बजेटमा माअाेवादीकाे असन्तुष्टि


काठमाडाैं, २६ वैशाख ।

माओवादी केन्द्रले आगामी आर्थिक वर्षको बजेट तयारीका सन्दर्भमा एमालेले आफूहरूसँगको छलफललाई चासो नदिएको भन्दै असन्तुष्टि जनाएको छ । सरकारमै सहभागी माओवादी मन्त्रीहरूसँग समते पर्याप्त छलफलबिनै सरकारले बजेटको अन्तिम तयारी गरेको भन्दै माओवादीले असन्तुष्टि व्यक्त गरेको हो ।

सोमबार र मंगलबार बसेको माओवादी संसदीय दल बैठकमा सरकारमा सहभागी माओवादी मन्त्रीहरूले बजेटमा छलफलै हुन नसकेको रिपोर्टिङ गरेपछि अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी ओलीसँग यस विषयमा छलफल गर्ने भएका छन् । माओवादी मन्त्रीहरूले आफ्नो मन्त्रालयको काम, आगामी कार्ययोजनालगायत विषयमा रिपोर्टिङ गर्दै प्रधानमन्त्री र अर्थमन्त्रीले बजेटका विषयमा छलफल आवश्यक नठानी धमाधम बजेटको अन्तिम तयारी गरेको पार्टी नेतृत्वसमक्ष गुनासो गरेका थिए ।

सोमबार मन्त्रीहरू रामबहादुर थापा, वर्षमान पुन, शक्ति बस्नेत, चक्रपाणि खनाल र बिना मगर तथा मंगलबार मातृका यादव र गिरिराजमणि पोखरेलले बैठकमा धारणा व्यक्त गरेका थिए । उनीहरूले उठाएका पार्टी एकता, बजेट निर्माणलगायत विषयमा अध्यक्ष दाहालले प्रधानमन्त्रीसँग कुरा गर्ने प्रतिबद्धता जनाएका छन् ।

यसअघि पनि माओवादी मन्त्रीहरूले सचिवको सरुवालगायत विषयमा प्रधानमन्त्रीले छलफल नगरेकोमा गुनासो गरेका थिए । दाहालले आगामी बजेट विगतका वर्षमा जस्तो नभई यसवर्ष ‘राष्ट्रिय संकट’का रूपमा आउन लागेकाले त्यसलाई गम्भीरतापूर्वक लिन आग्रह गरेको बैठकमा सहभागी माओवादी सांसद टेकबहादुर बस्नेतले जानकारी दिए ।

अन्नपुर्णमा खबर छ।

प्रतिक्रिया दिनुहोस्