदाधिकारीका लागि उपयुक्त नदेखिए पनि ‘सम्मानजनक’ बाँडफाँटका लागि सहमतिमा पुग्नुपर्ने स्थिति आउनसक्ने पनि धेरैले आँकलन गरेका छन् ।

प्रेस सेन्टरले महाधिवेशनबाट गैरभौगोलिक क्षेत्र राष्ट्रिय प्रतिष्ठान र भौगोलिक क्षेत्रतर्फको ७ प्रदेशसहित ८ वटा प्रदेशबाट ९३ सदस्यीय केन्द्रीय कमिटी चुन्ने तयारी गरेको छ । त्यसअनुसार प्रतिष्ठानसहित ८ वटै प्रदेशको सम्मेलन सम्पन्न गरी प्रदेश अध्यक्षलाई केन्द्रीय सचिवालय सदस्यको हैसियत दिइएको छ ।

को–को छन् उपाध्यक्ष र सचिवका दाबेदार ?

महाधिवेशनबाट १ अध्यक्ष, १ वरिष्ठ उपाध्यक्ष, ३ खुल्ला उपाध्यक्ष, २ समावेशी उपाध्यक्ष, १ महासचिव, १ उपमहासचिव खुल्ला सचिव ५, महिला सचिव १, आदिवासी जनजाति १, मधेसी १, दलित १ र कोषाध्यक्ष १ रहेको पदाधिकारी चुनिनेछन् । समावेशी उपाध्यक्षमा लक्ष्मी पुन, सुरेश यादवले दुई दिनअघि नै सामाजिक सञ्जालमार्फत उम्मेद्वारी घोषणा गरेर मत मागिरहेका छन् । सचिवहरुमा रोशन खड्का, बविन शर्मा, दयानिधि भट्टले दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्