बाढीपीडितलाई राहत वितरण गर्न अनेरास्ववियु तराईका जिल्लामा


१७ साउन । मोरङको बाढी प्रभावित क्षेत्रमा अनेरास्ववियुका केन्द्रीय अध्यक्ष नविना लामासहितको टोलीले राहत वितरण गरेका दृष्यहरु सामाजिक सञ्जालमा छ्यापछ्याप्ती भैरहेका बेला केही पदाधिकारी भने राजधानीमै देखिएका छन् ।

अनेरास्ववियुकी अध्यक्ष नवीना लामाको नेतृत्वमा गएको टोलीले मोरङको डाइनिया ३ र ८ का २०० परिवार र गोविन्दपुरको बाढी प्रभावित क्षेत्रमा सोमबार मात्र करिब रु पाँच लाख बराबरको राहत वितरण गरको छ । तर, २२ औँ सम्मेलनबाट उनकै समूहबाट विजयी भएका उपाध्यक्ष महेश वर्तौला, सुनिता बराल, महासचिव ऐन महरलगायतका नेता भने बेखवर जस्तै बनेका छन् ।

केही दिन अघि अध्यक्ष नविना लामाले नै अनेरास्ववियुको केन्द्रीय कमिटीले बाढीपीडितलाई आपत्कालीन राहत वितरण गर्ने भन्दै सबैलाई जानकारी गराएकी थिइन् । त्यति मात्र होइन, सामाजिक सञ्जालहरुमा पनि ‘बाढीपीडितलाई सहयोगार्थ अभियान’ भनेर सबैलाई जानकारी गराइएको थियो । तर, अहिले उक्त समूहले भने त्यस बारेमा खासै जानकारी नभएको बताएको छ ।

सम्मेलन सम्पन्न भएको लामो समयसम्म पनि विभाग बाटफाँट नभएपछि अध्यक्ष लामाले आफ्नै अगुवाईमा जिम्मेवारी बाटफाँट गरेपछि चुलिएको विवाद अहिले बाढीपीडितलाई राहत वितरण गर्ने सन्दर्भमा समेत बाहिरै देखिएको छ । ‘बाढिपीडितलाई आपत्कालीन राहत वितरण गर्न अनेरास्ववियुको टोली तराईका केही जिल्लामा खाद्यन्न, औषधी र पानी लिएर गएको छ’ अध्यक्ष लामाले भनिन्, ‘पहिलो चरणमा सप्तरी, सुनसरी, मोरङलगायतका बाढीप्रभावित जिल्लामा अनेरास्ववियुले आपत्कालीन राहत वितरण गर्नेछ ।  लामाले दोस्रो, तेस्रो चरणमा अन्य जिल्लामा पनि जाने तयारी भएको जानकारी दिइन् ।
लामासँग उपाध्यक्ष सैलेश लामा, सचिव मकर खड्का, ओसिम आलमलगायतका नेता पनि बाढिपीडितलाई राहत वितरण गर्न सुनसरी पुगेका छन् ।

लामाको समूहबाट जितेका उपाध्यक्ष, महासचिव, सचिवलगायतका पदाधिकारी राजधानीमै रहेका बेला अर्को समूहबाट जितेका पदाधिकारीहरु पनि लामासँगै रातह वितरणमा सहभागि भएका छन् । २२ औँ सम्मेलनमा लामासहितको समूहले पार्टी अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष बामदेव गौतम निकट भएर निर्वाचनमा सहभागी भएको थियो र त्यहि समूहबाट जितेको थियो ।

तर, वरिष्ठ नेता माधवकुमार नेपाल समूहबाट भने सचिव सुदेश पराजुली, ओसिम आलम, आरती लामाले मात्र पदाधिकारीमा जितेका थिए । अहिले वर्तौला, बराल, ऐन र सचिवहरु आरसी लामिछाने, श्रमीक बडाल एक कित्तामा छन् भने उपाध्यक्षहरु सैलेश लामा, रश्मी आचार्य, सचिव मकर खड्कालगायतकाले लामालाई समर्थन गरेका छन् ।

त्यसो त नेपाल समूहबाट विजयी पदाधिकारीले समेत अहिले लामालाई नै समर्थन गरेको देखिएको छ । राहत वितरण कार्यक्रममा लामा समूहका पदाधिकारी नै नगई रहेका बेला ओसिम आलमको नेतृत्वमा लामसँग नेपाल समूह राहत वितरण कार्यक्रममा सहभागी भएको छ ।

‘अनेरास्ववियुमा कुन गुटले के गर्यो भनेर हेर्ने समय यो होइन,’ सचिव सुदेश पराजुलीले भने, ‘अहिले बाढीपीडिटलाई राहत वितरण गर्नु मूख्य कुरा हो । हाम्रो संगठनको अध्यक्ष कै नेतृत्वमा अहिले राहत वितरण कार्यक्रम भैरहेको छ । उहाँलाई सबैले सहयोग गर्नुपर्छ ।’

उनले उपाध्यक्ष सैलेश लामासहितका पदाधिकारी अहिले पनि राहत वितरण कार्यक्रममा सहभागी भएको जानकारी दिए । ‘भूकम्पका बेला पनि अनेरास्ववियुले एक जुट भएर राहत वितरण गरेकै हो,’ उनले भने ‘अहिले पनि अनेरास्ववियु एक जुट भएर रातह वितरणमा खटेको छ ।’

यता महर निकटका नेताहरुले भने तराई नभई प्युठान जाने तयारी गरेका छन् । ‘अध्यक्ष नै अहिले तराईमा राहत वितरणमा खटिरहनु भएको छ,’ केही साथीहरु पनि उहाँसँग जानुभएको छ,’ सबै जाने कुरा त भएन नि,’ सचिव आरसी लामिछानेले भने, ‘त्यस्तो विवाद भएर उहाँलाई सहयोग नै नगरेको भन्ने कुरा सत्य होइन् ।’
साउन १० गते बक्राहा खोलाको बाँध फुटेर बस्तीमा पस्दा डाइनिया र गोविन्दपुरका ५०० सर्वसाधारण विस्थापित भएका थिए । त्यसरी विस्थापितहरुलाई राहत वितरण गर्न जाँदा महर समूहका पदाधिकारी भने राजधानीमै अलमलिनुले पनि दुई समूहबीच राम्रो सम्वन्ध नभएको संकेत गर्छ ।

मदन भण्डारी फाउण्डेशनको कार्यक्रममा पनि लामा समूह अनुपस्थित

त्यसो त यी दुई समूह पछिल्लो समय कार्यक्रममा पनि एकै ठाउँ देखिन छाडेका छन् । केही दिन अघि मात्र मदन भण्डारी फाउण्डेशनले राजधानीको होटल मल्लमा एक कार्यक्रमको आयोजना गरेको थियो । त्यस कार्यक्रममा पनि लामा समूहका कोही पनि उपस्थित भएनन् । कार्यक्रमा महर समूहका भने पदाधिकारीदेखि सदस्यसम्मको बाक्लो उपास्थिति रहेको थियो ।lama

प्रतिक्रिया दिनुहोस्