बलुवाटारका सामान सचिवालयले लगेको भन्ने हल्ला निराधारः ओलीको सचिवालय


२४ साउन । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले साउन १९ गते प्रधानमन्त्रीको सरकारी निवास छाडेपछि त्यहाँका सामानहरु निजी सचिवालयका व्यक्तिहरुले आफैसँग लिएर गएको भन्ने केही सञ्चार माध्यममा आएका समाचारहरु कपोलकल्पित र भ्रामक भएको ओलीको सचिवालयले जनाएको छ ।

समाचारमा देखाइएका सामानका पोका र कोठा वास्तविक नभएको र भान्साका रुपमा देखाइएको तस्विीर बालुवाटारको नरहेको पनि ओलीको सचिवालयले जनाएको छ । अन्यत्रतिरको तस्वीर प्रयोग गरी पूर्व प्रधानमन्त्री ओलीलाई बदनाम गराउने नियतले झूठा समाचार सम्प्रेषण भइरहेकोमा ओलीको सचिवालयले आपत्ति समेत प्रकट छ ।

‘निवर्तमान प्रधानमन्त्री ओलीले सरकारी निवास छाड्नु अघि बालुवाटार निवासको व्यवस्थापन हेर्न त्यहाँ रहेका शहरी विकास तथा भवन विभाग र प्रधानमन्त्री कार्यालयबाट खटिएका कर्मचारीहरुको रोहबरमा सामानहरुको बुझबुझारथ गरिएको थियो,’ ओलीका सचिवालयमा कार्यर रमेश भट्टराईले भने, ‘तर, त्यस्तो वास्तविकतालाई ढाकछोप गरी झूठा समाचार सम्प्रेषण गर्नुको पछाडि पूर्व प्रधानमन्त्रीलाई बदनाम गराउने नियत रहेको छ ।’

प्रतिक्रिया दिनुहोस्