बस्ने उपत्यकामा, ठेगाना अन्यत्रको दिने


काठमाडौं, ९ जेठ । कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरण गर्न सरकारले लकडाउन घोषणा गरे पनि लुकिछिपी संक्रमितहरू उपत्यका भित्रिएका छन् । यसरी आएका संक्रमितमध्ये २४ जनाभन्दा बढी आइसोलेसनमा उपचाररत छन् ।

उपत्यका बाहिर ठेगाना बताएका ती संक्रमितहरू काठमाडौं भक्तपुर र ललितपुरमा डेरामा बसेको पाइएको छ । को व्यक्तिबाट काठमाडौंमा कसरी संक्रमण फैलिरहेको छ भन्ने यकिन गर्न नै कठिन भइरहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का उच्च अधिकारीले बताए । १ जेठदेखि नै उपत्यकामा बस्नेमा संक्रमण बढी देखा पर्न थालेको हो ।

६ जेठमा स्वास्थ्य मन्त्रालयले ललितपुर ठेगाना दिएर एकजनालाई संक्रमण भएको अपुरो जानकारी दियो । ती व्यक्ति स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा कार्यरत थिए । उनको घर उपत्यका बाहिर भए पनि मन्त्रालयले ललितपुर ठेगाना भएको बतायो । उनको स्थायी ठेगाना पहाडी जिल्ला हो ।

६ जेठमा नयाँ संक्रमित थपिएको जानकारी दिँदै लमजुङ ठेगाना भएका व्यक्ति उल्लेख गरियो । उनी पनि काठमाडौंमा बस्दै आएको पाइएको छ । १ जेठमा संक्रमित भएको पुष्टि भएका दुई बालबालिका पनि उपत्यकाबाहिर घर भए पनि काठमाडौं आएको बेला पुष्टि भएको छ ।

यसअघि ३१ वैशाखमा संक्रमितको रूपमा मन्त्रालयले सुनसरी ठेगाना बताएको महिला भक्तपुरमा डेरा लिएर बसेको पाइएको छ । ३१ वैशाखमा नै काठमाडौं बाहिर भनिएका पुरुष पनि भक्तपुर, दुवाकोटमा बस्ने गरेको पाइएको छ ।

वैशाख ३० गते घाँटीको समस्या लिएर आएकी एक बालिका पनि कपिलवस्तुकी थिइन् । वैशाख २९ गते नवलपरासीबाट काठमाडौंबाट आएकी एक महिलाको कोरोना भाइरस पोजेटिभ भेटिएको छ । उनी कलंकी डेरा लिएर बसेको पाइएको छ ।

मन्त्रालयले पछिल्लो पटक रामेछाप, सिन्धुली, दाङका बासिन्दा भनिएका व्यक्ति पनि काठमाडौं उपत्यकामा बस्ने गरेको सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीले जनाएका छन् ।

मन्त्रालयका एक उच्च पदाधिकारी भन्छन्, ‘पीसीआर परीक्षणका बेला स्थायी ठेगाना मात्र दिएपछि समस्या पर्न थालेको हो । उनीहरूको बसोबास काठमाडौं हुँदा हामीलाई समेत अप्ठेरो परिरहेको छ । तथ्य लुकाउने मनसाय होइन ।’

स्वास्थ्य सेवा विभागअन्तर्गत, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले संक्रमितको कन्ट्रयाक्ट ट्रेसिङको अगुवाई गरिरहेको छ ।

स्वास्थ्य मन्त्रालयका पूर्वप्रमुख विशेषज्ञ डा.सुशीलनाथ प्याकुरेलका अनुसार परीक्षण एवं संक्रमितको कन्ट्र्याक्ट ट्रेसिङको बेला अधुरो विवरण राख्ने गरेकोले समस्या बढेको बताउँछन् । ‘यस खालको लापरवाहीले काठमाडौं उपत्यकाभित्र संक्रमणको जोखिम झन् बढ्छ’, डा. प्याकुरेलले भने ।

राष्ट्रिय सूचना आयोगका प्रवक्ता कमला ओलीका अनुसार, मन्त्रालयबाट प्रवाह गरिने सूचनामा संक्रमित वा मृतक व्यक्तिको बारेमा उल्लेख गरिएको ठेगानाले नागरिकमा भ्रम सिर्जना गरिएको बताउँछिन् ।

‘स्थायी ठेगाना र अहिले बसोबास गरिरहेको स्थान वा संक्रमण हुँदाको स्थान फरक÷फरक हुन सक्दछ । एउटा मात्र स्थानका बारेमा उल्लेख गर्दा सर्वसाधारणमा अन्यौल भएको पाइएको छ’, उनले भनिन् ।

आयोगले कोरोना भाइरसको संक्रमण र मृत्यु भएका व्यक्तिको विवरण सार्वजनिक गर्दा संक्रमण हुँदाको बखत बसोबास गरेको स्थान र स्थायी ठेगानासमेत उल्लेख गर्न आदेश दिएको छ । सूचनाको हकसम्बन्धी ऐनको दफा १९ को खण्ड (ङ) बमोजिम स्वास्थ्य मन्त्रालयका सचिवलाई आयोगले मंगलबार आदेश समेत दिएको छ ।

मन्त्रालयले यस बारे विस्तृत जानकारी नगराए पनि स्थानीय निकायहरूले धमाधम सिल गर्न गर्न थालेका छन् । बुढानिलकण्ठ नगरपालिका-१२ बस्ने एक महिलामा स्वाब परीक्षणमा पोजेटिभ देखिएपछि तीन वडा सिल गरिएको छ । वडाअध्यक्ष शम्भुप्रसाद भट्टराईका अनुसार अर्को व्यवस्था नभएसम्म स्थानीय तेन्जिङ चोकदेखि फैका चोकसम्म सिल गरिएको छ ।

काठमाडौं उपत्यकाभित्र केही दिनयता दुई हजार २ सय ३६ वटा आरडीटी र एक हजार १९ वटा पीसीआर विधिबाट विभिन्न क्षेत्र र केन्द्रमा फोकस गरेर नमूना संकलन र परीक्षण गरिएको छ । ‘सबै जनाको पीसीआरको नतिजा आइसकेको छैन’, मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले भने ।

उपत्यकाका सरसफाइ केन्द्रहरूमा गरिएको आरडीटी विधिबाट गरिएको परीक्षणमा ३१ वटामा पोजेटिभ पाइएको छ। गोंगबु क्षेत्रबाट लिइएको नमूना संकलनमा १५ वटा पोजेटिभ आएको छ । भृकुटीमण्डप क्षेत्रमा ३२ वटा पोजेटिभ पाइएको छ ।

हालसम्म ३८ जिल्लामा कोरोना भाइरसको संक्रमण देखिएको छ । मुलुकभर पीसीआर विधिबाट गरिएको परीक्षण संख्या हालसम्म ३८ हजार ७ सय ३६ छ । आरडीटी विधिबाट ७८ हजार ६ सय ९५ पुगेको छ । ४ सय ५३ संक्रमित छन् । तीमध्ये ३८३ पुरुष र ७० जना महिला छन् । ४९ जना संक्रमित डिस्चार्ज भएका छन् । संक्रमितमध्ये तीन जनाको मृत्यु भएको छ । अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रिया दिनुहोस्