बाढीपहिरोले आठ वर्षमा २०३५को मृत्यु


sudur
काठमाडौँ, २८ असार । बर्खा लागेसँगै यस वर्ष पनि बाढीपहिरोको शृंखला सुरु भएको छ । मंगलबारदेखि लगातार परेको वर्षासँगै आएको बाढीपहिरोले देशव्यापी जनधनको क्षति भएको छ । शुक्रबार साँझसम्म विभिन्न जिल्लामा १८ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । पहाडी जिल्लामा पहिरोको जोखिम धेरै देखिएको छ भने तराईका जिल्ला डुबानमा परेका छन् । प्राकृतिक प्रकोपकै कारण वर्षेनी मृत्यु हुनेको संख्या बढ्दै गएको छ । बाढीपहिरोबाट आठ वर्षमा दुई हजार ३५ जनाको मृत्यु भएको छ । सबै प्रकारका प्राकृतिक प्रकोपबाट यसै अवधिमा १२ हजार तीन सय ५० जनाको मृत्यु भएको गृहको तथ्यांकमा उल्लेख छ ।

भित्री मधेस र पहाडी जिल्लामा ९५ वर्गकिलोमिटर माटो बगायो
०७३ यता तीन वर्षको अवधिमा देशमा नौ हजार तीन ८० वटा ठूला पहिरा गएको वन तथा जलाधार विभागअन्तर्गत रहेको जलाधार तथा पहिरो व्यवस्थापन महाशाखाले जनाएको छ । ती पहिरोबाट ९५ दशमलव १ वर्गकिलोमिटर माटो बगेकोे छ । भित्री मधेस र पहाडी क्षेत्रका जिल्लामा सबैभन्दा धेरै पहिरो गएको वन तथा जलाधार विभागका जलाधार तथा पहिरो व्यवस्थापन महाशाखाका पहिरोविद् प्रेमप्रसाद पौडेलले जानकारी दिए ।

उनका अनुसार तराई र हिमाली जिल्लामा भने कम पहिरो गएको छ । ‘हामीले गुगल म्यापसहित प्राप्त सूचनाका आधारमा देशैभर पहिरोको तथ्यांक संकलन गरेका थियौंँ,’ पौडेलले भने, ‘अध्ययन गर्ने क्रममा भित्री मधेस र पहाडी क्षेत्रका जिल्लामा धेरै पहिरो गएको पायौँ ।’जथाभावी ग्रामीण सडक निर्माणसँगै भौतिक संरचनासहित विकास निर्माणका कारण धेरै पहिरो गएको हुन सक्ने पौडेलले बताए । सरकारको भू–उपयोग खेती प्रणाली वैज्ञानिक नहुँदा निरन्तर पहिरो गइरहेको उनको भनाइ छ । हरेक वर्ष पहिरोबाट भौतिकसँगै मानवीय क्षति हुने भएकाले सरकारले बजेट विनियोजन गरी जोखिम कम गर्नुपर्ने महाशाखाले जनाएको छ ।

यस वर्ष थप ठूला पहिरो जान सक्ने
स्थानीय सरकारले जथाभाबी बाटो यस वर्ष थप पहिरोको जोखिम बढ्न सक्ने पहिरोविद् पौडेलले बताए । ‘स्थानीय जनप्रतिनिधि निर्वाचित भएपछि विकास भनेको बाटो पुलपुलेसा मात्रै हो भन्ने खालको एउटा बुझाइ छ,’ उनले भने, ‘अध्ययन नगरी जथाभाबी बाटो पुलपुलेसालगायत भौतिक संरचना बनाउँदा यस वर्ष अझै पहिरोको जोखिम बढ्न सक्छ ।’ भौगोलिक भू–बनोटको अध्ययन नगरी बाटो बनाउँदा अल्पकालीनसँगै दीर्घकालीन असर देखिँदै जाने पौडेलले बताए ।

कहाँ कति पहिरो गए ?

