फोरम लोकतान्त्रिकमा चरम विवाद, गच्छदारलाई एक हप्ता समय


२० भदौ । कांग्रेस–माओवादी गठबन्धनको सरकारमा जाने–नजाने विषयलाई लिएर मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) मा चरम विवाद सुरु भएको छ ।

व्यवस्थापिका–संसदमा १४ जना सांसद रहेको सो पार्टीका अध्यक्ष विजयकुमार गच्छदार सरकारमा आफूले नेतृत्व गर्न पाए मात्र जाने अडानमा छन् । तर, बहुमत सांसद भने अध्यक्षको सम्भावना नभए अन्य सांसदलाई मन्त्री बनाएर पठाउनुपर्ने अडानमा रहेका छन् ।

‘केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सम्मानजनक ढंगले सरकारमा सहभागी हुने निर्णय गरेको छ,’ फोरम लोकतान्त्रिकका नेता जीतेन्द्रनारायण देवले पहिलो न्युजसँग भने, ‘अहिले केही साथीहरु सम्मानजनक सहभागिता भनेको उपप्रधान वा मालदार मन्त्रालय मात्रै हो भन्नेमा हुनुहुन्छ ।

विवाद त्यही विषयमा भएको हो ।’ उनले अहिलेको गठबन्धन फोरम लोकतान्त्रिकले निर्माण गरेको नभई कांग्रेस–माओवादीले गरेको भएकाले केही एक वा दुई मन्त्रालयसहित सरकारमा सहभागी हुँदा पनि सम्मानजनक सहभागिता हुने बताए । ‘कांग्रेस–माओवादीको गठबन्धन बन्दा हामी केपी ओली नेतृत्वको सरकारमा थियौँ,’ उनले भने, ‘अन्तिम समयमा मात्र हामी ओली नेतृत्वको सरकार छाडेर आएका हौँ । त्यसैले अहिले हामीले सम्मानजनक भन्दै मालदार मन्त्रालय माग्न मिल्दैन ।’

उनले सरकारमा बसेर राजनीतिक भूमिका खेल्न जतिसक्दो छिटो सरकारमा सहभागी हुनुपर्ने दाबी गरे । ‘अहिले अध्यक्षले आलटाल गर्नुभएको छ,’ उनले भने ‘उहाँले किन यसो गर्नुभएको हो मैले बुझेको छुइनँ । हामी मन्त्री भएर तलब खान वा कर्मचारी बन्न जाने होइन, राजनीतिक भूमिका खेल्न जाने हो । तर, अध्यक्षले निर्णय नगर्दा समस्या उत्पन्न भएको छ ।’

एक हप्ता कुर्छौं

नेता देवले प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जानुअघि पार्टी अध्यक्ष गच्छदारले निर्णय नलिए चुप लागेर नबस्ने चेतावनी दिए । ‘हामी अब बढीमा एक हप्ता कुर्छौं,’ उनले भने ‘त्यो भनेको लामो समय हो । प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जानुअघि अध्यक्षले निर्णय नलिए हामी नयाँ ढंगले सोच्न बाध्य हुनेछौँ ।’

उनले तत्कालका लागि पार्टी अध्यक्षले सरकारमा सहभागी हुने सम्भावना न्यून रहेको भन्दै पार्टीलाई खल्तीको नठानी निर्णय गर्न पनि सुझाव दिए । ‘पार्टी अध्यक्षको खल्तीको वस्तु होइन,’ उनले भने ‘उहाँले आलटाल गर्नुभयो भने केन्द्रीय कमिटीले निर्णय गरेर अघि बढ्छ ।’

प्रतिक्रिया दिनुहोस्