फोहोर ठाउँमा मासु काट्ने ललितपुरका चार पशु बधशालाको मासु बिक्रीमा प्रतिबन्ध


काठमाडौ, ५ असोज । पशु बधशालाको मासु बिक्री वितरणमा प्रतिबन्ध लगाएको छ । सरकारले ललितपुर महानगरपालिकामा सञ्चालिन चारवटा पशु बधशालाको मासु बिक्री वितरणमा रोक लगाएको हो ।
स्थलगत अनुगमन गर्दा न्यूनतम मापदण्ड पूरा नगरेको पाइएपछि सुधार नगर्दासम्मका लागि मासु बिक्रि वितरणमा प्रतिबन्ध लगाइएको हो ।

कृषि राज्यमन्त्री रामकुमारी चौधरीको नेतृत्वमा गएको अनुगमन टोलीले बिहान ४ बजेदेखि ललितपुर, लगनखेलमा सञ्चालिन ५ वटा बधशालाको अनुगमन गरेको थियो ।

मुकेश खड्गीले सञ्चालन गरेको आर के मिट सप, सरोज शाहीले सञ्चालन गरेको ए वान मिट सप तथा देव खड्गी र सुनिल खड्गीले सञ्चालन गरेको पशु बधशालाको मासु बिक्री वितरणमा प्रतिवन्ध लगाइएको पशु सेवा विभागका महानिर्देशक डा. विमल कुमार निर्मलले जानकारी दिए ।

देव र सुनिलको बधशाला दर्ता पनि नभइ सञ्चालन भएको पाइएको छ । उक्त बधशालाहरुले सरसफाइमा ध्यान नै नदिएको, राँगा भनेर भैँसी काट्ने गरेको, अत्याधिक फोहोर ठाउँमा मासु काट्ने गरेको, यसअघि अनुगमन गरी सुधार गर्न निर्देशन दिँदा पनि पालना नगरेको, तालिम दिएर पनि त्यो अनुसार नगरेको पाइएपछि मासु बिक्री वितरणमा रोक लगाइएको निर्मलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्