बाबुराम भन्छन्, ‘मलाई भारतले अन्तिमसम्म रोक्न खोजेकै हो’


२६ मंसिर । २०७२ असोज ३ गते नेपालमा नयाँ संविधान जारी भएपछि भारतको तीव्र असन्तुष्टि रह्यो । भारतले असन्तुष्टि जाहेर गरिरहेकै बेला तत्कालीन एनेकपा (माओवादी) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पनि नयाँ संविधानलाई स्वागत गर्न उचित ठानेनन् । संविधानको स्वागतमा माओवादीका नेता÷कार्यकर्ताहरुले खुसीयाली मनाइरहेकै बेला डा. भट्टराईले भने संविधान आएकोमा आफूमा कुनै खुसी नछाएको कुरा व्यक्त गरे । संविधान जारी भएको सात दिनपछि त डा. भट्टराईले एमाओवादीको सबै पदका साथै सांसद् पदबाट समेत राजीनामा दिए ।

भारतको असन्तुष्टि र डा. भट्टराईले तत्काल चालेको कदमलाई लिएर धेरैले टिप्पणी गरे, ‘भट्टराईले भारतकै इसारामा पार्टी परित्याग गरेको हुन् ।’ माओवादीभित्र पनि भारतपरस्तको आरोप झेल्दै आएका डा. भट्टराईलाई लगाइएको यस्तो आरोपमा सत्यता रहेको हुनसक्ने धेरै अनुमान लगाउँथे । तर, पछिल्लो समय भने डा. भट्टराई भारतसित किन असन्तुष्ट बन्दै गइरहेका छन् ? अहिले नयाँ शक्ति, नेपालका संयोजक रहेका उनका पछिल्ला अभिव्यक्तिहरुले यस्तो प्रश्न जन्माएको छ ।

केही दिनअघि मात्रै डा. भट्टराईले ऐतिहासिक १२ बुँदे सहमति भारतमा हुनुलाई बेठिक बताएका थिए । निरंकुश राजतन्त्र विरुद्धको आन्दोलनमा उत्रिरहेका प्रमुख राजनीतिक दलहरु र जनयुद्ध लडिरहेका माओवादीलाई एउटै विन्दुमा उभ्याउन भूमिका खेल्ने १२ बुँदे सहमति भारतमा हुनु ठीक नरहेको कुरा डा. भट्टराईले सो सहमति भएको ११ वर्षपछि किन उठाउन चाहेका हुन् ? नेपालबाट निरंकुश राजतन्त्रलाई फ्याँकेर गणतन्त्रको दिशातिर उन्मुख हुने वातावरण निर्माणमा उल्लेख्य भूमिका खेलेको १२ बुँदे सहमति नेपालभित्रै हुने अवस्थामा थियो त ? यी प्रश्नहरुको जवाफ उनले नदिए पनि पछिल्लो समय प्रधानमन्त्री पुष्पकमल दाहालको भारतसित निकटता बढिरहेको हुँदा डा. भट्टराई केही चिढिएका हुनसक्ने अनुमान गरिएको छ ।

त्यस्तै, पहिलो संविधानसभाका बेला प्रधानमन्त्री बनेका डा. भट्टराईले आफूलाई प्रधानमन्त्री हुनबाट भारतले अन्तिम समयसम्म रोकेको कुरा उनले यसअघि नै खुलासा गरिसकेका छन् । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसँग १७ पटक प्रधानमन्त्री पदमा भिड्दा अन्तिममा प्रधानमन्त्री बनेका डा. भट्टराईले अनिल थापाले लेखेका ‘अविराम बाबुराम’ को एउटा प्रसंगमा भनेका छन्, ‘बाह्य शक्ति र मधेसका अधिकांश नेता रामचन्द्रकै पक्षमा थिए ।’

सो पुस्तकमा लेखिएको छ, ‘मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार मात्र बाबुरामको पक्षमा थिए । अरु नेताहरु काँग्रेसका उम्मेदवार पौडेलको पक्षमा थिए । भदौ १० गते गच्छदारकै लगनखेलस्थित आफन्तको घरमा मधेसी मोर्चा र माओवादीबीच रातभर वार्ता भयो । जसरी भए पनि बाबुरामको नेतृत्वमा सरकार गठन गर्न प्रचण्ड लागिपरेका थिए ।’

डा. भट्टराईको भनाइ उद्घृत गर्दै लेखिएको छ, ‘सरकार गठनको निर्णायक गच्छदार हुन् भन्नेमा आंशिक सत्य छ । इन्डियाको कुरा आउँथ्यो, इन्डियाले चाहेन भने त भाँड्न सक्थ्यो । इन्डियाले के ग¥यो भन्ने जहाँसम्म कुरा छ, अब माओवादीकै नेतृत्वमा सरकार नभएसम्म यो शान्ति प्रक्रिया पनि पूरा भएन, सेना समायोजन पनि भएन । त्यसैले भए होस् भनेजस्तो अलिअलि गन्ध पनि आउने तर पूरै होस् भनेजस्तो पनि नआउने । आशंका पनि, माओवादी चाहिन्छ जस्तो पनि । यस्तो ढुलमुल प्रवृत्ति तिनीहरुको बुझिन्थ्यो ।’

डा. भट्टराईले आफूलाई प्रधानमन्त्री बन्नबाट भारतले अन्तिमसम्मै रोक्न खोजेको खुलासा यसरी गरेका छन्, ‘अन्तिममा विजय गच्छदारका सालाको घरमा बसेर टुंग्याउँदै थियौँ, गच्छदारबाहेक अरु मधेसी नेता आएनन् । उनीहरु बसेको ठाउँमा भारतीय दूतावासका दोस्रो तहका एक अधिकारीले पटकपटक फोन गरेर माओवादीलाई भोट दिने होइन भनेर धम्क्याएछन् । भारतले अन्तिमसम्म रोक्न खोजेकै हो ।’

प्रतिक्रिया दिनुहोस्