बर्दियामा मतदान गर्दै बामदेवले भने– ‘राजपा भनेको सबैले पूजा गर्नुपर्ने देउता हो ?’


१४ असार । एमाले उपाध्यक्ष एवं पूर्वगृहमन्त्री बामदेव गौतमले बर्दिया जिल्लाको बाँसगढी वडा नम्बर ८ मा रहेको मतदान केन्द्र त्रिभुवन उमावि मतदान गरेका छन् ।

उनले मतदान प्रक्रियामा सहभागी हुँदै राज्य जनताको घरदैलोमा आएको पहिचान भएको बताए । उनले जनताको घरदैलोमा आएको राज्यको अधिकार कटौती गर्ने प्रयास भैरहेको भन्दै त्यसलाई एमालेले रोक्ने दाबी गरे । ‘यसका अधिकार कटौती गर्ने प्रयासहरु भएका छन् । तर, एमाले दृढ भएर लाग्छ,’ गौतमले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको आफ्नो पहिचान स्थापित गर्न पनि यो चुनाव महत्वपूर्ण हुने छ ।’

गौतमले प्रदेश नम्बर दुईको निर्वाचन एमालेका कारण रोकिएको भन्ने आरोपमा कुनै सत्यता नभएको पनि दाबी गरे । ‘प्रदेश नम्बर दुईको निर्वाचनका सन्दर्भमा एमालेले हलो अड्काएको छ भन्नेहरु विदेशीको इशारामा नाच्नेहरु हुन्,’ उनले भने, ‘एमालेलाई प्रदेश नम्बर दुईमा एक सीट पनि ल्याउन नदिनका लागि विभिन्न बाहनावाजी सरकार र केही विदेशी शक्तिले गरेका छन् । तर, एमालेले सबै भन्दा बढी सीट प्रदेश नम्बर दुईबाट नै प्राप्त गर्ने छ ।’

उनले राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)लाई देखाएर पटक–पटक चुनाव सार्ने कुरा गलत भएको पनि टिप्पणी गरे । ‘के राजपा भनेको सबैले पूजा गर्नुपर्ने देउता हो ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्