बाढि पहिरो का कारण जनजीवन प्रभावित : थप अपडेट


पहिरोले उद्योग पुरिँदा एकको मृत्यु, आठ घाइते : पर्वत

१२ साउन । पहिरोमा पुरिएर पर्वतको माझफाँट–३ स्थित पर्वत बेनीमा एकजनाको मृत्यु भएको छ भने आठजना घाइते भएका छन् ।

पर्वतको मल्लाज जाने पदमार्गको प्रवेशद्वार नजिकै रहेको धौलागिरि कपास उद्योग माथिको भीरबाट पहिरो खस्दा उद्योग नै पुरिएर १२ वर्षीया अङ्किता तामाङको ज्यान गएको हो । पहिरोले पुरिएर घाइते भएकी तामाङको उपचारका लागि पोखरा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जानकारी दिएको छ ।

पहिरोमा परेर घाइते भएका ३२ वर्षीय सुवास थापा, १२ वर्षीया कृष्टि घले, १६ वर्षीया सुस्मिता तामाङ, ११ वर्षीय अजय तामाङ, ३२ वर्षीया फुलकुमारी तामाङ, २८ वर्षीया सविना घले, ३ वर्षीय विजय घले र २० वर्षीय प्रेम तामाङको म्याग्दी जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिए ।

मङ्गलबार राती १ बजेको समयमा पहिरो खस्दा उद्योगमा सुतिरहेका उनीहरुको भागाभाग भएको थियो । त्यहाँ रहेका चारजना भने सकुशल रहेका छन् । घाइतेको प्रहरीका साथै पर्वत बेनी र बेनीको कालीपुल क्षेत्रका बासिन्दाले उद्धार गरेर अस्पतालमा पु¥याएका थिए ।

पहिरोले पुराना कपडालाई प्रयोग गरेर सिरक, डसनालगायत बनाउँदै आएको उद्योगमा रहेका सबै औजार, उपकरण र कच्चापदार्थ नष्ट भएको छ । करिब १५ लाख रुपैयाँको क्षति भएको प्रारम्भिक अनुमान छ । बेनीको कालीपुल हुँदै मल्लाज जाने पदमार्ग पहिरोका कारण अवरुद्ध भएको छ ।

प्यूठानमा थप तीनको मृत्यु, चार वेपत्ता

सोमबारदेखिको लगातार परेको बर्षाका कारण जिल्लाको फोप्ली–६ सिममा गएराति पाँच घर पहिरोले बगाउँदा नारायण केसी, द्रोणबहादुर केसी र उनकी श्रीमती पवित्रा केसीको मृत्यु भएको छ ।

पहिरोमा परी बेपत्ता हुनेमा नेकपा माओवादीका केन्द्रीय सदस्य हरिबहादुर केसी र उनकी श्रीमती विन्दू केसी, नरबहादुर बुढाथोकी ९जागेश्वर० र उनकी श्रीमती तिमा बुढाथोकी रहेका छन् ।

पहिरोबाट नारायण केसीकी श्रीमती नानीमैया केसी र भीमसेन पुनलाई सकुशल उद्धार गरिएको छ । जिल्लामा हालसम्म २० जनाको मृत्यु भइसकेको छ भने २४ जना वेपत्ता छन् ।

यसैबीच, प्यूठानमा गएको बाढी तथा पहिरोबाट पीडितलाई राहत तथा उद्दारका लागि गठित समितिले हिजो प्रधानमन्त्री केपी शर्मा ओली तथा रक्षा मन्त्री र गृहमन्त्री लाई भेटी उद्दार तथा राहत प्रभावकारी बनाउन माग गरेको छ । समितिमा पूर्व उपप्रधानमन्त्री बामदेव गौतम, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष गोविन्दराज पोखरेल तथा सांसदहरु रहेका छन्।

माई खोलाले बगाएर थप एक बेपत्ता : झापा

लगातारको वर्षापछि माई खोलामा आएको बाढीले बगाएर झापामा थप एक व्यक्ति बेपत्ता बनेका छन् । योसँगै बेपत्ता हुनेको सङ्ख्या तीन पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार शिवसताक्षी–९ टेक्रा र चिल्लागढको बीच भएर बग्ने माई खोलाले बगाएर ल्याएको दाउरा निकाल्न जाँदा सोही ठाउँका विजय बस्नेत बेपत्ता भएका हुन् । बेपत्ता बस्नेतको खोजी तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक हरिप्रसाद शर्माले जानकारी दिए ।

बाढीका कारण झापामा हालसम्म ६ जनाको मृत्यु भइसकेको र बेपत्ता हुनेको सङ्ख्या पनि थपिँदै गएपछि प्रहरीले दाउराको लोभले खोलामा नपस्न सबैलाई आग्रह गरेको छ ।

सुनसरीमा बाढीबाट विस्थापित हुने बढ्दै

सुनसरी जिल्लाका विभिन्न स्थानमा स्थानीय खोलामा आएको बाढी मानव बस्तीमा पसेपछि विस्थापित हुने परिवारको सङ्ख्या बढिरहेको सुनसरी प्रहरीले जानकारी दिएको छ ।

यस जिल्लामा बाढीबाट कम्तीमा दुई हजार घरपरिवार डुबानमा परिसकेको जिल्ला प्रशासन कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

जिल्ला प्रहरीले दिएको जानकारीमा उल्लेख भएअनुसार मङ्गलबार दिउँसो आएको अविरल वर्षाका कारण सुनसरीका मारिया खोलामा बढेको बाढी कप्तानगन्ज–९ को दिव्य माविमा पस्दा विद्यालय सञ्चालनमा अवरोध पुगेको छ ।

यसैगरी, प्रकाशपुरको बाहुनी खोला बस्तीतिर पसेपछि वडा नम्बर १ र ७ को पाँच घरपरिवार विस्थापित भई सुरक्षित स्थानमा सर्न बाध्य भएका छन । त्यस्तै, सुनसरी खोलामा बढेको बाढीले बबिया–१ र ६ को ३५ घर पूरै डुबानमा परेका छन् । उनीहरुलाई पनि सुरक्षित स्थानमा जान भनिएको छ ।

यस्तै, सुनसरी डुम्राहा–२ र भोक्राहा–३ जोड्ने सुनसरी खोलाको झोलुङ्गेपुल बगाउने अवस्थामा रहेकाले स्थानीयवासी र प्रहरीको सक्रियतामा बगाउन लागेको स्थानमा तत्काल सुरक्षाको विधि अपनाएर पानीलाई अन्यत्रबाट निकास दिने प्रयास भएको पनि प्रहरीले बताएको छ ।

खोलाले बगाएका कर्मचारी मृत फेला

सप्तरीको जिता खोलाले बगाएका कर्मचारी कोइलाडी बसाइन–५ मा मङ्गलबार साँझ मृत फेला परेका छन् ।

मृत्यु हुनेमा मोरङको विराटनगर उपमहानगरपालिका–१३ जतुवा घर भई हाल हनुमाननगर योगिनिमाई नगरपालिका–८ मा बस्दै आएका सुदीपकुमार यादव रहेको प्रहरीले जनाएको छ ।

हनुमानगरस्थित फरवार्ड संस्थामा कार्यरत तेइस वर्षीय यादवलाई दुई दिनअगाडि उक्त संस्थामार्फत कोइलाडी बर्साइनका गाउँमा रकम उठाउन जाँदा जिता खोला तर्ने क्रममा खोलाले बगाएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्