बन्दका कारण देशभर जनजिवन प्रभावित्: राजधानीमा सामान्य प्रभाव


१० साउन, काठमाडौं । विप्लव नेतृत्वको नेकपा माओवादीले आह्वान गरेको बन्दका कारण देशभर जनजिवन प्रभावित बनेको छ । राजधानीमा भने सामान्य प्रभाव परेको छ । राजधानीका सडकहरुमा सार्वजिनक यातायतका साधानहरु कम सञ्चालन भएका छन् ।

  विप्लव नेतृत्वको नेकपा माओवादीले नयाँ बानेश्वर र सामाखुसीमा ट्याक्सीमाथि आगजनी गरेका छन् । बानेश्वर मिनभवन उकालो नजिक बा १ ज ५१६२ नम्बरको ट्याक्सीमा आगजनी गरिएको हो  भने सामाखुसीमा बा १ ज२८६ नम्बरको ट्याक्सीमा आगजनी गरिएको हो ।

ट्याक्सी चढेका व्यक्तिले मिनभवन उकालो नजिक पुगेपछि पेट्रल छर्किएर आगोलगाइ भागेको प्रहरीले जनाएको छ । आगोले ट्याक्सी पूर्णरुपमा क्षतिग्रस्त भएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । भाडाका सवारीसाधन कम चलेका भएपनि निजी सवारीसाधान भने निर्वाध चलिरहेको प्रहरीले जनाएको छ । चोक चोकमा प्रहरी उपस्थिति बाक्लो बनाइएको छ  ।

यसैबीच, चितवनबाट काठमाडौं तर्फ औषधी ल्याउँदै गरेको एक मिनी ट्रकमा बन्दकर्ताले आगजनी गरेका छन् । चितवनमा वन्दका बाबजुत पूर्व पश्चिम राजमार्गमा प्रहरीले स्कटिङ्ग गरेर सवारी साधन सञ्चालनमा ल्याएको  छ ।

बन्दबाट जनजीवन प्रभावित,दुई कार्यकर्ता पक्राउ : पोखरा

नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले गरेको नेपाल बन्दका कारण आज कास्कीको जनजीवन प्रभावित भएको छ ।

सुकुम्वासीमाथि ज्यादती भइरहेको भन्दै त्यसको विरोधमा सो पार्टीले गरेको बन्दका कारण बिहानैदेखि पोखरामा सार्वजनिक यातायात सेवा सञ्चालन हुन सकेको छैन भने शिक्षण संस्थाको पठनपाठन पनि ठप्प भएको छ ।

बन्दका कारण जरुरी काम भएर विभिन्न ठाउँ पुग्नुपर्ने यात्रु हिँड्न बाध्य छन् भने बजार क्षेत्र सुनसान बनेको छ । बन्दकर्ता दुई जना कार्यकर्ता प्रकाश वास्तोला र अशोक भण्डारीलाई पोखराको नागढुङ्गाबाट प्रहरीले पक्राउ गरेको कास्की प्रहरीका प्रवक्ता गजुसिद्धी बज्राचार्यले जानकारी दिए ।

बन्दको क्रममा ट्रकमा आगजनी,छ जना पक्राउ : तनहुँ,

नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले आह्वान गरेको नेपाल बन्दको क्रममा आज तनहुँमा ट्रकमा आगजनी भएको छ ।

भैरहवाबाट सिमेन्ट लिएर आउँदै गरेको ना४ख ३९१ नम्बरको ट्रकलाई अज्ञात समूहले बन्दीपुर नगरपालिका–५ आँधिखोलामा रोकी जलाएका हुन् ।

बिहान सवा ५ बजे ट्रकका चालक र सहचालकलाई ट्रकबाट ओराली उनीहरुले आगो लगाएका थिए । आगजनीबाट ट्रकको अगाडिको भाग जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगजनी हुने बित्तिकै सशस्त्र र नेपाल प्रहरीले आगो निभाएका थिए ।

यस्तै सोही समूहले चोक्कर लिएर आएको ना५ख ४१३ नं को ट्रकमा ढुङ्गामुडा गर्दा ट्रकको अगाडिको सिसा फुटेको छ । ट्रकमा आगजनी गरेको आशङ्कामा प्रहरीले नेकपा माओवादीका छ जना कार्यकर्तालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ओम पन्त, डम्बर विक, राजन बराल, नरेश घिमिरे, बाबुराम विक र नवीन थापा रहेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्