बजेटबारे आँखा जुधाएर तर्क गर्न अर्थमन्त्री पौडेलको चुनौती


२४ जेठ । अर्थमन्त्री विष्णु पौडेलले सरकारले आर्थिक वर्ष ०७३/०७४का लागि ल्याएको बजेट महत्वकांक्षी नभई उच्च आकांक्षी भएको दाबी गरेका छन् । युवा संघ नेपालले आयोजना गरेको ‘आर्थिक वर्ष २०७२/७३ को बजेट कार्यान्वयन, संभावना , चुनौती र समाधानका उपाय’ विषय अन्तरक्रियामा बोल्दै उनले यस्तो दाबी गरेका हुन् ।

करिब आधा घण्टा बजेटकै विषयमा केन्द्रित भएर सम्वोधन गरेका पौडेलले बजेटको विरोध गर्नेहरुलाई आँखा जुझाएर तर्क गर्न चुनौती दिए । ‘बजेटका बारेमा जुन ढंगको आलोचना भैरहेको छ, म आज सञ्चारकर्मी र क्यामरातिर फर्केर बजेटको विरोध गर्नेहरुलाई भन्न चाहन्छु, तपाईँहरु अझै धेरै बजेटका बारेमा खोजिखोजी विरोध, तर्क र आलोचान गर्नुहोस्, म बसेर तर्क गर्न तयार छु,’ अर्थमन्त्री पौडेलले भने, ‘म चुनौतीसँग भाग्ने व्यक्ति होइन, चुनौतीसँग भाग्ने हो भने ओछ्यान र सिरकभित्र पनि त्यसले पछ्याइरहेको हुन्छ, खुलारुपमा चुनौतीको सामना गरेर अघि बढ्न तयार छु ।’

उनले पहिलो सगरमाथा आरोही पासाङ ल्हामुले पनि निकै चुनौती देखेर नै सगरमाथाको आरोहण गरेको स्मरण गर्दै भने–‘उनले चुनौतीको सामना गरेर नै सगरमाथा चढिन् र अहिलेसम्म पनि उनले प्रथम सगरमाथा आरोही महिलाको सम्मान पाएकी छिन् ।’

अर्थमन्त्री पौडेलले बजेट कार्यान्वयनका लागि ल्याएको भन्दै बजेट कार्यान्वयन गरेरै छाड्ने दाबी गरे । उनले कसैले विरोध गर्दैमा बजेट कार्यान्वयनमा अवरोध नहुने ठोकुवा पनि गरे । ‘म आखाँमा आखाँ जुधाएर भन्न चाहन्छु,’ उनले भने, ‘यो बजेट कार्यान्वयन हुन्छ ।’

महत र देउवालाई व्यंग्य

अर्थमन्त्री पौडेलले कांग्रेस सभापति शेरबहादुर देउवा र पूर्वअर्थमन्त्री डा. रामशरण महतलाई व्यंग्य गरे । ‘कांग्रेसका एक जना ठूलै नेताले कांग्रेसले कमाएको एमालेले बाँड्यो भन्नु भएछ, तपाईँहरुले पनि सुन्नु भयो होला,’ उनले देउवाप्रति लक्षित गर्दै भने, ‘बा–आमालाई पठाएको पैसा, राष्ट्र सेवक कर्मचारीलाई तलव बढाएको पैसा, स्थानीयस्तरको विकासमा पठाएको पैसा बाँडेको हो भनेर उहाँले मसँग आँखा जुधाएर भन्न सक्नुहुन्छ ?’

पौडेलले जनतालाई सिंहदरवार टुलुटुलु हरेर बस्ने नभई आफै सक्षम बन्न सक्ने योजनासहित बजेट ल्याएको दाबी गर्दै गणतन्त्रमा जनतामूखि बजेट ल्याउँदा कसैलाई चित्त नबुझे त्यसमा कुनै आप्पती नहुने बताए ।

पूर्वअर्थमन्त्रीलाई चित्त नदुखाउन सुझाव

आफ्नो कार्यकालमा ल्याएको बजेटको प्रशंसा गर्दै अर्थमन्त्री पौडेलले पूर्वअर्थमन्त्रीलाई पनि केही व्यंग्य गरे । ‘संसद्मा कांग्रेसका एक जना पूर्वअर्थमन्त्रीसँग कुराकानी भएको थियो, उहाँले मसँग निकै नरम भएर भन्नुभयो,’ केही मुस्कुराउँदै पौडेलले भने, ‘विष्णु पौडेलले त्यति राम्रो बजेट ल्याउँदा हुदो रहेछ तैँले किन नल्याएको भनेर पार्टीकै नेताले हपारे, किन त्यति राम्रो बजेट ल्याएको भन्नुभयो ।’

पौडेलले पूर्व अर्थमन्त्रीहरुलाई अप्ठ्यारो पार्न राम्रो बजेट ल्याएको नभई देशलाई सप्ठ्यारो पार्न ल्याएको तर्क गरे । ‘अन्य पार्टीबाट अर्थमन्त्री बन्नु भएका मात्र होइन, मेरै पार्टीबाट समेत अर्थमन्त्री बन्नुभएका पूर्वअर्थमन्त्री कमरेडहरुसँग आग्रह गर्छु, यो बजेट तपाईँहरुलाई अप्ठ्यारो पार्न ल्याएको होइन,’ उनले भने ।

२८ ठूलो कि ३२ ठूलो ?

अर्थमन्त्री पौडेलले केही बुद्धिजीवीहरुले बजेटको आकार ठूलो भयो भनेर आलोचना गरेको स्मरण गराउँदै भने–‘आर्थिक वर्ष ०७२/०७३ को बजेट अघिल्लो वर्षको तुलनामा ३२ दशमलव ५ प्रतिशतले वृद्धि भएको थियो, मैले घोषणा गरेको आर्थिक वर्ष आर्थिक वर्ष २०७३/०७४ को बजेट २८ दशमलव ५ प्रतिशतले मात्र वृद्धि भएको छ,’ पौडलले भने, ‘बजेट सुनिएको आयो भन्ने बुद्धिजीवीहरुलाई प्रश्न गर्न चाहन्छु । २८ ठूलो कि ३२ ?’

कार्यक्रममा पूर्व अर्थमन्त्रीहरु भरतमोहन अधिकारी, सुरेन्द्र पाण्डे, युवा संघ नेपालका अध्यक्ष राजीव पहारी, योजना आयोगका सदस्य डा. सुमित्रा अमात्य, एमाले लेखापरीक्षण आयोग प्रमुख डा. पुष्पराज कडेललगायतले बजेटका बारेमा बोलेका थिए ।

(अर्थमन्त्री पौडेलको पूरा मन्तव्य मंगलबार प्रकाशित गरिनेछ)

प्रतिक्रिया दिनुहोस्