बजेट कार्यान्वयनको ‘गोठालो’ बन्न युवालाई महासचिव पोखरेलको निर्देशन


असार । नेकपा (एमाले) महासचिव ईश्वर पोखरेलले सरकारले ल्याएको बजेटको कार्यान्वयनका लागि युवाहरुले ‘गोठालो’ झैँ पहरेदारी गर्नुपर्ने बताएका छन् ।
युवा सङ्घ नेपालले राजधानीमा आयोजना गरेको माथिल्लो सगरमाथाका तीन जिल्लाका युवा अगुवा कार्यकर्ताको भेलामा महासचिव पोखरेलले सरकारले बजेट ल्याएपछि त्यो स्वतः कार्यान्वयन हुन्छ भन्ने नसोच्न र त्यसमा हुने ढिलाइ वा अनियमिततामा खबरदारी गर्न निर्देशन दिए ।

उनले सरकारले ल्याएको बजेट सन्तुलित भएको र माथिल्लो सगरमाथाको विकासका लागि पनि प्राथमिकतायुक्त रहेको बताए ।

कार्यक्रममा ओखलढुङ्गा, खोटाङ र सोलुखुम्बुका विभिन्न सांसद, जिल्ला नेता, भ्रातृ सङ्गठनका त्यस क्षेत्रका पदाधिकारी सहभागी रहेको सङ्घका प्रवक्ता प्रभातविक्रम कटवालले जानकारी दिए ।

यसैबीच, ढाडको समस्याका कारण मीनभवनस्थित सु–स्वास्थ्य अस्पतालमा भर्ना भएका एमालेका वैकल्पिक केन्द्रीय सदस्य विशाल भट्टराईको स्वास्थ्यस्थिति बुझ्न शनिबार महासचिव पोखरेल र सूचना तथा सञ्चारमन्त्री शेरधन राई अस्पताल पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्