बादल हाबी हुँदै जाँदा प्रचण्ड पक्षधर सशंकित


२१ माघ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को कार्यकर्ता–पंक्तिमा भुसको आगोझैं असन्तुष्टि र विवाद चुलिँदै गइरहेको छ । गएको जेठमा मोहन वैद्यको नेकपा (क्रान्तिकारी माओवादी) का केही प्रभावशाली नेता, मातृका यादव र मणि थापालगायत अरु साना–मसिना कम्युनिष्ट घटकसमेत मिसिएर पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई नै अध्यक्ष बनाई नेकपा (माओवादी–केन्द्र) गठन भएको थियो ।

तर, एकता भएर माओवादी केन्द्र गठन भएयता पार्टीभित्र रामबहादुर थापा ‘बादल’ ले संगठनमा विस्तारै पकड जमाउँदै गएको हुँदा प्रचण्ड पक्षका नेता–कार्यकर्ताहरु सशंकित बन्न पुगेका छन् । पार्टी एकता भएयता हरेक जनवर्गीय संगठनमा बादल समूहको पकड विस्तार हुन थालेपछि प्रचण्ड पक्षका कार्यकर्ताहरु अचेल थक्थकाउन थालेका छन् । उनीहरु भन्ने गर्दछन्, ‘बादलहरुलाई नल्याएकै भए राम्रो हुने रहेछ । उनीहरुसँग एकता भएपछि त माओवादी केन्द्र झनै गन्जागोलमा फस्यो ।’

माओवादी केन्द्रसम्बद्ध अखिल नेपाल ट्रेड युनियन महासंघका एक माथिल्लो तहका नेताले भने, ‘बादल समूहबाट आएका मानिसहरु अझैसम्म घलमिल हुन सकिरहेका छैनन् । त्यही भएर मिलाउन गाह्रो परिरहेको छ ।’ जेठमा पार्टी एकता भएलगत्तै टे«ड युनियन महासंघको एकता अधिवेशन भयो । उक्त अधिवेशनमा बादल समूहले ३३ प्रतिशत स्थान पायो । बादल पक्षधरसँगै मातृका, मणिहरुका कार्यकर्ताहरुलाई पनि राम्रै स्थान दिइएको हुँदा प्रचण्ड पक्षले सोचेजति स्थान पाउन नसकेको बताइन्छ ।

त्यसो त, ७ सय जनाको ट्रेड युनियन महासंघ बनाएयता महासंघका क्रियाकलापहरु अस्तव्यस्त भएको बताइन्छ । ठूलो कमिटी बनाएर सबैलाई नेता बनाउने माओवादी केन्द्रको रणनीति महासंघमा भने असफल हुन पुगेको बताइन्छ । उग्र स्वभावका शालिकराम जम्कट्टेलको अध्यक्षतामा ठूलो कमिटी बने पनि सचिवालय भने ९० जनाको बनाइएको छ । तर, सचिवालयको बैठकमा कोरम पुग्न नै हम्मेहम्मे पर्ने जनाइन्छ । महासंघको केन्द्रीय तहका एक नेता भन्छन्, ‘ठूलो कमिटी बनाएर संगठन चल्दैन भन्ने हामीलाई पहिला नै लागेको थियो, अहिले पुष्टि भएको छ ।’

ट्रेड युनियन महासंघमा मात्रै होइन, केही दिनअघि बनेको कर्मचारीहरुको आयोजक कमिटीमा पनि बादल पक्षधरहरुले राम्रै स्थान लिएका छन् । प्रचण्ड पक्षधरको नेपाल राष्ट्रिय कर्मचारी महासंघ र बादल पक्षधरको राष्ट्रिय कर्मचारी महासंघमा बादल पक्षधर कर्मचारीहरुको संख्या कम रहे पनि ६ सय ९९ सय सदस्यीय आयोजक कमिटीमा ४० प्रतिशत स्थान लिन बादल पक्षधर सफल भएका छन् ।

कर्मचारीहरुमा मातृका र मणि थापा समूहको खासै मान्छे नरहेका हुँदा प्रचण्ड र बादल पक्षधरका कर्मचारीहरु मात्रै राखेर आयोजक कमिटी बनाइएको हो । आगामी जेठको अन्तिम साता एकता महाधिवेशन गर्ने गरी कर्मचारीहरुबीच एकता आयोजक कमिटी गठन भएको सल्लाहकार संयोजक मोहन स्वाँरले बताए ।

यसअघि, माओवादी केन्द्रनिकट पत्रकारहरुको संगठन प्रेस सेन्टर, नेपालको अध्यक्षमा पनि बादल पक्षधर महेश्वर दाहाल निर्वाचित भएका थिए । प्रचण्ड पक्षधरका पत्रकारहरुले अध्यक्ष बन्न निकै प्रयत्न गरे पनि अन्ततः दाहालले बाजी मारेका थिए ।

संविधान जारी भएपछि माओवादीका दोस्रो वरियताका नेता डा. बाबुराम भट्टराईले पार्टी छाडेर नयाँ शक्ति गठन गरेपछि कमजोर महसुस गरेको तत्कालीन एनेकपा माओवादीले वैद्य समूहका प्रभावकारी नेताहरु बादल, पम्फा भुसाल, देव गुरुङ र स–साना झुन्ड बनाएर रमाइरहेका यादव र थापालगायतलाई पार्टीमा भित्र्याएका थिए । तर, अहिले प्रचण्डले सरकारको नेतृत्व गरेका हुँदा पार्टीका लागि समय दिन सकिरहेका छैनन् । यही कारण हरेक जनवर्गीय संगठनमा बादलले पकड जमाउँदै गइरहेको बताइन्छ ।

माओवादी केन्द्रभित्र बादल पक्षधरहरुले पकड विस्तार गर्न थालेपछि पूर्वजनमोर्चाका नेताहरु भने भूमिकाविहीन बन्दै गइरहेको बताइन्छ । नारायणकाजी श्रेष्ठ, गिरिराजमणि पोखरेल, अमिक शेरचन, लीलामणि पोखरेललगायत नेताहरुको अहिले खासै भूमिका नरहेको बताइन्छ । पूर्वजनमोर्चाका नेताहरु भने अस्तित्व रक्षाका निम्ति मात्र लागिपरेका छन् ।

प्रतिक्रिया दिनुहोस्