बँधिया भाले


दिलीप शाह

दुवै तर्फ पहाड छ । पहाडमा घना जङ्गल छ । पहाडको बीचबाट सानो खोला कलकल बगेको छ । खोंच त्यसमाथि जेठको महिना भएकोले हप्प गर्मी छ । पवनले आफ्नो धर्म छाडेको छैन, मन्दमन्द लयमा बहिरहेको छ ।

खोलाको बगरमा बडेमानका ढुङ्गाहरु छन् । ढुङ्गामाथि आठ जना केटा र चार जना केटी बसेका छन् । उमेर त्यस्तै बीसको आसपास होला । थेप्चो, नेप्टो, लाम्चो, खिरिलो नाक नियाल्दा उनीहरुले चार जात छत्तीस वर्णको प्रतिनिधित्व गरेझैँ लाग्छ । अर्को अर्थमा समावेशी समूह देखिन्छ । चञ्चले उमेरमा पनि शान्त देखिन्छन् । केही हराएझैँ, बिर्सिएझैँ लाग्छ उनीहरुको चेहरा । लामो समयदेखि सम्वाद गरेका छैनन् ।

सबैले कम्ब्याट ड्रेस पहिरेका छन् । महिनौ सिकारमा हिँडेको सिकारीको जस्तो ड्रेस चिथ्राचिथ्रा परेको छ । ठाउँठाउँमा मयल र रगत कट्कटिएको छ । खुट्टामा दस ठाउँमा सिलाइएका गोल्डस्टार जुत्ता छन् । हरेकको पिठ्युँमा रुकस्याक झोला छ । चाउचाउ, बिस्कुटजस्ता बन्दोबस्तीका सामान हुनुपर्छ । आफू सुरक्षित रहन र मौका परे शत्रुलाई सफाया गर्न हतियार पनि हुन सक्छन् । सबैले टाउकोमा गाढा रातो रुमाल बेरेका छन् । ध्यान दिएर शरीरको संरचना नहेर्ने हो भने लिङ्ग खुट््याउन कठिन पर्छ ।

त्यस्तो निर्जन, अनकन्टार, मानव बस्तीको नामोनिसान नभएको स्थानमा पनि उनीहरुका आँखा एकदमै सतर्क छन् । एकदमै ‘एलर्ट’ र चौकन्ना । चेहरा सपाट र क्रूर छ । लाग्छ, उनीहरुभित्र मानव आत्मा होइन कि दानव आत्माले बास गरेको छ । सकारात्मकभन्दा नकारात्मक, निर्माणभन्दा ध्वंशका किटाणुहरुको प्रवेश गराइएको आभास हुन्छ । गराइएको किनभने उनीहरु मलिला खेत लाग्छन्, जे रोप्यो त्यही उब्जिने ।

नजिकै खङ्ग्रङ्ग सुकेको बूढो रुख छ । सुकेको रुख भनेपछि हाँगाबिँगा पात हुने प्रश्नै भएन । जरा मरिनसकेकोले होला, रुख भने ठाडै छ । सायद धमिराले खाइसकेको छैन । त्यही रुखको फेदमा मान्छे आकारको जन्तुलाई चार हातखुट्टा टेक्न लगाई दाम्लोले बाँधिएको छ । उसको अगाडि एक मुठो हरियो घाँस छ ।

जन्तु भनिएको मानवको जीउमा बनियान र धोतीमात्र भएकोेले सुतेकै अवस्थामा झ्याइँकुटी पार्दै ल्याइएको अनुमान गर्न सकिन्छ । उसका आँखा निर्जीव र बेजान छन् । परेला चलेका छैनन् । आँखाका गेडी हल्लिएका छैनन् । बलिन्द्रधारा आँसु निकाल्न खोजेको हँुुदो हो । निक्लेकै छैन । सुकेर हो वा अत्यधिक त्रास र भयले हो भन्न सकिन्न । कचेरा भने लागेका छन् । नौनाडी ट्याप्पै सुकेको छ । जिब्रोले चाट्दाचाट्दा ओठ मरुभूमिको जमिनझैँ पट्पटि फुटेका छन् । चिराचिरा परेका छन् ।

यमराजका दूूतहरु अगाडि छन् । मृत्यु अवश्यम्भावी छ । आश्चर्य, घोर आश्चर्य । ऊ खोलातर्फ एक टकले हेर्दै छ । याचनाको भाषामा भन्दै थियो होला, ‘एक घुट्को पानी पिउन पाए …….।’ जिजीविषा यसैलाई भन्छन् होला ।

