बाबुराम र उपेन्द्रले निकाले संयुक्त विज्ञप्ति, ‘प्रत्यक्ष निवार्चित कार्यकारी प्रमुखमा दुबैको जोड


१३ मंसिर । उपेन्द्र यादवले नेतृत्व गरेको संघीय समाजवादी फोरम नेपाल र डा. बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँ शक्ति नेपालबीच एकताको हल्ला चलिरहेका बेला ती दुई पार्टी वैचारिक रुपमा पनि निकट देखिन थालेका छन् । ती दुवै पार्टीले सोमबार संयुक्त विज्ञप्ति निकालेर प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था संविधानमा गर्न माग गरेका छन् । उनीहरुले मुलुकका विद्यमान समस्या समाधान गर्नका लागि पनि त्यस्तो व्यवस्था अनिवार्य भएको दाबी गरेका छन् ।

विज्ञप्तिमा संविधान संशोधन गर्दा वर्गीय, जातीय, लैङ्गिक, भाषिक, सांस्कृतिक, धार्मिक र क्षेत्रीय भेदभावलाई अन्त्य गरिनुपर्ने उल्लेख छ ।

संयुक्त वक्तव्यमा भनिएको छ– ‘मधेसी, थारु, आदिवासी जनजाति, खस, मुस्लिम, शिल्पी (दलित), उत्पीडित, उपेक्षित र अल्पसंख्यक समुदाय तथा पिछडिएका क्षेत्रलगायतका समस्यालाई सम्बोधन गर्न संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा, आदिवासी जनजाति राष्ट्रिय आन्दोलन, पहिचानमा आधारित गठबन्धनलाई विश्वासमा लिनु आवश्यक छ ।’

वक्तव्यमा अधिकारसहितको सङ्घीयता, पूर्ण समानुपातिक प्रतिनिधित्व हुने संसद्, जनताद्वारा प्रत्यक्ष निर्वाचत कार्यकारी राष्ट्रपति, राज्यका सबै अङ्गमा समानुपातिक समावेशीकरण बहुभाषिक नीति, स्वायत्तता तथा स्वशासन, सङ्घीय न्यायपालिका, प्रादेशिक क्षेत्राधिकारभित्र स्थानीय तह तथा विशेष संरचनाहरु रहने व्यवस्था, सामाजिक न्याय र समानताको अधिकारसहित सबैखाले विभेदको अन्त्य हुने गरी नेपालको संविधानलाई संशोधनद्वारा सच्याउन माग गरिएको छ ।
उल्लिखित मुद्दाहरुको सम्बोधन नै नहुने गरी गरिने संशोधनले समस्या समाधान हुन नसक्ने मात्रै नभई संविधानको स्वीकारोक्ति र कार्यान्वयन पनि हुन नसक्ने उनीहरुको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्