बानेश्वरमा गाडी मैले जलाएको हुँ, मलाई कारबाही गरे हुन्छः रमेश पौडेल


१७ पुस । युवा सघं नेपालका उपाध्यक्ष रमेश पौडेलले बानेश्वर घटना युवा सघंको नेतृत्वमा भएको  भन्दै घटनाको जिम्मेवारी युवा संघले लिने बताएका छन् । ‘बानेश्वर घटना मेरै नेतृत्वमा भएको हो,’ उनले भनेका छन्, ‘हिम्मत भए मलाई कारबाही गरेर देखाउन चुनौती दिन्छु ।’

उनले  सामाजिक सञ्जालमार्फत घटनाको जिम्मेवारी लिएका हुन् । उनले सामाजिक सञ्जालमार्फत नै भनेका छन्– ‘आफना नेताहरुको हत्या तथा आक्रमणको विरुद्ध भएको आन्दोलनको क्रममा भएको घटनालाई लिएर निर्दोष युवा सघंका नेताहरुलाई अपराधी बनाउनेतिर सरकार लागेको छ । प्रहरी प्रशासनका अधिकृतहरूलाई प्रष्ट भनिसकेको छु, आन्दोलन युवा संघको नेतृत्वमा भएको हो, तसर्थ यसको सम्पूर्ण जिम्मेवारी युवा संघ नेपालले लिन्छ ।’

उनले युवा संघका नेताहरुलाई प्रशासनबाट दुःख दिने कार्यहरू भइरहेको भन्दै आन्दोलनको नेतृत्व आफूले गरेको हुँदा हिम्मत भए आफैँलाई कारबाही गरेर देखाउन चुनौती दिएका छन् । सरकारी गाडीको क्षतिपूर्ति दिन आफूहरू तयार भएको भन्दै क्षतिको प्रष्ट विवरणको मागसहित प्रधानमन्त्री  पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री विमलेन्द्र निधिले युवा संघसँग निवेदन दिन आग्रह गरेका छन् ।

संघका रुपन्देही अध्यक्ष दुर्गा तिवारीको हत्या,  केन्द्रीय सदस्य सन्तोष बुढाथोकीमाथिको आक्रमण, काभ्रेमा एमालेमाथि भएको आक्रमणविरुद्ध भएको आन्दोलनको क्रममा भएको घटनामा सरकार  निर्दोष नेताहरुलाई अपराधी घोषित गर्नेतिर लागेको बताएका छन् ।

शुक्रबार अल्फा–बिटा हाउस छेउको सडकमा पार्किङ गरी राखेको बा.१झ १३९२ नम्बरको गाडीमा आगजनी गरिएको थियो । बिदाको दिन सरकारी गाडी चलाएको तथा आफ्ना कार्यकर्तामाथि आक्रमण गरेको भन्दै युवा संघको नेतृत्वमा आगजनी भएको थियो । सीसी टिभीको फुटेजबाट प्रहरीले सरकारी गाडी जलाउने युवा संघका  कार्यकर्ताको पहिचान भएको दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्