बाबुरामको निम्तो मान्न ओली रंगशाला, प्रचण्डले टेरेनन्


३० जेठ । प्रधानमन्त्री केपी शर्मा ओली डा. बाबुराम भट्टराईको निम्तो मान्न दशरथ रंगशाला पुगेका छन् । केही दिन अघि ‘अनपढ’ भनेर बाबुरामले चित्त दुखाए पनि ओली निम्तो मान्न सोमबार रंगशाल पुगेका हुन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँ शक्ति नेपाल पार्टीको घोषणा सभामा ओलीलाई पनि बाबुरामले निम्ता गरेका थिए । उनी त्यहि निम्तो मान्न आइतबार रंगशाला पुगेका हुन् । घोषणासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफुलाई अनपढ भन्ने भट्टराईले नेतृत्व गरेको पार्टीले एमाले बाहेकका अरु पार्टीलाई टक्कर दिन सक्ने भनी हौस्याए ।

‘म स्पष्टै छु ‘म सम्भावना देख्छु, सायद यस पार्टीले एमाले बाहेक अरु पार्टीलाई धक्का दिन सक्छ,’ ओलीले व्याङ्ग्यात्मक शैलीमा त्यसो भन्दा बाबुराम मुस्कुराए । ओलीले कार्यक्रममा सम्वोधन गर्दै संविधानप्रति कुनै असन्तुष्टि भए वार्ता र सहमतिबाटै समाधान खोज्न सकिने पनि दाबी गरे ।

प्रधानमन्त्री ओलीले संघीयता, प्रादेशिक संरचना जस्ता कुरालाई पूर्णता दिएर संविधान कार्यान्वयन गर्दै मुलुकलाई विकासको बाटोमा अघि बढाउनु पर्नेमा पनि जोड दिए । प्रधानमन्त्री ओलीले नयाँ शक्तिले देशको विकासको समृद्धि र जनताको उन्नतिका लागि राम्रो काम गरोस् भनी शुभकामना पनि दिए । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भने रंगशाला गएनन् । उनले महासचिव कृष्णबहादुर महरालाई पठाए ।

प्रतिक्रिया दिनुहोस्