बाढीपीडितको उपचारमा डा केसी


 २३ साउन । सप्तरीका बाढीपीडितका लागि निःशुल्क स्वास्थ्योपचार गर्न आउनुभएका डा गोविन्द केसी अाइतवार दोस्रो दिन पनि उपचारमा व्यस्त छन् ।

जिल्लाको तिलाठी गाविस– ७ स्थित पाठशालामा उनले निःशुल्क स्वास्थ्योपचार गर्दै छन् । सप्तरी उद्योग वाणिज्य सङ्घको संयोजन तथा तिलाठीका युवाको आयोजनामा डा केसीले त्यहाँ रहेका बाढीपीडितका लागि हाडजोर्नी तथा नसासम्बन्धी रोगको निःशुल्क उपचार गरिरहेका हुन ।

डा केसी आफैले विभिन्न औषधि, फलफूल लगायत सामग्री बोकेर सो ठाउँमा पुगेका हुन । उक्त ठाउँमा आज मात्रै उहाँले २५÷३० जनाको निःशुल्क उपचार गर्नुभएको तिलाठीका युवक नीरज झाले जानकारी दिए ।

डा केसी आएको खबर पाएपछि सकरपुरा, लोनिया, रम्पुरा मल्हनियाँ, कोलाडी लगायत आधा दर्जन गाविसका बाढीपीडित उपचारका लागि लाइनमा छन् ।
यसैबीच बाढीबाट प्रभावित छिमेकी भारतको सुपौल जिल्ला अन्तर्गत कुनोलीका पाँच बाढीपीडितलाई समेत डा केसीले आज निःशुल्क उपचार गरेको बताइएको छ । यसअघि शनिबार डा केसीले तिलाठीस्थित राष्ट्रिय प्राथमिक विद्यालयमा एक सय २५ बाढीपीडितको उपचार गर्नुभएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्