बङ्लादेशका राष्ट्रपतिसँग प्रधानसेनापति क्षत्रीको भेट


२ मङ्सिर । नेपालका प्रधानसेनापति राजेन्द्र क्षत्रीले बङ्लादेशका राष्ट्रपति अब्दुल हमिदसँग शिष्टाचार भेट गरेका छन् ।
बङ्गलादेशको राजधानी ढाकामा बुधबार भएको उक्त भेटमा नेपाल र बङ्लादेशको द्विपक्षीय सम्बन्ध तथा दुई देशका सेनाबीच रहेको घनिष्ट सम्बन्ध र आपसी हितका विविध विषयमा कुराकानी भएको बताइएको छ ।

सो अवसरमा प्रधानसेनापति क्षत्रीले २०७२ साल वैशाखमा नेपालमा गएको भूकम्पको बेलामा बङ्गलादेश सरकारले गरेको सहयोगका लागि आभार व्यक्त गरेका थिए भने राष्ट्रपति हमिदले भूकम्पपछिको पुनःनिर्माणको अवस्थाका विषयमा चासो व्यक्त गरेका थिए ।

भेटघाटका अवसरमा नेपालका कार्यवाहक राजदूत धनबहादुर वली, भ्रमणदलका सदस्य, नेपाली दूतावासका सैनिक सहचारीसमेतको उपस्थिति रहेको जनाइएको छ ।

प्रधान सेनापति क्षत्री बङ्गलादेशका सेना प्रमुख अबु बेलाल मुहम्मद सफिउल हकको निमन्त्रणामा बङ्गलादेश गएका हुन् ।

प्रतिक्रिया दिनुहोस्