‘जा, बज्याको मुखमा तुक्र्याइदे ।’ थेप्चे केटो घृणा बान्ता गर्छ ।

आदेश पाएर रोबोटझैँ एक जना केटा उठ्छ र पाइन्ट खोली छुलुछुलु उसको टुप्पीमाथि तुक्र्याइदिन्छ । विषालु पानी उसको गाला हँुदै तप्तप् जीउभरि तप्किन्छ । उसलाई घिसार्दा दर्फरिएको छालामा पर्दा नराम्रोसँग चह¥याउँछ । स्वभावैले उसको मनभित्र रिस, आक्रोश, घृणा र पीडा एकसाथ हँुुडलिएकोले जीउभरि काँडा उम्रिन्छन् । ऊ मन्सेको बोकोझँै थररर काँप्छ । प्याच्च थुक्न खोज्छ । थोपो थुक आउँदैन ।

‘मान्यो । मान्यो । बोकाले मान्यो ।’ सबैजना उत्फुल्ल देखिन्छन् । मादल पाएको भए बजाउँदै छमछम नाच्थे होलान् । तिघ्रा ठटाउँदै अट्टहाँस गर्छन् । आवाजले चराहरु भुर्र उड्छन् र जनावरहरु खुर्र भाग्छन् । विडम्बना ! ऊ दाम्लो चँुुडाल्न सक्दैन ।

र, नेप्टे केटा दापबाट फुत्त खुकुरी निकाल्छ र ढुुङ्गो माथि धार लगाउन थाल्छ ।
‘पर्ख । पर्ख । मैले अपराध गरेको भए तुरुन्तै गिँड । टुक्राटुक्रा पार । ऐया पनि भन्दिनँ । तर …..।’ ऊ घटना बेलिबिस्तार लगाउन थाल्छ । ‘मर्नै परे खुुट्टा नकमाएर मर्ने’ उसको स्थिर चेहरा र दृढ स्वरले भन्छ ।

ं ं ं ं

खोरमा बधियाभाले थियो, चानचुन आठ किलोको ।

– भाले दिने हो ?

– नदिने ।

– किन ?

– माघीलाई पालेको ।

– दुई हजारसम्म दिन सकिन्छ ।

झमक्क साँझ पर्न लागेको थियो । म आँगनमा बसी जाल बुन्दै थिएँ । दुईजना बर्दीवाला भालेको खोजमा आएका थिए । माघीमा सितन होला भनी मैले भाले नदिने मन बनाएको थिएँ ।

‘साँझमा आएका पाहुना हुन् । देऊ न त ।’ साइँलाकी आमाले चुलाबाट संस्कार ओकली ।

‘ससानो भए पनि गर्जो टर्ला । दिए भइहाल्यो नि ।’ ठूली छोरीले पनि सहि थापी ।
मलाई पनि दुई हजारले लोभ्याइहाल्यो । बास बसेको कुखुरालाई दिएर पठाएँ । पाप त गरेकै हो ।

त्यही रातमा विभत्स घटना घट्यो । रातको बाह्र बजेको हुँदो हो । गाउँमा कहिल्यै नसुनेको आवाज सुनिन लाग्यो ।

– मार…..मार । मार… ।

– सालेलाई ठोक् । भाग्न नपाओस् ।

– तेरो बाजे जङ्गलतिर भाग्न लाग्यो ।

– पटट……ट ।

– ड्याम……ड्याम……ड्याम ।

गोलीको आवाज, मान्छेको चीत्कार र भागदौड झण्डै दुुई घण्टा चल्यो । जहान र केटाकेटीजति रातभरि एकै ठाउँमा डल्लो परिरह्यौं । केटाकेटीले आवाज त के निकाल्न सक्थे, रातभरि पिसाब पनि रोकिरहे । तिर्खा लाग्यो पनि भनेनन् । लोग्नेस्वास्नीले एउटै प्रार्थना ग¥याँ, ‘प्रभु, छिटै उज्यालो देऊ ।’

गाउँलेहरुको पनि हाम्रोभन्दा फरक गति भएन होला । मूर्दाशान्ति छायो गाउँमा । यस्तो लाग्थ्यो, कुकुर पनि डरले दुब्किएर कतै लुकेका छन् । रातभरि भुकेको सुनिएन ।

त्यसबेला उज्यालोपछि मेरो जिन्दगीमा अँध्यारो मात्र हुन्छ भन्ने जानेको भए अँध्यारोकै कामना गर्थें होला । तर, प्राण जान लागेको शरीरमा पुनः सास फर्किएजस्तो गरी आखिरमा उज्यालो भएरै छाड्यो । महिलाहरु घरधन्दामा जुटे । हामी पुरुषजति चियापसलमा जम्मा भयौँ ।

