फजुल खर्चमा ओली सरकारको लगामः ५ महिनामै २८ करोड राज्यको ढुकुटीमा बचत


काठमाडौं, ११ साउन । प्रधानमन्त्री केपी ओली नेतृत्वको कम्युनिष्ट सरकारले फजुल खर्चमा लगाम लगाउँदै ५ महिनामै अघिल्लो सरकारको तुलनामा २८ करोड रुपैयाँ राज्यको ढुकुटीमा बचत गरेको छ ।
प्रधानमन्त्रीमा नियुक्ति भएलगत्तै ओलीले जनतामा सुशासनको अनुभूति दिलाउने घोषणासहित मितव्ययिताको सिद्दान्त कडाईका साथ लागू गर्ने उद्घोष गरेका थिए । अनावश्यक विदेश भ्रमणमा कडाई, आर्थिक सहायता, चन्दा र पुरस्कारमा वितरण हुने फजुल खर्चमा मितव्ययिताको सिद्दान्त अपनाए लगत्तै तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारको तुलनामा ओली नेतृत्वको सरकार त्यति ठूलो रकम राज्यको ढुकुटीमा बचत गर्न सफल भएको हो ।
मितव्ययिताको सिद्दान्त यसैगरी लागू भए आर्थिक वर्षमै १ अर्बभन्दा बढि रकम फजुल खर्च हुनबाट राज्यको ढुकुटीमा बचत हुने अर्थमन्त्रालयका एक उच्च अधिकारीले पहिलो न्यूजलाई बताए ।
विदेश भ्रमणमा १ करोड ६५ लाख बचत
प्रधानमन्त्रीमा नियुक्ति भएलगत्तै ओलीले प्रधानमन्त्री कार्यालयको स्वीकृति बेगर विदेश भ्रमणमा जान नपाउने निर्णयलाई कडाईका साथ लागू गरेका थिए । कपितय मन्त्रालयका कर्मचारीहरुको अनावश्यक भ्रमण रोकिएकोसमेत थियो । यी सबै कारणले गत फागुनदेखि असारसम्म विदेश भ्रमणमा जम्मा ३५ लाख मात्र खर्च भएको प्रधानमन्त्री कार्यालयका प्रवक्ता बिनोदबहादुर कुँवरले पहिलो न्यूजलाई बताए । जबकी ०७३÷७४ को आर्थिक वर्षको फागुनदेखि असारसम्म अर्थात् तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको कार्यकालमा सोही अवधिमा विदेश भ्रमण शीर्षकमा २ करोड रुपैयाँ खर्च भएको अर्थ मन्त्रालयको तथ्यांक छ ।
आर्थिक सहायता र चन्दामा २६ करोड जोगियो
सरकारका तर्फबाट गृहमन्त्रालयले उपचार खर्चका नाममा आर्थिक सहायता प्रदान गर्छ । त्यस्तै, चन्दा र पुरस्कार खर्च पनि सोही मन्त्रालयबाट बितरण हुने गर्छ । यी सबै शीर्षकमा हुने खर्च राजनीतिक पहुँचका आधारमा ठूला नेतालेसमेत लिइरहेकोमा व्यापक आलोचना हुँदै आएको छ । तर, वतर्मान सरकारले ५÷६ महिनाकै अवधिमा यी शीर्षकहरुमा राज्यको ढुकुटीबाट हुँदै आएको फजुल रकम वितरणमा व्यापक लगाम लगाउँदै २६ करोड रुपैयाँ बचत गरेको छ । प्रधानमन्त्री कार्यालयका अनुसार साउन २०७४ देखि पौषसम्म तत्कालीन देउवा नेतृत्वको सरकारले २१ सय ८९ जनालाई करिब २९ करोड अर्थात २८ करोड ९८ लाख २७ हजार रुपैयाँ वितरण गरेको थियो । जबकी गत माघ÷फागुन अर्थात ओली नेतृत्वको सरकार बनेयता गृह मन्त्रालयलले जम्मा २ करोड ८२ लाख रुपैयाँ मात्र खर्च गरेको छ । सोही रकमबाट आन्दोलनका ११ जना मृतकका परिवारलाई १० लाखका दरले १ करोड १० लाख रुपैयाँ वितरण गरिएको गृहमन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्