बसको टिकट पाउन बिहान ३ बजेदेखि लाइनमा, तै पनि रित्तै


काठमाडौं, ६ असोज । दशैंका लागि बसको अग्रिम टिकट बुकिङ खुला गरिएको पहिलो दिन टिकट काउन्टरमा सर्वसाधारणको अत्याधिक घुइँचो लागेको छ । दशैं मनाउन समयमै घर जाने उद्देश्यसाथ सर्वसाधारण एकै पटक बसपार्क पुगेपछि घुइँचो लागेको हो ।

दशैंका लागि टिकट बुकिङ गर्न बस काउन्टरमा सर्वसाधारण बिहान ३ बजेदेखि नै लाइनमा बसेका थिए । दशैंमा घर जान बसको टिकट नपाउने हो कि भनेर पहिलो दिन सर्वसाधारण बिहानैदेखि लाइनमा बस्न आएका हुन् । आइतबार टिकट काउन्टरमा एकैचोटि सर्वसाधारण ओइरिएपछि एक घण्टासम्म लाइनमा बस्नुपरेको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले पहिलो दिन भएकाले सर्वसाधारणको घुइँचो लागे पनि टिकट नपाइने हो कि भनेर अत्तालिनु पर्ने अवस्था नभएको बताए ।

‘टिकट नपाएर टीका रोकिने हो कि भनेर डराउनु पर्दैन । हामी दसैंमा पनि टिकट पाउने व्यवस्था गर्छौं,’ उनले भने, ‘तर, हामीले सरकारसँग सडक बाटो बनाउन आग्रह गरेका छौं । सडक बाटो बिग्रिएर रोकिने अवस्था आयो भने गाह्रो छ ।’

महासचिव सिटौलाले सोमबार र मंगलबार सर्वसाधारणले कति टिकट काट्छन्, त्यसअनुसार बस थप्नुपर्ने वा विकल्प खोज्नुपर्नेबारे समीक्षा गरेर अघि बढ्ने बताए ।

‘अब हामी १–२ दिनको अवस्था हेरेर सरकारसँग सल्लाह गर्छौं, विकल्पबारे पनि सोच्छौं । तर, मुख्य कुरा सडक बिग्रिएर र भत्किएर गाडी रोकिने अवस्था आउनु भएन, यसमा सरकारले बढी ध्यान दिनुपर्‍यो ।’ राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्