बाँस्कोटाको अडियो सार्वजनिक गर्ने मिश्रविरुद्ध साइबर क्राइमको उजुरी


काठमाडौं, ११ फागुन । निवर्तमान सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाको अडियो सार्वजनिक गर्ने विजयप्रकाश मिश्रविरुद्ध संसदको सार्वजनिक लेखा समितिले आइतबार साइबर क्राइमको उजुरी दर्ता गरेको छ ।

समितिका सदस्य सांसदहरुले मिश्रले अडियो प्रकरणमा आफूहरुलाई समेत मुछेर चरित्रहत्या गरेको भन्दै प्रहरी प्रधान कार्यालयमा उजुरी दर्ता गराएका हुन् । समितिका सचिव डा. रोजनाथ पाण्डेले आइतबार उजुरी दर्ता गरिएको पुष्टि गरेका छन् ।

मिश्रले बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा गर्न खोजेको अनियमिततामा सार्वजनिक लेखा समितिका सांसदहरुको समेत मिलेमतो रहेको भन्दै सञ्चार माध्यममार्फत अभिव्यक्ति दिएका थिए ।

प्रहरी मुख्यालयमा रहेको साइबर अपराध हेर्ने शाखामा उजुरी दर्ता गरेको पाण्डेले बताएका छन् ।

मिश्रले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद सेटिङमा लेखा समितिका सांसदहरुको पनि मिलेमतो रहेको आरोप लगाएका थिए । सोही आधारमा लेखा समितिले मिश्रमाथि साइबर क्राइमको उजुरी हालेको हो ।

प्रतिक्रिया दिनुहोस्