बाढीपीडितलाई राहत वितरण गर्न बाढीप्रभावित जिल्ला जाँदै अनेरास्ववियु


१३ साउन । अनेरास्ववियुले बाढीपीडितलाई आपत्कालीन राहत वितरण गर्ने भएको छ ।

विगत केही दिनदेखि निरन्तरको वर्षापछि आएको बाढीका कारणपीडित बनेकाहरुलाई आपत्कालीन राहत वितरण गर्न अनेरास्ववियुको टोली बाढी प्रभावित जिल्ला जाने तयारीमा रहेको अनेरास्ववियुकी अध्यक्ष नविना लामाले जानकारी दिइन् ।

‘बाढीपीडितलाई आपत्कालीन राहत वितरण गर्न अनेरास्ववियुको टोली तराईका केही जिल्लामा खाद्यन्न, औषधी र पानी लिएर जाँदैछ,’ अध्यक्ष लामाले भनिन्, ‘पहिलो चरणमा सप्तरी, सुनसरी, मोरङलगायतका बाढीप्रभावित जिल्लामा अनेरास्ववियुले आपत्कालीन राहत वितरण गर्नेछ ।’

लामाले दोस्रो, तेस्रो चरणमा अन्य जिल्लामा पनि जाने तयारी भएको जानकारी दिइन् । ‘चाउचाउ, औषधी, पानीलगायतका सामग्री हामीले जम्मा गरेका छौँ,’ उनले भनिन् । हामी शुक्रवारबाट ती जिल्लामा जान्छौँ ।’

प्रतिक्रिया दिनुहोस्