तत्काल संविधान संशोधन गर्नूपर्छः बाबुराम भट्टराई


१८ असोज । नयाँ शक्ति नेपालका संयोजक एवम् पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले नेपालको धार्मिक तथा जातीय विविधतासँगै बहु सांस्कृतिक सम्पदा नै नेपालीको साझा चिनारी भएको बताएका छन् ।

पूर्वप्रधानमन्त्री डा भट्टराईले सुनसरीको इटहरी उपमहानगरपालिका– २ बरगाछी क्षेत्रमा निर्माणाधीन सङ्गीतसाधना प्रतिष्ठान नेपालको भवनको स्थलगत अवलोकन गर्दै यसको संरक्षण र संवद्र्धन सरकारको प्रमुख दायित्व भएको बताए ।

सो अवसरमा उनले सङ्गीतसाधना प्रतिष्ठानमा आवद्ध प्राज्ञ कलाकार एवम् सङ्गीतकारले अघि बढाएको भवन निर्माण अभियान अनुपम उदाहरणका रुपमा रहेकाले आफ्नो नैतिक समर्थन रहेको बताए । प्रतिष्ठानको विकासमा आफूले सक्दो सहयोग गर्ने उनले बचन दिए ।

डा भट्टराईले कलाकारले चलाएको एक इँटा अभियानले राजनीतिक दलका नेतालाई पनि सचेत बन्न अभिप्रेरित गरेको बताए । सो अवसरमा प्रतिष्ठानका महासचिव राजु केसीले सङ्गीत शिक्षाको विद्यावारिधीसम्मको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कला सङ्गीत र सांस्कृतिक सम्पदाका अध्ययन अध्यापन हुने सो प्रतिष्ठानमा स्वदेशी र विदेशी विद्यार्थी तथा अध्यापकको जमघट हुने गरेको जानकारी दिए ।

मंगलबार नै सुनसरी सदरमुकाम इनरुवामा  आयोजित ‘संविधानको एक वर्षः कार्यान्वयन, चुनौती र आगामी कार्यदिशा’ विषयक अन्तरक्रियामा बोल्दै भट्टराईले तत्काल संविधान संशोधन गर्नुपर्ने बताए । धर्मनिरपेक्षता, लोकतन्त्र र सङ्घीय गणतन्त्रलाई संस्थागत गर्नका लागि पनि संविधान संशोधन आवश्यक रहेको उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्