बर्डफ्लुको आशङ्का सात हजार चल्ला नियन्त्रणमा


गोरखा १८, चैत । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले बर्डफ्लुको आशङ्कामा गएराति सदरमुकाम भित्र्याउँदै गरिएका करीब सात हजार भन्दा बढी कुखुराका चल्ला नियन्त्रणमा लिएको छ ।

गोरखा नगरपालिका–१३ स्थित मझुवा देउरालीमा क्वारेनटाइन जाँचका क्रममा चल्ला नियन्त्रणमा लिइएको केन्द्रका प्रमुख डा बज्रकिशोर ठाकुरले जानकारी दिनुभयो । सदरमुकामतर्फ ल्याइँदै गरिएका दुई गाडीबाट चार हजार १५० र छोप्राक लैजान लागिएका एउटा गाडीबाट तीन हजार दुई सय कुखुराका चल्ला नियन्त्रणमा लिएको उहाँले बताउनुभयो ।

“नियन्त्रणमा लिइएका चल्लाको नमूना परीक्षणका लागि पोखरास्थित पशुरोग अन्वेषण प्रयोगशालामा पठाउन लागिएको छ”, उहाँले भन्नुभयो, “परीक्षणपछि मात्र बिक्री गर्न मिल्ने नमिल्ने थाहा हुन्छ ।” बर्डफ्लु भएको भेटिए बर्डफ्लु रोग नियन्त्रण कार्यविधि २०६४ अनुसार कारवाही अगाडि बढाइने उहाँले बताउनुभयो ।

बरामद गरिएका चल्लाको भेटिनरी प्रमाणपत्रमा फारम भर्दा हस्ताक्षर गर्ने चिकित्सकको अक्षर र फारम भर्दाको अक्षर समेत फरक पाइएको प्रमुख डा ठाकुरको भनाइ छ । उहाँले हस्ताक्षर चिकित्सकले गर्ने भए पनि व्यहोरा अरुले नै भर्ने गरेकाले पनि शङ्का उब्जिएको बताउनुभयो ।
नियन्त्रणमा लिइएका चल्लाको नमूना परीक्षणपछि बडफर््लु भएको पुष्टी भए सुरक्षित ठाउँमा लगेर भए नष्ट गरिने उहाँले बताउनुभयो । पछिल्लो पटक छिमेकी जिल्लामा बर्डफ्लु भेटिएको पुष्टी भएपछि गोरखामा बर्डफ्लु भित्रन नदिन कार्यालयले उच्च सर्तकता अपनाएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्