बाँध निर्माण नहुँदा रौतहट यसपाली पनि डुब्ने खतरा


गौर, रौतहट, ९ जेठ । गत साउनको अन्तिममा आएको बाढीले डुबानमा परेको रौतहट यसपालिको वर्षामा पनि डुबानमा पर्ने हो कि भन्ने त्रास स्थानीयवासीमा बढेको छ ।
सैँतीस जनाको ज्यान जाने गरी आएको बाढीको मुख्य कारक बनेको बकैया नदीको बाढीले सो नदीको विभिन्न स्थानबाट बाँध फुटेपछि गाउँ गाउँमा बाढी पसेको थियो । बाढीले रौतहटको ८० प्रतिशत भूभाग पूर्ण रुपमा प्रभावित बनेको थाहा हुँदाहुँदै पनि ती भत्किएको बाँध अझै पनि निर्माण हुन सकेका छैनन् । सो नदी नियन्त्रण गर्न जलउत्पन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालय परवानीपुर बाराको चरम लापरवाहीको कारण यसपालिको वर्षायाममा पनि सो क्षेत्र फेरि डुबानमा पर्ने खतरा बढेको स्थानीयवासी बताउने गर्छन् । बाढी आएको नौ महिना बितिसक्दा पनि सो कार्यालयले बाँध बाँध्न पहल नगरेको र अहिले आएर हतारमा काम लगाउन थालेको स्थानीयवासीको आरोप छ ।

बाढीले बढी प्रभावित बौधीमाई नगरपालिका क्षेत्रमा पर्ने सो नदीमा कार्यालयले अझै पनि बाँध निर्माणका लागि कुनै पहल नगरेको नगरपालिकाका नगर प्रमुख राजीवरञ्जन यादवले बताए । अहिले बकैया नदीमा बाँध बाँधिएन भने फेरि मानवसहित ठूलो धनजनको क्षति हुने उहाँले आशंका गर्नुभएको छ । जलउत्पन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालयलाई पटक पटक बाँध बाँध्नका लागि आफ्नो क्षेत्र आएर हेरिदिन र काम गरिदिन आग्रह गर्दा पनि सो कार्यालयका प्रमुख राजकुमार श्रीवास्तवले बेवास्ता गरेको नगर प्रमुख यादवको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्