सबैभन्दा धेरै प्रदेश ३ र कम प्रदेश २ मा
तीन वर्षको अवधिमा सबैभन्दा धेरै प्रदेश नम्बर ३ र सबैभन्दा कम प्रदेश २ मा पहिरो गएको जलाधार तथा पहिरो व्यवस्थापन महाशाखाको तथ्यांकमा उल्लेख छ । प्रदेश १ मा दुई हजार दुई ६५ वटा पहिरो गएको थियो । पहिरोले ३६ दशमलव ५८ वर्गकिलोमिटर माटो बगाएको थियो । यो प्रदेशमा सबैभन्दा धेरै पहिरो जाने जिल्लामा सोलुखुम्बु, संखुवासभा, ताप्लेजुङ र भोजपुर छन् ।

प्रदेश २ मा ८१ वटा पहिरो गएका थिए । यसबाट शून्य दशमलव २१ वर्गकिलोमिटर मात्रै माटोको बगाएको थियो । यो प्रदेशमा सबैभन्दा धेरै पहिरो जाने जिल्लामा सर्लाही छ ।
प्रदेश ३ मा तीन हजार तीन सय १४ वटा पहिरो गएका थिए । जसबाट २५ दशमलव ८८ वर्गकिलोमिटर माटो बगाएको थियो । यो प्रदेशमा सबैभन्दा धेरै सिन्धुपाल्चोक, दोलखा, सिन्धुली र मकवानपुरमा पहिरो गएका थिए ।

गण्डकी प्रदेशमा ७ सय ९३ वटा पहिरो गएका थिए भने १० दशमलव ५७ वर्गकिलोमिटर माटो बगाएको थियो । यो प्रदेशमा सबैभन्दा धेरै पहिरो जाने जिल्लामा नवलपुर, कास्की र लमजुङ छन् । प्रदेश ५ मा एक हजार चार ७१ वटा पहिरो गएको जलाधार तथा पहिरो व्यवस्थापन महाशाखाको तथ्यांकमा उल्लेख छ । सो पहिरोबाट ८ दशमलव १६ वर्गकिलोमिटर माटो बगाएको थियो । धेरै पहिरो जाने जिल्लामा दाङ, अर्घाखाँची, पाल्पा, प्यूठान छन् ।

कर्णाली प्रदेशमा सात सय ११ वटा पहिरो गएका थिए । यसबाट २ दशमलव ७६ वर्गकिलोमिटर माटो बगाएको थियो । धेरै पहिरो जाने जिल्लामा सल्यान र सुर्खेत छन् ।
सुदूरपश्चिम प्रदेशमा कुल सात सय ४५ वटा पहिरो गएका थिए भने १० दशमलव ८५ वर्गकिलोमिटर माटो बगाएको छ । धेरै पहिरो जाने जिल्लामा डडेलधुरा, कैलाली र कञ्चनपुर छन् ।

०७५ मा प्राकृतिक प्रकोपबाट चार सय १७ को मृत्यु
गत वर्षको वैशाखदेखि चैत मसान्तसम्म प्राकृतिक प्रकोपबाट चार सय १७ को मृत्यु र १० जना बेपत्ता भएका थिए । यस वर्षको अन्तिममा बारा र पर्सा क्षेत्रमा आएको हावाहुरीका कारण २७ जनाको मृत्यु भएको थियो । हावाहुरीबाट ६ सय ६८ जना घाइते भएका थिए ।

सबै प्रकारका प्रकोपबाट आठ वर्षमा १२ हजारको मृत्यु
गृह मन्त्रालयको तथ्यांकअनुसार आठ वर्षको अवधिमा प्राकृतिक विपत्तिबाट १२ हजार तीन सय ५० ले ज्यान गुमाएका छन् । तथ्यांकअनुसार ०७२ मा सबैभन्दा धेरैको मृत्यु भएको छ । १२ वैशाख ०७२ को विनाशकारी भूकम्प र त्यसपछिको पराकम्पका कारण धेरैले ज्यान गुमाएका थिए । भूकम्पमा परी देशभरि आठ हजार नौ सय ७९ ले ज्यान गुमाए । आठ वर्षमा प्राकृतिक विपत्तिकै करण बेपत्ता हुनेको संख्या एक हजार पुगेको छ ।

बेपत्ता हुने पनि सबैभन्दा धेरै भूकम्पकै वेलाका छन् । यस अवधिमा मुलुकभर एक सय ९७ सर्वसाधारण बेपत्ता भएका थिए । बाढीपहिरोबाहेक प्रत्येक वर्ष हावाहुरी, चट्याङ, लू, शीतलहर, सर्पको टोकाइ, लेक लागेर मृत्यु हुनेको संख्या पनि धेरै भएको गृह मन्त्रालयले जनाएको छ । ०६८ मा ५१९, ०६९ मा ३९९, ०७० मा ४१७, ०७१ मा ५३९, ०७२ मा ८९७९ जनाको मृत्यु भएको थियो । यस्तै, ०७३ मा ४८३, ०७४ मा ५९७ र ०७५ मा ४१७ जनाको प्राकृतिक प्रकोपबाट मृत्यु भएको थियो ।

नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया दिनुहोस्