बहालवाला मन्त्रीले नै भने– मधेस विभेदमा परेको छ, संघर्ष गर्नुपर्छ


रोल्पाः सिँचाइ मन्त्री एवं एमाओवादी केन्द्रीय सदस्य उमेशकुमार यादवले अहिले पनि मधेस विभेदमा परेको दाबी गरेका छन् । उनले तराईमधेसमा जारी आन्दोलन विभेदका विरुद्ध भएको पनि दाबी गरे ।

तर, आन्दोलनको अगुवाई उचित व्यक्तिहरुबाट नभएको भन्दै घुमौरो पाराले आलोचना गरे । ‘तराई मधेसको आन्दोलन अगुवाई कस्ता–कस्ता व्यक्तिले गरिरहेका छन् त्यो पनि हेर्नुपर्ने भएको छ,’ ‘क्रान्तकारी पत्रकार संघ रोल्पाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘विभेद विरुद्धको आन्दोलन माओवादीले नै नेतृत्व गर्दै आएको थियो र आउने दिनमा माओवादीले नै गर्ने छ ।’

उनले कार्यक्रममा बोल्दै अलग–अलग रहेका माओवादीहरु एकीकृत हुनुको विकल्प नरहेको पनि बताए । उनले बाँकी कार्यभार पूरा गर्न पनि माओवादी मिल्नुको विकल्प नभएको भन्दै तत्कालिन अवस्थामा समयको माग अनुसार सविधान निर्माण भएको र त्यो पूर्ण नभएका कारण सविधानलाई पूर्णता दिनका लागि अलग–अलग रहेका माओवादी मिल्नुपर्ने दाबी गरे ।

उनले सविधान जारी भए पनि त्यसको कार्यान्वयनमा थुप्रै चुनौतिहरु रहेको भन्दै ती चुनौतिहरु बाट मुक्ति दिने काम माओवादीबाट मात्र सम्भव भएको दाबी पनि गरे । उनले काठमाडौले रोल्पालीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन नआएको पनि दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्