बाढी र डुबानपछि मधेसको ठाउँ–ठाउँमा महामारी


२ भदौ । बाढी, पहिरो र डुबानले पशुपन्छीहरु मरेका हुँदा तराई–मधेसका बाढी–प्रभावित ठाउँहरुमा महामारी फैलिने सम्भावना बढ्दै गएको छ । तर, महामारी फैलिने सम्भावना टड्कारो रुपमा देखिए पनि त्यतातिर सम्बन्धित निकायले भने सजगता देखाइरहेको छैन ।

बाढी र डुबान प्रभावित महोत्तरी जिल्लाको जलेश्वर नगरपालिकामा बाढीले बगाएर मरेका एकहजार भन्दा बढी कुखुरा खुल्ला आकाशमुनि नै यत्रतत्र छरिएर रहेका कारण महामारी फैलिनसक्ने जनाइएको छ । सो नगरपालिकाको बजराहीमा त्यस्तो अवस्था सिर्जना हुन पुगेको हो ।

जलेश्वर–७ स्थित बजराही कुट्टीनजिकै स्थानीय शैलेन्द्र साहले सञ्चालन गर्दै आएको कुखुरा फार्मका एक हजारभन्दा बढी कुखुरा बाढीको पानीमा मरेर सोही ठाउँमा छरिएको अवस्थामा रहेको जनाइएको छ । त्यही कारण सिंगो बजराही गाउँ नै दुर्गन्धित भएको तथा महामारी फैलने सम्भावना रहेको स्थानीयले बताएका छन् ।

बाढीको पानी कम हुँदै गएपछि ती कुखुरा झनझन् सड्दै गइरहेको र अत्यधिक दुर्गन्ध आउने गरेकाले त्यसबाट विभिन्न किसिमका रोगको संक्रमण बढ्न सक्ने अनुमान गरिएको छ ।

यसैगरी, बाढी प्रभावित नेपालगञ्ज क्षेत्रमा पनि झाडाबान्ता र ज्वरोको बिरामी बढेको जनाइएको छ । दुषित पानीका कारण बाँकेको विभिन्न ठाउँहरुमा बिरामी बढ्न पुगेका छन् । बाँकेको होलिया, बेतहनी, खालेमसाहा, फत्तेपुरलगायत क्षेत्रमा महामारी बढ्ने खतरा उत्पन्न भएको जनाइएको छ ।

पर्सा जिल्लाको पनि विभिन्न ठाउँमा बाढीका कारण खानेपानीको समस्या उत्पन्न भएकोले बिरामीहरु बढेको बताइएको छ । पर्साको सिक्टा, तिलाबेला, ओरियालगायत खोलामा आएको बाढीले स्थानीयबासी प्रभावित बन्न पुगेका थिए ।

बाढी र डुबानका कारण पशु चौपायाहरु मरेका हुँदा त्यसको दुर्गन्धले मधेसका अधिकांश ठाउँमा महामारी फैलिने सम्भावना देखिएको छ । यसैगरी, डुबानग्रस्त क्षेत्रमा खानेपानीको राम्रो व्यवस्था नहुँदा पनि विभिन्न खाले रोग निम्तिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्