फस्टाउँदो ‘ट्युसन’ क्रेज, कतै शिक्षक कतै विद्यार्थी मार्कामा


३१ जेठ । पछिल्लो समय राजधानी मात्र होइन मोफसलमा पनि ‘ट्युसन क्रेज’ फस्टाएको छ । विद्यालय तहदेखि विश्वविद्यालय तहमा अध्ययन गर्ने विद्यार्थीमा सम्म ‘ट्युसन क्रेज’ बढेको देखिन्छ । वर्षभरी अध्ययन नगर्ने र परीक्षाको नजिक–नजिक ‘ट्युसन सेण्टर’ चाहार्दै कुद्नेहरुको लर्को त झन् खपिनसक्नुको हुन्छ । विद्यार्थीको भविष्यसँग जोडिएको अध्ययनलाई भन्दा पनि आफ्नो व्यापारलाई केन्द्रित गरेर ‘ट्युसन सेण्टर’ खोल्नेहरुको भीड पनि त्यस्तै छ ।

विद्यार्थीहरुको पछिल्लो तथ्याङ्क हेर्ने हो भने अधिकांश विद्यार्थीहरुले गणित, अंग्रेजी र विज्ञान विषयको ‘ट्युसन’ पढ्ने गरेको देखिन्छ । व्यवस्थापन विषयको अध्ययन गरिरहेका विद्यार्थीहरुले मुख्य गरेर ’एकाउन्टेन्सी’ अर्थात लेखा र ’बिजनेश म्याथम्याटिक्स’ विषयको ट्युसन पढ़ने गरेको पाइन्छ ।

पछिल्लो समय राजधानी मात्र होइन मोफसलमा पनि ‘ट्युसन क्रेज’ फस्टाएको छ ।

विज्ञान विषय अध्ययन गर्नेहरुले ‘बेसिक म्याथम्याटिक्स’, ’फिजिक्स’ र ’केमेष्ट्री’ विषयको ‘ट्युसन’ पढ्ने गरेको पाइन्छ । अन्य विषय पढिरहेका ‘प्लस टु’का अधिकांस विद्यार्थीहरुले अंग्रेजी विषयको ट्युसन पढ्ने गरेको देखिन्छ । स्नातक र स्नातकोत्तर तहमा पनि विद्यार्थीहरुले फरक–फरक विषयका ‘ट्युसन’ कक्षाहरु लिने गरेका छन् ।

ट्युसन सेन्टरका आ–आफ्नै दर

मुख्यगरेर काठमाडौ. उपत्यकामा कुन संकायको कुन विषय पढ्न कति पैसा लाग्छ ? भनेर खोजियो भने त्यसको स्पष्ट जवाफ नआउँन सक्छ । कारण उपत्यकामा सयौंको संख्यामा रहेका ‘ट्युसन सेन्टर’हरुको आ–आफ्नै दर छ ।

काठमाडौं उपत्यकामा एसएलसीका विद्यार्थीहरुलाई पढाइने गणित, विज्ञान वा अंग्रेजी विषयको ट्युसन शुल्क प्रति विषय मासिक पाँच सय रुपैयाँदेखि दुई हजारसम्म र कोर्ष पूरा गरेको एक हजार रुपैयाँदेखि तीन हजार रुपैयाँसम्म लिने गरेको देखिएको छ । यस्तै प्लस टुको ट्युसन शुल्क पनि कोर्ष पूरा गरेको एक हजार रुपैयाँदेखि २५ सय रुपैयाँसम्म लिने गरेको पाइन्छ ।

