बाढी पीडितलाई सहयोग गर्न विद्यार्थी संगठनले स्थापना गरे साढे तीन लाखको राहत कोष


३० साउन । अनेरास्ववियु, नेविसंघ, अखिल क्रान्तिकारीलगायतका विद्यार्थी संगठनले अबिरल वर्षापछि तराईसँगै मुलुकभरी आएको बाढी, पहिरो र डुवानपछि उत्पन्न विपत्तिबारे गम्भीर छलफल गरेका छन् । अनेरास्ववियुको केन्द्रीय कार्यालय बागबजारमा सोमबार बैठक बसी उनीहरुले गम्भीर छलफल गरेका हुन् ।

छलफलपछि ती विद्यार्थी संगठनले तत्काल उद्दार तथा राहत उपलब्ध गराउने निर्णय गरेका छन् । ‘कोशी बाँधका ढोका खोल्न कुनीतिक पहल गर्न नेपाल सरकारलाई ज्ञापनपत्र बुझाउने निर्णय गरिएको छ,’ अनेरास्ववियुका सचिव आरसी लामिछानेले भने, ‘प्रारम्भमा विद्यार्थी संगठनहरूको तर्फबाट तीन लाख पचास हजारको राहत कोष निर्माण गर्ने निर्णय पनि भयो ।’ कोशी बाँधका सबै ढोका नखोल्दा तराईका धेरै भू–भाग डुब्ने भन्दै त्यहाँका स्थानीहरुले चिन्ता व्यक्त गरिरहेका बेला विद्यार्थी संगठनहरुले यस्तो निर्णय गरेका हुन् ।

जननिर्वाचित सांसद, स्थानीय तहका जनप्रतिनिधिहरूलाई १ महिनाको र राष्ट्रसेवक कर्मचारीले १ हप्ताको तलव नेपाल सरकारको राहत कोषमा उपलब्ध गराउन अपील गर्ने निर्णय गरेको पनि उनले जानकारी दिए ।

बाढी प्रभावित २६ जिल्लामा सबै संगठनहरूलाई संयुक्तरूपमा परिचालित हुन निर्देश दिएको पनि लामिछानेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्