‘स्कुलको चौरमा जम्मा भएका रहेछन् । चौकी उडाउने योजना थियो भन्ने सुनिन्थ्यो । योजना बुन्दाबुन्दै प्रहरीले घेरिहालेछन् ।’ घर्ती कान्छाले चियाको चुस्की लिँदै चिसो बाफ फाल्यो ।

‘बाह्र जना ठहरै भएछन् । लास भने दुइटा मात्र छन् । टाउका भने छैनन् ।’ सन्तेले थप वृत्तान्त सुनायो ।

‘सुराकीलाई छाड्दैनौ कानले सुनेको हँुु ।’ केहीले नारा लगाउँदै खोलातर्फ गएको मैले आफ्नै कानले सुनेको हुँ’, भीमेले थप्थपायो ।

‘जे भयो, नराम्रो भयो ।’ किनकिन मेरो मन वरफ भयो । मैले थप सुन्नै सकिनँ । लुला खुट्टा र भारी मन लिएर सुस्केरा काढ्दै घर फर्केँ ।

सुतिहाल्ने समय त भएको थिएन । साँझको त्यस्तै आठ मात्र बजेको हुँदो हो । दुई गाँस टिपी कुन्टीभित्र गएँ । टुकी निभाएर लम्पसार मात्र परेको थिएँ । साइँलाकी आमा भाँडा मस्काउँदै थिई ।

‘तल ओर्ली सुुङ्गुर ।’ ढोकामा चार जनाले एकैचोटि लात्ती बजारे ।

मेरो मन ढक्क फुल्यो । दिउँसैदेखि मेरो देब्रे आँखा फर्फराइरहेको थियो । कुनै अनिष्टको आशङ्कामा पिरोलिरहेको थिएँ ।

‘आ जे पो पर्ला । नबिराउनू, नडराउनू ।’ मैले आफैँलाई थुमथुम्याएँ र ओर्लिने सुरसार गर्न लागेँ ।

‘को हो ? किन हो ? के हो ?’ साइँलाकी आमालाई मृगीको दौरा परिहाल्यो ।
‘गुहार । गुहार ।’ केटाकेटीहरु चिच्याउन थाले ।

‘छिटो खोल् । होइन भने ……।’ ढोका फुटाउनै परेन । आफँ खुलिहाल्यो ।
‘भाले दिएर अक्षम्य अपराध गरेको भए मैले अपराध गरेकै हो । म अपराध कबुल गर्छु ।’ मैले कपडा लाउन भ्याएकै थिइनँ । लम्पसार परेकै अवस्थामा तल ओर्लेँ र एउटाको खुट्टामा छाँद हालेँ ।

‘यसकी आमालाई टोक्ने । अझ बढ्ता बोल्छ ।’ एउटाले मेरो गर्धनमा दाम्लो छिरायो र पशुलाईझैँ घिसार्न थाल्यो ।

‘तपाईंहरुमध्येकै कोही हुनुहुन्थ्यो कि ? बढ्ता बोलेको भए क्षमा गर्नुहोला ।’

ं ं ं ं ं

‘तँ अपराध कबुल गर्छस् कि …….?’ कमाण्डर हुनुपर्छ । तुच्छ गाली प्रयोग गर्दै शुष्क स्वर निकाल्छ । बयान सुन्नुभन्दा अगाडि नै फैसला गरिसकेको हुनुपथ्र्यो ।

‘जे ग¥यो, त्यही बधियाँभालेले ग¥यो हजुर । मेरो दोष केही छैन ।’ दामु चौधरी आफ्नो भनाइमा अडिग रहन्छ ।

‘भ्यात्त ।’ तुफानको बेगमा कमाण्डर दौडिन्छ र बोकालाई मार हानेझँै खुकुरीले छप्काउँछ ।

धारिलो खुकुरीले मार हान्दा गर्धन छिनिनुपर्ने हो । छिनिँदैन । भ्यात्तको आवाज निक्लिन्छ ।

गर्धन नचुडिए तापनि उसले फुस्रा आँखा लगाइसकेको छ । ती आँखा दुर्वाशा ऋषिका आँखा लाग्छन्, जसबाट क्रोधाग्नी निक्लिरहेको छ । मुखबाट गजगज फिँज निक्लेको छ ।

तर, उसको दाहिने हात भने श्राप दिने मुद्रामा उठेको छ ।

ं ं ं .

प्रतिक्रिया दिनुहोस्