स्नातक तहमा बिषय हेरेर कोर्ष पूरा गरेको २ हजारदेखि ४५ सयसम्म लिने गरेको पाइन्छ ।

यस्तै स्नातक तहमा बिषय हेरेर कोर्ष पूरा गरेको २ हजारदेखि ४५ सयसम्म लिने गरेको पाइन्छ । स्नातकोत्तर तहमा पनि स्नातक तहकै दर छ । काठमाडौंमा सञ्चालिन विभिन्न ‘ट्युसन सेन्टर’ले विद्यार्थीको संख्या हेरेर शुल्क लिने गरेका छन् । यस्ता ट्युसन सेन्टरहरुमा समूह बनाएर जाने विद्यार्थीहरुलाई विद्यार्थीको संख्या हेरेर छुटसमेत दिइने गरेको छ । विषय वा पढाइ हुने समय हेरेर पनि विद्यार्थीहरुबाट उठाइने शुल्क फरक पर्ने गरेको छ ।

कतै शिक्षक पीडित, कतै ट्युसन सेन्टर पीडित

काठमाडौंको ’ट्युसन’ बजारमा कतै पढाउने शिक्षक पीडित छन् त कतै ट्युसन सेन्टर । कतिपय ट्युसन सेन्टरहरुले विद्यार्थीबाट उठेको रकम मध्ये निकै कम प्रतिशत मात्र शुल्क शिक्षकलाई दिने, समयमा पारिश्रमिक नदिने, विद्यार्थीहरुले बुझाएको शुल्कको हिसाव–किताव सहि तरिकाले नगरी शिक्षकलाई ठग्नेजस्ता काम गरिरहेका छन् । आफ्नो नाम नबताउने सर्तमा नयाँ बानेश्वरमा एक ट्युसन सेन्टरमा अध्यापन गराइरहेका शिक्षकले पहिलो न्युजसँग भने, ’कहिले विद्यार्थी नभएर समस्या हुन्छ कहिले विद्यार्थी हुँदा पनि ट्युसन सेन्टरले हिसाव गोलमाल गरिदिन्छ । आफ्नो पारिश्रमिक सहि रुपमा पाउँन ट्युसन सेन्टरहरुमा निकै गाह्रो छ । ’

काठमाडौंमा कतिपय ट्युसन सेन्टरहरु भने आफैं पीडित बन्ने गरेका छन् । चलेका शिक्षकले विद्यार्थीले तिरेको अधिकांश शुल्क मध्येको निकै ठुलो हिस्सा लैजाने हुँदा कतिपय ट्युसन सेन्टरहरुलाई विद्यार्थी संख्या राम्रो हुँदा पनि टिक्न धौ–धौ पर्ने गरेको छ । काठमाडौंमा ट्युसन सेन्टर र ठाउँ हेरेर विद्यार्थीले तिरेको रकम मध्ये ५० प्रतिशत देखि ९० प्रतिशतसम्म शिक्षकले पाउँने गरेका छन् ।

यद्यपि शिक्षकहरुलाई औसत ट्युसन सेन्टरहरुले विद्यार्थीबाट उठेको रकमको ५० प्रतिशतदेखि ६० प्रतिशतसम्म तिर्ने गरेका छन् । मीनभवनमा सञ्चालित एक ट्युसन सेन्टरका सञ्चालक भन्छन्, ’चलेको शिक्षक हो भने त विद्यार्थीले तिरेको कुल रकमको ९० देखि ९५ प्रतिशतसम्म शिकलाई दिनुपर्छ । कहिलेकाहीं त निकै राम्रो संख्यामा विद्यार्थी हुँदा पनि निकै गाह्रो हुने गर्छ ।’

नेपाल सरकारको नियम अनुसार ‘प्लस टु’ अध्यापन गराउन कम्तीमा पनि शिक्षकले स्नातकोत्तर गरेको हुनुपर्छ । स्नातक वा स्नातकोत्तरलाई अध्यापन गराउन पनि शिक्षकले स्नातकोत्तर उतिर्ण गरेको हुनुपर्छ ।

योग्यता नपुगेकाहरुले अध्यापनकर्ममा

नेपाल सरकारको नियम अनुसार ‘प्लस टु’ अध्यापन गराउन कम्तीमा पनि शिक्षकले स्नातकोत्तर गरेको हुनुपर्छ । स्नातक वा स्नातकोत्तरलाई अध्यापन गराउन पनि शिक्षकले स्नातकोत्तर उतिर्ण गरेको हुनुपर्छ । तर काठमाडौंमा कतिपय ट्युसन सेन्टरहरुमा स्नातक अनुर्तीण भएर बसेकाहरुले समेत प्लस टुमा अध्यापन गराउने गरेका छन् ।

काठमाडौं कलङ्कीमा सञ्चालित एक ट्युसन सेन्टरका सञ्चालक भन्छन्, ’विद्यार्थीहरुलाई पढाएको बुझियो वा बुझिएन भन्ने मात्र मतलव हुन्छ । कोही कुनै विषयमा निकै राम्रो र कुनै विषयमा अनुर्तीण भएर स्नातक पनि उर्तीण नगरी प्लस टुलाई ट्युसन पढाउनेहरु समेत छन् । ’ उनका अनुसार यस्ता शिक्षकहरुमा कतिपय नाम कहलिएका शिक्षकहरु पनि छन् ।

नियमन नहुँदा शिक्षाका नाममा व्यापार

उपत्यकामा ट्युसन सेन्टरहरु उल्लेख्य संख्यामा भए पनि नियमन नहुँदा शिक्षाका नाममा व्यापार फस्टाएको छ । सबैजसो ट्युसन सेन्टहरु नाफामूखी भएका कारणले कतिपय विद्यार्थीको कोर्ष नै पूरा नगर्ने, योग्यता नपुगेका शिक्षक राख्ने, विद्यार्थीले नबुझ्दा पनि जवरजस्त उही शिक्षकले अध्यापन गराउने जस्ता समस्या देखिएको छ । यसले गर्दा विद्यार्थीहरु मर्कामा पर्ने गरेका छन् ।

अझ कतिपय ट्युसन सेन्टरहरुले त कारोबार हुँदाहुँदै पनि कारोबार नभएको भन्दै आय व्यय विवरण नै ‘शून्य’ देखाउने गरेका छन् ।

काठमाडौं, चावाहिलमा हाल स्नातक तहको ट्युसन पढिरहेकी एक छात्राले पहिलोन्युजसँग कुराकानी गर्दै भनिन् ’सुरुमै सबै पैसा लिइयो । दिएँ । पछि पढाएको बुझिएन भन्दा पनि विस्तारै बुझिन्छ भनेर जवरजस्त उही शिक्षकलाई पढाउन लगाए ।’ पूरै शुल्क पहिला नै माग्ने र पछि पढाइ राम्रो नहुँदा अधिकांस विद्यार्थीहरु मर्कामा पर्ने गरेको उनको तर्क छ ।

लाखौँको व्यापार तर करछली

काठमाडौंमा सञ्चालित विभिन्न ट्युसन सेन्टरहरुमा लाखौँको व्यापार हुने भए पनि सोहि अनुरुप राज्यलाई बुझाउनुपर्ने कर भने ट्युसन सेन्टरहरुले नबुझाएको फेला परेको छ । अझ कतिपय ट्युसन सेन्टरहरुले त कारोबार हुँदाहुँदै पनि कारोबार नभएको भन्दै आय व्यय विवरण नै ‘शून्य’ देखाउने गरेका छन् ।

सामान्य रसिद बनाएर विद्यार्थीहरुलाई दिने र त्यसको हिसावकिताव सहि रुपमा नराख्दा ट्युसन सेन्टरहरुले राम्रो कारोबार गरे पनि करछली गर्ने गरेका छन् । काठमाडौंका अधिकांश करदाता सेवा कार्यालयको तथ्यांक हेर्ने हो भनेपनि ट्युसन सेन्टरबाट आएको कर बराबरको रकम निकै कम छ ।

प्रतिक्रिया दिनुहोस्